दुर्गमका अधिकांश विद्यार्थी इन्टनेटको पहुँचबाहिर « Drishti News – Nepalese News Portal
Logo
दुर्गमको दुर्गति

दुर्गमका अधिकांश विद्यार्थी इन्टनेटको पहुँचबाहिर

विद्यालय बन्दले अभिभावक चिन्तामा, अनलाइन कक्षाले दीर्घकालीन असर गर्ने


जितेन्द्र थापा


  • जितेन्द्र थापा

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–३ का रमेश खड्का ७ कक्षामा अध्यानरत विद्यार्थी हुन् । उनलाई अनलाईन कक्षा भनेको के हो ? भन्ने थाहसम्म छैन ।

कोरोना महामारीले विद्यालय बन्द भएपछि कापीकिताब विद्यालय लाने झोला जहाँको त्यही छ । घरखर्च चलाउन र विद्यालय खुलेपछि कापीकलम जुटाउन दैलेखबाट सुर्खेत झरेपछि बुलबुलेमा फलफूल बेच्दै आएका छन् । यता फलफूल बेच्दाबेच्दै विद्यालयलाई बिर्सदै गएका छन् । लामो समय विद्यालय बन्द रहँदा पढ्ने रुची पनि घटिसक्यो । अहिले यहि बुबुलेमा आँप, केरालगायतका फलफूल बेच्दै समय वित्छ ।

त्यस्तै, ठाटीकाँध–३ विशालाकी मनिशा भण्डारी पनि कोरोनाका कारण परीक्षा नदिएरै उपल्लो कक्षा १० मा पुगिन् । विद्यालय बन्द हुँदा घरमै बसबास छ । उनको पनि दैनिकी प्रायः चुलोमा खाना बनाउनमै बित्छ । बाँकी समय गाइभैँसीलाई घाँसपात बनाउनमै ठीक्क हुन्छ । ‘विद्यालय जाउँ त विद्यालय बन्द, अनलाइन कक्षा पढौँ त इन्टरनेटको सुविधा छैन । विहान–साँझको समय खाना बनाउँदै र दिउँसोको समय गाईभैँसीलाई घाँसपात काट्नै ठीक्क हुन्छ’ उनले भने ।

यता सुर्खेतको पञ्चपुरी नगरपालिका–२ का निर्मला थापा पनि तीन कक्षामा अध्यनरत विद्यार्थी हुन् । कोरोनाका कारण उनी पनि विद्यालय नगएको महिनौँ भइसक्यो । विद्यालय बन्द भएदेखि अनलाइन कक्षा पढ्नु सपनाजस्तै छ उनलाई । गाउँमा नेटको पहुँच नभएका कारण अनलाइन कक्षा छैन ।

अनलाईन क्लास पढ्नु त परको कुरा, अनलाइन क्लासको ‘अ’सम्म थाहा छैन उनलाई । बिद्यालय बन्द भयो । त्यही दिनबाट बाबुरामले किताब समाएका छैनन् । उमेरले नौ वर्ष पुगेका उनको दैनिकी ढुंगा माटोको घर बनाउँदै दिन बित्छ ।

घरमा साँझ–विहान सिकाउने सम्झाउँने कोही छैनन् । उनले भनिन्, ‘विद्यालयको मुहार नदेखेको पनि लामो समय भइसक्यो, विद्यालय खुलेको भए साथीभाइसँग रमाइलो गर्दै विद्यालय पढ्न जाने मन हुन्छ । तर, विद्यालय खुल्दैन । घरमा पढ्न मन लाग्दैन ।’

त्यस्तै सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएकी दैलेख भैरवी गाउँपालिकाकी ममता थापा पनि ६ कक्षामा पढ्छिन् । उनले अहिले अनलाइन कक्षा पढिरहेकी छन् । अनलाइन क्लास पढेपनि पत्यक्षरुपमा कक्षामा पढेजस्तो नहुने उनी बताउँछन् ।

अनलाइन क्लास पढ्दा केही समय केही बुझेजस्तो हुन्छ, पछि विर्सिन्छु । उनले भनिन्, ‘अनलाइन कलासमा बस्दाबस्दै दीक्क लाग्छ । आँखा दुख्छन् र टाउको समेत दुख्छ कक्षामा पढेजस्तो हुँदैन ।’

७७.८ प्रतिशत नागरिक विद्युतको पहुँचमा

एक आर्थिक सर्वेक्षणअनुसार देशका जम्मा ७७.८ प्रतिशत नागरिक विद्युतको पहुँचमा रहेका छन भने कूल जनसंख्यामध्ये ५८ प्रतिशत जनतामा मात्र इन्टरनेटसुविधा पुगेको छ । त्यस्तै देशका २९ हजार ६ सय ७ सामुदायिक विद्यालयमध्ये कम्प्युटर सुविधा भएको विद्यालयको संख्या जम्मा ८ हजार ३ सय ६६ मात्र छ ।

जब उही कक्षामा पढ्ने विद्यार्थीमध्ये एउटाको घरमा सम्पूर्ण सुविधा छ र उसले लगातार शिक्षकसँग सम्पर्क गर्न सकिरहेको छ भने अर्कोसँग यी कुनै पहुँच नभएका कारण शिक्षा लिनबाट वञ्चित छन् । कसरी सबै बालबालिकाले अनलाइन शिक्षाबाट लाभ लिन सक्छन ? यस पक्षमा पनि ध्यान पु¥याउन आवश्यक छ ।

