जनताले सुन दिएर बनाएको मन्दिरमा पाटनबासीको विवाद « Drishti News – Nepalese News Portal
Logo

जनताले सुन दिएर बनाएको मन्दिरमा पाटनबासीको विवाद


दृष्टि संवाददाता


काठमाडौं । ‘गोल्डेन टेम्पल’ का नामले प्रसिद्ध हिरण्यवर्ण महाविहारको पुनर्निर्माणका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाटनवासीबीच विवाद सिर्जना भएको छ ।

झन्डै २ हजार वर्ष पुरानो हिरण्यवर्ण महाविहारको निर्माणमा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीले ठूलो परिमाणमा सुन चन्दा दिएको इतिहास छ । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि रेक्टोफिटिङका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाठनवासीबीच विवाद सिर्जना भएको हो ।

महाविहारको शाक्यमुनि बुद्धको मन्दिर परिसरको पाँचवटै देव–घर प्रबलीकरण प्रविधिको प्रयोग गरी मजबुत बनाउन लागिएको हिरण्यवर्ण महाविहार सुधार समितिले जनाएको छ । ऐतिहासिक दृष्टिले मात्र नभई मूर्त, अर्मूत संस्कृति, संस्कार, परम्परा एवं धार्मिक आस्थाका दृष्टिले पनि सो महाविहार विशिष्ट महत्वको रहेकाले नेपालीकै सहयोगमा पुनर्निर्माण हुनुपर्ने धारणा एकथरिको छ । तर, छिमेकी भारतले यसको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो सहयोग लिनुपर्ने अर्काथरीको भनाइ छ ।

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनःस्थापनाका लागि भारत सरकारले ५ करोड अमेरिकी डलर बराबर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको र त्यसमा यो विहार पनि परेको अवस्था छ ।

ललितपुरमा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ, जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।

महाविहारको मुख्य मन्दिर ९क्वाबहाः देग० प्रबलीकरण कार्य सम्पन्न भइसकेको छ । मन्दिर परिसरको रेट्रोफिटिङका लागि समितिले ललितपुर विकासका लागि समाजमार्फत राष्ट्रिय पुनर्निर्माणको स्वीकृति लिएर भारतीय सहयोगका लागि पाँच वर्ष अघिदेखि प्रक्रिया थालनी गरिएको थियो ।

शाक्यमुनि बुद्धको दायाँ भागमा रहेको अमिताभ तथा बायाँमा रहेको बज्रसत्व र ओमघपास लोकेश्वर विराजमान भएको गुम्बा, अगाडि वा पूर्वतर्फ रहेको योगाम्बरको द्यछें (देवता घर) र दक्षितर्फको अभिताम, दीपंकर र लोकेश्वर देवता रहेको घरको छाना र विहारपछाडि रहेको चक्रसंवरको दिगीछें प्रबलीकरण गर्न लागिएको हो ।

जमिन सतहबाट काठ ठड्याएर प्रबलीकरण गरी माथिल्लो छानो जीर्णोद्धार गरिने हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले बताउनुभयो । यसका लागि बौद्ध परम्पराअनुसार यही श्रावण १४ गते क्षमापूजा पनि गरिसकेको छ ।, यो समाचार नेपाल समाचारपत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्