Logo
Logo

राष्ट्रिय विभूतिबारे थप व्याख्या आवश्यक



पासाङल्हामु शेर्पा सगरमाथा चढ्ने पहिलो नेपाली नारी भएकाले उनी राष्ट्रिय विभूति भइन्, पहिलो सगरमाथा विजेता तेञ्जिङ्नोर्गे शेर्पा किन राष्ट्रिय विभूति भएनन् ? के उनले भारतीय नागरिकता लिएकाले हो ? अथवा, उनी तिब्बतबाट आएका नागरिक भएकाले हो ? जे होस्, प्रजातन्त्र पुनःस्थापनापछि राष्ट्रिय विभूतिहरु थपिने क्रम बढ्दै छ । र, नागरिकले राष्ट्रका नायक नायिका (अङ्ग्रेजीमा नेशनल हिरो)लाई अझ बढी चिन्दै जाने छन् ।

खासगरी वामपन्थी सरकार आएको बेला बिर्सिएका, बिर्सन खोजिएका विभिन्न व्यक्तित्वलाई शहीद दर्जा दिएर गुनिलो काम गरिरहेको छ । देउथलको युद्धमा ७० वर्षका उमेरमा सौर्य देखाउने वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गरेर उनको सम्मान गरिएको छ ।

पञ्चायतकालमा राष्ट्रिय विभूति कुन मापदण्डले घोषित हुन्थे र अहिले कसरी समाविष्ट हुँदै छन् भन्ने मापदण्डबारे सर्वसाधारणलाई खासै ज्ञान छैन । सरकारद्वारा घोषित राष्ट्रिय शहीदका परिवारले त रु १० लाख पाउँछन् । तर यी विभूतिका परिवारले रकम पाउने हुन् कि हैनन् थाहा भएन ।

शब्दकोशहरु हेर्दा हामीले जेलाई विगुत (यज्ञकुण्डको खरानी, भष्म) भन्छौँ, त्यो विभूति हो । जुन काठ जलाएपछि प्राप्त हुन्छ र यसलाई शिवभक्तहरु जीउ तथा निधारमा पोत्छन् । राष्ट्रिय विभूतिको त्यससँग केही सम्बन्ध छैन । अर्काे अर्थ चाहिँ, गौरवपूर्ण स्वरुप दिइएको छ, जसको अर्थ अवतार चाहिँ होइन ।

विभूतिलाई दिव्य अलौकिक शक्तिले युक्त, बहुत योग्य तथा गुणवान् मनुष्यको अर्थ पनि दिइएको छ । नेपाली बृहत् शब्दकोश (नेराप्रप, २०४०)ले चाहिँ ‘देशका लागि उल्लेखनीय योगदान दिने व्यक्ति’ मात्र उल्लेख गरेर यस शब्दको भावलाई निकै खुम्च्याएको छ । जे हो्, राष्ट्रिय विभूति भनेका औँलामा गन्न सकिने मात्र त होइन रहेछन् । नेपाल भूमिमा कति महापुरुष वा नारी जन्मे, अलौकिक काम गर्नेमा हालसम्म १७ जना मात्र हुन् भन्ने मान्ने कि ? अरु पनि छन्, भनेर अध्ययन गर्दै जाने ?

अरुले गर्न नसकेको, गर्न नचाहेको र सोचसम्म नभएको काम गर्ने वीर–वीराङ्गना, नायक–नायिका प्रति हाम्रो परिभाषाचाहिँ के हो त ? जनक हुने, जयपृथ्वीबहादुर सिंह किन नहुने ? पृथ्वीनारायण शाह हुने, बीसे नगर्ची चाहिँ किन नहुने ? भीमसेन थापा हुने, बाङ्गे सार्की किन नहुने ? विश्वमा नेशनल हिरोमा धेरैजसो योद्धा वा सैनिक, मुलुक एकीकरणमा योगदान दिने व्यक्ति, स्वतन्त्रता सेनानी नै बढी छन् ।

वर्तमान र भावी पुस्तालाई प्रेरणा दिने व्यक्तित्वहरुको खोजी गरेर प्रकाशमा ल्याउने वा नाम चलेकालाई स्थापित गर्दा हाम्र्रै इतिहास धनी हुन्छ । राष्ट्रिय विभूतिबारे थप खोजी र व्याख्या आवश्यक छ ।

