Logo
Logo

जब महेश बस्नेतले पढे, भीम रावल हराएको सूचना


दृष्टि संवाददाता


काठमाडौं । शनिवार कैलालीमा राष्ट्रिय युवा संघ नेपालको कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम थियो । कार्यक्रममा गुटमा नलाग्न विद्यार्थी नेतालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निर्देशन दिए ।

सर्वोच्च अदालतको फैसलासँगै ब्युँतिएको पुरानो पार्टी माओवादीमा नगई एमालेमै रहेर सुदूरपश्चिम प्रदेशको जिम्मेवारी पाएका भट्टले कार्यक्रममा गुटगत राजनीतिमा नलाग्न र लागेकाले पनि आत्मालोचना गरेर पार्टीमा फर्कन सुझाव दिए ।

सोही कार्यक्रममा भट्ट सहित राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत पनि सहभागी थिए । मन्त्री भट्टले सम्बोधन गरेपछि नेता बस्नेत पोडियम पुगे । उनले त्यहाँ पुगेर भीम रावल हराएको सूचना जारी गर्न भ्याए ! सम्बोधन गर्दै उनले भने ‘मैले यहाँ भीम रावललाई देखेको छैन, भीम रावल हराएको सूचना जारी गर्दछु ।’

रावलको अनुपस्थितिप्रति कटाक्ष गर्दै बस्नेतले कार्यक्रममा जारी गरेको ‘रावल हराएको सूचना’ले केहीबेर कार्यक्रमस्थलमा हाँसोको फोहोरा छुट्यो ।

कार्यक्रममा बस्नेतले रावललाई पटक पटक अवसर पाएपछि सरकारको समर्थन गर्ने र अवसर नपाउँदा सरकारको विरोध गर्ने दोहोरो चरित्र देखाएको आरोप लगाए ।

नेता बस्नेतले रावललाई सच्चिएर आए नेता मान्न सकिने मात्रै भनेनन्, बेलैमा बुद्धि नपुर्याए पछि बुढेसकालमा पछुताउनुपर्छ भन्दै सुझाव समेत दिन भ्याए ।

प्रतिक्रिया दिनुहोस्