Logo
Logo

डढेलोका कारण नेपालमा प्रदुषण बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । डढेलो नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ ।

युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्यएसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्याएका छन् । त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन ।

एसियाको भारत, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकमा डढेलोको चाप बढ्दो रहेको छ । डढेलो विज्ञ सुन्दर शर्मा भन्छन्, “अहिले नेपाल र एसियाको मात्र हैन विश्वकै समस्याका रूपमा डढेलो ज्वलन्त विषय बनेर अगाडि आइरहेको छ ।”
उनले भनेजस्तै विश्वको डढेलोको अवलोकन गरिरहेको नासाको भूउपग्रहले समग्र पृथ्वीकै अधिक भूभाग नै डढेलोको मारमा परेको तस्बिर सार्वजनिक गरिरहेको छ ।

जसअनुसार कुन देशका मात्र हैन कुन महादेशमा कति भूभाग डढेलोमा छ भन्ने अनुसन्धानमा विज्ञहरू जुटेका छन् । ती तस्बिर हेर्दा एसिया र अफ्रिका अन्य महादेशभन्दा बढी डढेलोको चपेटामा परेको देखिएको विज्ञ शर्माले बताए। दक्षिण एसिया पछिल्लो समय डढेलोको हब बनेको छ । विगत २४ घण्टामा दुई सय स्थानमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।

व्यापक रूपमा लागेको डढेलो निभाउन अब नेपालले छिमेकी मुलुकसँग फायर फाइटिङ हेलिकप्टर सहायता माग्नुपर्ने विज्ञ सुन्दर शर्मा बताउँछन् । नेपालको धनका रूपमा रहेको ४५ प्रतिशत भूभागको वन जोगाउनका लागि समयमै यस्ता सहयोगको पहल नगरेको अवस्थामा आउँदा दिनमा डढेलोले प्रकोपको रूप लिन सक्ने उनी बताउँछन् । डढेलो बढी हुने सिजन अझै सुरु भएको छैन ।

वैशाखदेखि यो झन् चर्को र भयावह हुनसक्छ । बृहत् रूपमा लागेको आगो मानवीय प्रयासले मात्र नियन्त्रण गर्न सम्भव हुन्न । क्यानडा र अस्ट्रेलियामा डढेलो लाग्दा अमेरिकाको फायर फाइटिङ विमानले आगो निभाउन सघाएको थियो । विश्वव्यापी सहकार्यले नै यस्ता खालको विपत्बाट बच्न सकिने शर्मा बताउँछन् । दक्षिण एसियामा डढेलोलगायतका विपत्बाट जोगिनका लागि विभिन्न मुलुकले सामूहिक कदम चाल्ने अभ्यास भने निकै कम छ ।

देशगत र विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सामूहिक हातेमालो गर्ने प्रक्रिया सबै मुलुकले सुरु गर्नुपर्नेमा उनको जोड छ । शर्मा भन्छन्, “कुनै मुलुकसँग स्रोत साधन पर्याप्त होला, कुनैसँग पैसा पर्याप्त होला त्यसैले जोसँग जे छ त्यो नै एकअर्कासँग बाँडेर सघाउन सकिन्छ ।” नेपालसँग भएको जनशक्तिलाई उपकरणयुक्त, प्रशिक्षणयुक्त र सशक्तीकरणयुक्त बनाउन छिमेकी मुलुकसँगको सहकार्यले सघाउने विश्वास उनले बताए।

सिङ्गो एसिया र अफ्रिकाको भूभाग आगोमा जलिरहेको अवस्थामा नेपाल र अन्य देशले एकल प्रयासले आफ्नो देशको आगो निभाउने असफल प्रयास गर्नुभन्दा संयुक्त प्रयासमा अगाडि बढ्नु सुझबुझपूर्ण हुने शर्माले बताए।

सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकका अनुसार नेपालका धेरै सामुदायिक वनमा लागेको डढेलो निभाउन मानवीय स्रोत नै प्रमुख रूपमा प्रयोग गरिएको छ । आजको गोरखापत्र दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्