Logo
Logo

अठ्ठाइस मुद्दाका ४० पक्राउ, १० जना अझै फरार


रासस


चितवन । डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको छ ।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ वटा मुद्दामा उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाइएको हो । ती मुद्दामा संलग्न रहेकामध्ये १० जना फरार रहेको उनले जानकारी दिए ।

वन्यजन्तुसम्बन्धी मुद्दा दुई र वन पैदावारसम्बन्धी २६ मुद्दा दर्ता भएको उनले बताए । पक्राउ परेकाबाट १६ सवारीसाधन, ८४४ दशमलव २९ क्युफिट काठ बरामद गरिएको छ ।

सवारीसाधनमा बोलेरो, अटो, मोटरसाइकल, रिक्सा बरामद भएका छन् । सोही अवधिमा एक हजार १०३ दशमलव ५७ क्यूफिट काठ बेबारिसे अवस्थामा भेटिएको खनालले बताए ।

यसै समयमा ३५ वटा जङ्गली जनावरको उद्धार गरिएको छ भने ४२ वटाको व्यवस्थापन गरिएको छ । उद्धार गरिएका जनावरमा चित्तल, गोही, अजिङ्गर, रतुवा, हुचिल जस्ता रहेका छन् । मृत अवस्थामा भेटिएका पाटेबाघ, चित्तल, बँदेलको व्यवस्थापन गरिएको उहाँले जानकारी दिए । राष्ट्रिय वन क्षेत्रमा घाइते अवस्थामा भेटिएका जनावारको उद्धार गरिएको हो ।

अग्नि निरोधक सामाग्री हस्तान्तरण

डिभिजन वन कार्यालय चितवनले राष्ट्रिय वन क्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय र सब डिभिजन वन कार्यालयलाई सामग्री हस्तान्तरण गरेको छ ।

खनालका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ३ बाहिनी गढीमाई भण्डारा, कालीबहादुर गण भरतपुर, नम्बर २ विपद् व्यवस्थापन गण रसौली, सिंहनाथ गण (कमाण्डो) शक्तिखोर, सशस्त्र प्रहरी बल नेपाल नं १७ आँपटारी, जिल्ला प्रहरी कार्यालय चितवनलाई अग्नि निरोधक सामग्री उपलब्ध गराइएको हो ।

यस्तै हरिपुर सव डिभिजन वन कार्यालय हरिपुर, कालिका सव डिभिजन वन कार्यालय शक्तिखोर र खगेडी सव डिभिजन वन कार्यालय, पदमपुरलाई आगलागी नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो ।

सुख्खा मौसममा हावाहुरीका कारण देखा परेको वन डढेलोलाई नियन्त्रण तथा न्यूनीकरणका लागि सबै सक्रियरुपमा लाग्नसमेत कार्यालयले आग्रह गरेको छ । वन डढेलो नियन्त्रणका लागि स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग रहेका अग्नि निरोधक सामग्री तथा दमकललाई तयारी अवस्थामा राखिएको छ ।

जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, डिभिजन वन कार्यालय र मातहतका सव–डिभिजन वन कार्यालय तथा सामुदायिक वन, कबुलियती वन अन्य सरोकारवाला स्थानीय युवा क्लब, आमा समूहलगायतलाई परिचालित गरी वन डढेलो नियन्त्रण प्रभावकारी बनाउन लागिएको खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्