काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले देशमा लोकतन्त्र नभएर दलतन्त्र चलिरहेको बतएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
देशमा दलतन्त्र चलिरहेको बेला सर्वोच्च अदालत अपवादको रुपमा आएको बताउने उनले भने ‘यो दलतन्त्रको माझमा हाम्रा सरोकारवाला दलहरु किन साझा विदेश नीतिमा आउन सक्दैनन् ? जबसम्म सबै दलहरु साझा विदेश नीतिकाप्रति प्रतिवद्धता हुँदैन, हामीले एक अर्कालाई तल देखाएर मुखको तीतै मात्रै देख्छौँ, सबैभन्दा पहिले हामीले साझा नीति बनाऊ, अनि कुन सन्धि खारेज गर्ने कुन नगर्ने गरौंला ।’
उनले विदेशी सहायताविना पनि नेपाल आत्मनिर्भर बन्न सक्ने बताए । उनले भने, ‘हामीले हाम्रा देशका स्रोत साधनलाई माल पाएर चाल नपाएको शैलीमा अगाडि बढाइरहेका छौँ ।’
आफ्नो देशमा भएको स्रोतसाधनमा आजसम्म कुनै पनि मन्त्री/प्रधानमन्त्रीले नजर नपुगेको उनले बताए । उनले भने, ‘आजसम्म कुनै पनि मन्त्री/प्रधानन्त्रीको आफ्नो देशमा भएको स्रोत साधनप्रति ध्यान गएको छैन, उनीहरुले आफ्नो आत्मभित्र चिहाएका छैनन् । मुलुकभित्र हेरेका छैनन् । बाहिर-बाहिर मात्रै हेरेका छन्, लिने कुरामा पनि दिने कुरामा पनि ।’
उनले नेपाल गरीब भएपनि दरित्र नभएको बताए । उनले भने, ‘ हामी गरीब छैनौं, दरित्र मात्रै छौँ । हाम्रो मानसिकता मात्रै गरीब छ । हामीसँग अमुल्य प्रकृतिक स्रोत साधनहरु छन् । तर त्यसप्रति हाम्रो ध्यान नै गएको छैन । हामीलाई डलरको मात्रै भोक छ ।’
लोकतन्त्रको मर्यादालाई कायम राख्दै, मर्ममा पुग्दै लोकतन्त्रलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवाको भएको उनले बताए ।