दुर्गमका विद्यार्थीलाई छैन अनलाइन कक्षाको पहुँच

नेपालजस्तो विकासोन्मुख देशमा इन्टरनेट तथा बिजुलीको सुविधा गाउँ–गाउँसम्म समानरूपमा पुग्न नसकेका कारण दुर्गम ठाउँका विद्यार्थी अनलाइन क्लासको पहुँचबाहिर रहेका छन् । प्रविधिको सुविधा सम्पन्न भएको ठाउँका विधालयमा अनलाइन कक्षा संचालन भएपनि इन्टनेटको पहुँचबाहिर रहेका विद्यार्थीहरु पहुँचबाहिर रहेका छन् ।

नेट इन्टनेटको पहुँचमा नभएका दुर्गम क्षेत्र तथा सबैजसो सामुदायिक विद्यालयमा पठनपाठन ठप्प छ । कोरोनाका कारण विद्यालय बन्दभएपछि दुर्गमका अधिकांश विद्यार्थीहरुको दिनचर्या गाईभैँसी, मेलापात, घाँसपात काट्मै वित्छ ।

सुविधा सम्पन्न क्षेत्रका निजी विद्यालयले भने अनलाइन पद्धतिको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिएका छन् । पढाइलाई निरन्तरता दिएपनि विद्यार्थीले मन लगाइनलगाइ अनलाइन कलास पढिरहेका छन् ।

अनलाइन कक्षाले दीर्घकालीन असर गर्ने

अनलाइन कक्षाले केही समयका लागि राम्रो गरेपनि दीर्घकालीन रुपमा असर गर्ने कृष्ण माध्यामिक विद्यालय ठाटीकाँधका शिक्षक सुरेन्द्र थापा बताउँछन् ।

‘भौतिक रूपमा कक्षाकोठामा उपस्थित भई शिक्षक विद्यार्थी बीचको अन्तरक्रियाबाट सम्पन्न हुनुपर्ने शिक्षण सिकाइ क्रियाकलापको परिपुरक अनलाइन शिक्षण विधि हुन नसकेपनि वर्तमान संकटपूर्ण अवस्थाको सबैभन्दा भरपर्दो र प्रभावकारी विधि भने अनलाइन कक्षा हो ।
वर्तमान संकटपूर्ण अवस्थाको सबैभन्दा भरपर्दो र प्रभावकारी विधि भएपनि यसले दीर्घकालीन रुपमा असर गर्न सक्ने आशंका भएको उनले बताए ।

नेपालमा २५ प्रतिशत जनसंख्या अझैपनि गरिबीको रेखामुनि रहेको र ६३ प्रतिशत जनसंख्यामा इन्टरनेटको सामान्य पहुँच पुगेको छ, तर त्यसको गुणस्तरअनुसारको मापदण्ड नरहेको अवस्था छ ।

वर्तमान परिस्थितिमा सबैभन्दा राम्रो विकल्पका रूपमा अनलाइन पद्धति रहेको भए पनि प्रविधिसँग अनुकूल हुने किसिमको शिक्षण विधि र आवश्यक किसिमको अनुगमन नियन्त्रणको व्यवस्था तथा विद्यार्थीमैत्री वातावरणको अभावले विद्यालय तहको अनलाइन शिक्षा पूर्ण प्रभावकारी भने हुन शिक्षकहरु बताउँदै आएका छन्  ।

विद्यालय बन्दले अभिभावक चिन्तामा

कोरोनाका कारण विद्यालय बन्द भएर पठनपाठन ठप्प भएपछि अभिभावक चिन्तामा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा कृष्ण मावि ठाटीकाँधकी प्रधानाध्यापक इलामल्ल शाही बताउँछिन् । उनले भनिन्, ‘विद्यालय बन्दले अभिभावक निकै चिन्तामा छन् । कहीँ कतै बाटोमा भेट भएपनि विद्यालय कहिले खुल्ने हो भने सोधिहाल्छन् ।’

पहिले विद्यालयमा नियमित रुपमा गएर शिक्षा हासिल गर्ने विद्यार्थी अहिले कोही घरायसि काम र विभिन्न कुलतमा फस्दै गएकामा अभिभावकलाई पिरोलिरहेको छ । नेटइन्टनेट भएको ठाउँमा अनलाइन कक्षा पढेका छन् । तर, हामी दुर्गममा बसेका छोराछोरीले कहिले अनलाइन कक्षा पढ्न पाउलान् दैलेख ठाटीकाँधका रातो सुजीे दुखेसो पोखे । ‘पहिले नियमित रुपमा विद्यालय जाने मेरो छोरा अहिले न त किताब हेर्छ, नत भनेको नै मान्छ । उनले भने, ‘जति सम्झाउँदा नि मान्दैन पढ भन्दा विद्यालय खुल्दैनन् किन पढ्ने हो भन्छ ।’

दिनभरी साथिहरुसँग बरालिएर हिँड्छ । पढ न बाबुभन्दा कोरानाले गर्दा नपढेपनि पास भइहाल्छु । ‘चिन्ता नगर्नु बुबा भन्छ’ उनले भने । रातो सुजी र उनका छोरा एक प्रतिनिधि पात्र मात्र हुन् । विद्यालय बन्दले दुर्गमका विद्याथीहरुको दिनचर्या यसरि नै वितित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्