Logo
Logo

पुर्वको गाउँगाउँमा हङकङ नेपाली महासंघको अक्सिजन


दृष्टि संवाददाता


धरान । नेपालमा कोरोनाको कहर व्यापक रुपले बढिरहेको बेला नेपालका विकट दुर्गम गाउँ तथा शहरका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरी हङकङ नेपाली महासँघले दोश्रो खेप पठाएको सय थान अक्सिजन कन्सन्टेटरहरु पनि पुर्वी नेपालको विभिन्न जिल्लामा वितरण हुन थालेको छ ।

फाइल तस्बिर

कोरोना संक्रमितका गम्भीर विरामीहरुका लागि प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उद्देश्यले महासंघले पठाएको दोश्रो चरणको सय थान अक्सिजन कन्सन्टेटरहरु स्थानिय गैरसरकारी सस्थाहरुमार्फत पुर्वको ईलाम, संखुवासभा, भोजपुर, तेहथुम, झापा, सुनसरी मोरडलगायत विभिन्न जिल्लाहरुमा पुर्याउने काम थालिएको हो ।

एउटा टोलीले लुम्विनीको विभिन्न स्वास्थ्य चौकीहरुमा वितरण भइरहेको छ भने अर्को टोली शनिबारमात्र ईलामको फिक्कलस्थित पिएचसी र चाखेजुड स्वास्थ्य चौकीमा वितरण गरेको जनाइएको छ ।

यसैगरी पाँचथरको ओयाम स्वास्थ्य चौकी र अमरापुर स्वास्थ्य चौकीमा पनि बिहीबार नै अक्सिजन कन्सन्टेटरहरु वितरण भएको हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाले बताए । सोमबार सो टोलीले धनकुटाको हिले र डाँडा बजारको प्राथमिक स्वास्थ्य चौकीमा एक एक थान अक्सिजन मेशिन वितरण गरेका छन् ।

कोरोना संक्रमणको तेश्रो चरण प्रवेश गरिसक्दा पनि सरकारबाट प्रभावशाली उपकरणहरु उपलव्ध गराउन नसकेको अवस्थामा विदेशमा बस्ने एउटा संस्थाले आफ्नै गाउँ घरमा ल्याएर अक्सिजन जस्तो मृत्युको मुखवाट फर्काउने सामान ल्याइदिएर हङकङ नेपाली महासंघले ठूलो गुण लगाएको तेहथुमस्थित लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए ।

सोही दिन ताप्लेजुडको मैवाखोला गाउँपालिकाको साँघु स्वास्थ्य चौकी र फक्तालुङ गाउँपालिकास्थित सिवा स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरेको अध्यक्ष रानाले जानकारी दिए ।

यसअधि सय थान अक्सिजन कन्सन्टेटरहरु पश्चिमका दुर्गम गाउँका स्वास्थ्य चौकीहरुमा महासंघ आफैँले वितरण गरेको थियो । १० लिटर प्रतिमिनेट आफैँ अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन कन्सन्टेटर वितरण चाँडो गर्न प्रत्येक प्रदेशका लागि दुवानी ट्रकको पनि व्यवस्था महासंघले नै गरेको छ ।

चीनको कुनमिन शहरबाट प्रति कन्सन्टेटर १ हजार १ सय ५० अमेरिकन डलरमा खरीद गरिएको सो अक्सिजन एउटैको तौल ३० केजी रहेकाले एकै पटक कार्गो गर्न अप्ठयारो परेकाले दुई चरणमा नेपाल पठाउनुपरेको अध्यक्ष रानाले बताए ।

महासंघकी निवर्तमान अध्यक्षसमेत रहेकी हेल्प नेपाल फाईट कोभिड–१९ कार्यक्रमकी संयोजक रीता गुरुडले नेपालमा कोरोनाबाट संक्रमितको मृत्युदरमा सोचेजस्तो कमि नआएकाले महासंघले हङकङ सरकार, नेपाली वाणिज्य दुतको कार्यालय र सोअर्स नामक एक गैरसरकारी संस्थाबीच समन्वय गरेर सो अक्सिजन नेपाल पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्