Logo
Logo

‘फ्रन्टलाइनर’ को सम्मानमा बनाएकाे चित्र मेटेकाेमा कांग्रेसकाे आपत्ति


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसले कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका फ्रन्टलाइनरहरूको सम्मानमा रत्नपार्कको आकाशे पुलमुनि बनाइएका चित्र मेटेकोमा आपत्ति जनाएको छ ।

बिहीबार कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै फ्रन्टालाइनमा खटिएकाहरुलाई कदर गर्दै सम्मान प्रकट गर्दा सह्राना गर्नुपर्नेमा त्यस विपरीतको व्यवहार गरिएको बताएका हुन् ।

प्रवक्ता शर्माले कोरोना महामारीसँग जुधिरहेको समयमा फ्रन्टलाइनरको सम्मानमा चित्र बनाउँदा अपमान गर्नु उचित नभएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ’अनेकौं समाचारको भीडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ । तर लिखित अनुमति लिएर, फ्रन्टलाइनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको व्यवहार किमार्थ हुन सक्दैन । काठमाडौंको अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले सहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ? ’

कलाकार दुजाङ शेर्पालको परिकल्पनामा उक्त चित्र निर्माण गरिएको थियो । वडा कार्यालयको अनुमति लिएर चित्र बनाइएपनि काठमाडौं महानगरपालिकाले मेटिदिएको थियो । महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले कार्यापालिले चित्र बनाउन दिने निर्णय नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्