Logo
Logo

अफगानिस्तानमा रहेका नेपाली फर्काउने तयारी



काठमाडौं । नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ । तर, त्यहाँ कति नेपाली कार्यरत छन् भन्ने सरकारसँग तथ्यांक नै छैन ।

तालिवान समूहले अफगानिस्तानका उत्तर,पश्चिम र दक्षिणका आधा भन्दा बढी प्रान्त कब्जा गरेसँगै सरकारले औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरेको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव भरत पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए ।

अफगानिस्तान हेर्ने जिम्मा पाएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीसँग सम्पर्क भइरहेको उनल जनकारी दिए । उनले भने, ‘आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ, जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि रहनेछन् ।’

अफगानिस्तानका अधिकांश राज्यमा आफ्नो नियन्त्रण जमाइसकेको तालिबानी लडाकु राजधानी काबुल नजिकै पुगेका छन् । मुलुकको रणनीतिक सहर मानिने मजार–ए–शरीफ कब्जा गरिसकेका तालिबानी लडाकु राजधानी काबुलतर्फ अघि बढेको जनाइएको छ । समाचार एजेन्सीका अनुसार तालिबान लडाकु काबुलबाट ११ किलोमिटरको दूरीमा पुगिसकेका छन्।

अधिकांश प्रान्त कब्जा गरिसकेको तालिबानले राजधानी कब्जा गर्ने देखिएपछि अधिकांश देशले त्यहाँ रहेका आफ्ना कुटनीतिक कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन् । अमेरिकाले काबुलमा रहेका कुटनीतिक कर्मचारी फिर्ताका लागि सेनासहितको विमान पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्