भारतमा महाराणा प्रताप, लाला राजपत राय, महात्मा गान्धी, नेताजी सुवासचन्द्र बोस, भगत सिंह, लालबहादुर शास्त्री, बल्लभभाइ पटेल, बालगङ्गाधर तिलक, चन्द्रशेखर आजाद, डा. बाबासाहेब अम्बेडकर, मङ्गल पाण्डे, जवहारलाल नेहरु, रानी लक्ष्मी बाई, सरोजिनी नायडु आदि अनेक स्वतन्त्रता सेनानीलगायत नेशनल हिरो छन् ।

पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्ना, चीनका जनरल यु फे, दार्शनिक लाओ त्सु र कन्फुसियस, अमेरिकाका जर्ज वासिङ्गटन, अब्राहम लिङ्कन, मार्टिन लुथर किङ, बेञ्जामिन फ्य्रांकलिन, फ्रान्सका नेपोलियन बोनापार्ट, जापानका साकामोतो र्योमा, रुसमा युरी गागरिन आदि नेशनल हिरो छन् । प्रायः हरेक देशले औपचारिक रुपमा घोषणा गरेर र नगरेर नेशनल हिरोहरुको सम्मान गर्ने परिपाटि चलाएका छन् । यो असल पुर्खाप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो ।


नेपालमा दार्शनिक, एकीकरणकर्तादेखि प्रजातन्त्र स्थापनामा भूमिका खेलेको भनिएका राजा र राजकुमार, योद्धा, आदर्श पुत्री र पत्नी, कला, साहित्यकार, संवत्का प्रणेता, सगरमाथा आरोहीसम्म विभूतिको सूचीमा चढे । मिथिलामा जनक नामका धेरै राजा थिए भनिन्छ ।

शिरध्वज भनिने विदेह (हालको मिथिला)का राजा जनक र पौराणिक कालकी मानिएकी उनकी छोरी सीतालाई समेत विभूति मानिएको छ । यसमा पुराण र इतिहास कसरी जोडिए ? शङ्खधर साख्वाले गरीब जनताका ऋणमोचन गरेर नेपाल संवत् चलाएको भनिए पनि कुन साल र कसका पालामा भन्नेमा इतिहास स्पष्ट छैन ।

शहीदमा पनि नेपाली जनतालाई दशरथ चन्द, गङ्गालाल, शुक्रराज शास्त्री, धर्मभक्त माथेमाको नाम मात्र किन कण्ठस्थ हुन्छ ? जिउँदा शहीद रामहरि शर्मा र टङ्कप्रसाद आचार्यसम्मको सम्झना होला । अनि सुखानीका रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, जनकपुर बमकाण्डका दुर्गानन्द झा, यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ, पिस्कर काण्डका थामी दाजुभाइ, विद्यार्थी लक्ष्मी पाण्डे, फणीन्द्र तिमिल्सिना, छयालीस सालका राजन रायमाझी, २०६२/६३ का प्रल्हाद खड्का, सगुन ताम्राकार, चन्द्र बयलकोटी, उमेश थापा, सेतु विक, गोविन्द शर्मा, माओवादी युद्धका सुरेश वाग्ले, कृष्णसेन इच्छुक, भरत ढुङ्गाना, मेथिनकोट र दोरम्बाका संस्कृतिकर्मी र योद्धा यस्तै आउलान् नाम ।

मोदनाथ प्रश्रित, नवराज सुवेदी आदि नेतृत्वको शहीद अध्ययन समितिले बुझाएको प्रतिवेदन कहाँ थन्कियो ? पत्तो छैन ! अब नेशनल हिरो हुन चाहनेले के काम गर्ने हो, परिभाषा आइदिए हुन्थ्यो । राजेश हमाल वा गौरी मल्ल जस्तो अभिनय गर्दैमा नेशनल हिरो वा हिरोइन बन्ने त पक्कै होइन होला । नवराज विकले जसरी प्रेममा उत्सर्ग गर्दा वा रुपा सुनार जस्तो जातिय विभेद प्रकरणमा जेडिएर मात्र त हुन्न होला ।

