काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन सांसद पदमुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त भएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।

बिहीबार जसपाले तीन सदस्यलाई निष्काशन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो ।
पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपाले जनाएको छ ।
पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन् । उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण कारबाही नगरिएको जसपाको भनाइ छ ।












