Logo
Logo

आत्मरक्षा तालिम पाएपछि किशोरीहरु खुसी


नन्दा थापा


बाजुरा । बुढीगंगा नगरपालिका २ सय ४० जनाभन्दा बढी किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ । गुड नेवर्स ईन्टरनेश्नल नेपाल र पीसविन बाजुराद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको आर्थिक सहयोगमा तालिम दिइएको हो ।

उनीहरुलाई आफूमाथि भएका आक्रमक घटनाकोे प्रतिकार गर्न आत्मरक्षा तालिम दिइएको पीसविन सामुदायिक विकास परियोजना संयोजक टेकबहादुर थापाले बताए । तालिममा विद्यालयमा अध्ययनरत किशोरी क्लव र बाल क्लवका किशोरीहरुलाई सहभागि गराइएको छ । तालिम एक ठाउँमा २ दिनसम्म सञ्चालन गरेर ६ ठाउँमा १२ दिनसम्म सञ्चालन गरिएको पीसविन विकास सहायक गोमति कटुवालले बताएकी छन् ।

लैगिंक हिंसा न्युनिकरणको अभियानमा सक्रिय प्रहारबाट सपना रोकायाको नेतृत्वमा दुई जनालाई ल्याएर प्रशिक्षण गराइएको कटुवालले बताइन् ।

विद्यालय जाने बेला नै असुरक्षित महसुस गरिरहेका किशोरीहरु आत्मरक्षा तालिम पाउँदा खुसी भएका छन् । धुरालशैन माविका कक्षा १० मा अध्ययनरत किशोरी माया उपाध्यायले छोटो समयको आत्मरक्षा तालिम पाउदा आत्मबल बढेको बताएकी छन् । उनीजस्तै आसिका थापा पनि २ घण्टाको दुरी पार गरेर विद्यालय पुग्छन्, बाटोमा एक्लै हिँड्दा कसैबाट पीडित हुन्छु कि भन्ने उनलाई डर लागिरहन्थ्यो । आत्मरक्षा तालिम पाएपछि भने टोलका सबै किशोरीसँगै विद्यालय आउने गरेको बताइन् ।

बुढीगंगा नगरपालिकाकै विद्यालय छोडेर घरमै बसेकी ललिता रावत झन आफुसँगै बुढा आमाबुवाको संरक्षक पनि आफैँ छन् । उनलाई आत्मरक्षा तालिमले आफुसँगै वृद्ध आमाबुवालाई सुरक्षित राख्ने तरिका सिकेकी छन् ।

उनी भन्छिन्, ‘तालिम अलि लामो भए हुन्थ्यो । बुढीगंगा नरपालिका आधारभुत स्वास्थ्य इकाईका अनमी अनिताकुमारी थापा पनि दिनरात स्वास्थ्य संस्थामा रहेका बेला असुरक्षित भएको महसुस गर्थिन् । तर, आत्मरक्षा तालिम पाएपछि आफुमाथि भएका हिसांको प्रतिकार गर्न सक्षम भएको सुनाइन् ।

बाजुराका किशोरी र बाल क्लवका किशोरीलाई जम्मा गरर २० देखि ४० जना सम्मलाई एकै ठाउँमा राखेर तालिम दिइएको छ । नेपालमा बढ्दै गएको यौन दुव्र्यवहार र बलात्कारका घटनाको प्रतिकार गर्न सक्ने गरी किशोरीलाई तालिम दिइएको हो ।

नेपालको सबैभन्दा बढी सुदुरपश्चिममा महिलामाथि दुव्र्यवहारका घटना भइरहेका बेला उनीअरुको मनोबल बढाउन, आफ्नो सुरक्षा आफैँ गर्न सक्छन् भन्ने हेतुले तालिम दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्