Logo
Logo

कोरोनाको त्रासका बीच उत्साह साथ नयाँ वर्षको स्वागत


दृष्टि संवाददाता



काठमाडौं । विक्रम संवत् २०७८ को वैशाख १ गते अर्थात् नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ ।

वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गती तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ ।

पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा

पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको थियो । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा दर्शन गर्न भक्तजन लाममा बसेका थिए । पशुपतिनाथ मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उहाँले सुनाउनुभयो । बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा १९७ जनाले रसिद काटेर विशेष पूजा गरेका छन् । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्