ऐतिहासिक अभिलेखमा आएका पहिलो किराती राजा यलम्बरदेखि आदिकवि भानुभक्त र शृङ्गारिककवि मोतीरामपछि शायद नेपाली साहित्यलाई माथिल्लो उचाइमा पुर्याउने महाकवि देवकोटा, मनोवैज्ञानिक र प्रगतिशील साहित्यलाई अघि बढाउने पारिजात, साहित्य र राजनीतिमा समानान्तर हिँडेका बिपी कोइराला, गोापालप्रसाद रिमाल र पृथ्वीनारायणको एकीकरणमा शुरुमै साथ दिने कालु पाँडे र नेपाल बाहिर बौद्धधर्म फैलाउन योगदान दिने भृकृटीलाई पनि सम्झनुपर्ने हो ।

समाजसुधारक आबाल ब्रह्मचारी षडानन्द र योगमाया, राष्ट्रवादी तथा किसान नेता भीमदत्त पन्त, मुक्तियोद्धा रामप्रसाद राई, राष्ट्रगुरु भनिएका नरहरिनाथ, स्वामी डा. प्रपन्नाचार्य, सिन्धुली र मकवानपुरमा अङ्ग्रेज र मुसलमानसँग लड्ने योद्धालाई बिर्सन सकिँदैन । राष्ट्रिय विभूति, शहीद, सामाजिक–सांस्कृतिक–शैक्षिक–आर्थिक क्षेत्रमा योगदान दिने व्यक्तित्व, मुलुकलाई कुनै न कुनै रुपबाट अमूल्य योगदान दिने इतिहासको गर्तमा हराइरहेका पात्रबारे सरकारले पुराना अध्ययन कार्यदलका प्रतिवेदन अध्ययन गर्ने तथा नयाँ सिफारिश गर्न पुनः अर्काे कार्यदल बनाउँदा राम्रै हुने छ ।

इतिहासको कुनै कालखण्डमा एउटा किसिमले मूल्याङ्कन गरिएका पात्र कालान्तरमा अर्कै दृष्टिकोणले हेरिने क्रम बढ्दो छ । पृथ्वीनारायण शाहकै कुरा गर्दा उनलाई ६२।६३ को आन्दोलनपछि हेलाँ गरेकामा पछि राष्ट्रिय अखण्डता र सद्भाव बिग्रँदै जाने स्थिति तथा जातीय सामाजिक सद्भाव खल्बलिने अवस्था बढ्न थालेपछि उनलाई झन्–झन् बढी सम्झन थालिएको छ ।

जङ्गबहादुर र चन्द्रशम्शेरले मुलुकको स्वतन्त्रता जोगाउन खेलेको भूमिका बल्ल आएर बुद्धिजीवीले बुझ्न थालेका छन् । पञ्चायती निर्दलीय शासनका प्रणेता राजा महेन्द्र र उनकै हिमायती राजा वीरेन्द्रको राष्ट्रवादी धारको चर्चा बेलाबेलामा हुने गरेकै छ । घटना र व्यक्तित्वलाई हेर्ने दृष्टिकोण एकाङ्गी हुँदा वास्तविक पात्र ओझेलमा पर्न सक्दो रहेछ । उदाहरणकै रुपमा राजा महेन्द्रले नेपाल भित्र्याएका लैनसिंह बाङ्देलले नेपाली आधुनिक कला नेपाली भूमिमा भित्र्याउन गरेको योगदान नकार्न सकिन्न । यसरी व्यक्ति र परिवेशको पुनर्मूल्याङ्कन हुँदै जाने छ र एक पल्टको सत्य सधैँभरको सत्य नहुने स्थिति बन्ने छ ।

मानिस जतिसुकै स्वार्थी भए पनि बैगुनीलाई गुन लाउन पनि पछि पर्दैन । नेपाल जस्तो इतिहास, धर्म, संस्कृति, ज्ञानले परिपूर्ण भूमिमा जम्मा १७ जना मात्र राष्ट्रिय विभूति भन्दा लाजमर्दो पनि हुन्छ । वर्तमान र भावी पुस्तालाई प्रेरणा दिने व्यक्तित्वहरुको खोजी गरेर प्रकाशमा ल्याउने वा नाम चलेकालाई स्थापित गर्दा हाम्र्रै इतिहास धनी हुन्छ । टुक्राटुक्रामा होइन, विभूतिहरुको नाम एकमुष्ट दिऔँ । हाम्रा आदर्शहरुलाई एकै पल्ट चिनौँ ।

(लेखक राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक हुनुहुन्छ ।)
[email protected]

प्रतिक्रिया दिनुहोस्