Logo
Logo

काबुलमा सरकार खोज्दै नेपालीदेखि दल विभाजन अध्यादेश ल्याउने तयारीसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घन्टामा १० हजार ९३ नमूनाको पीसीआर र ५५ सय १८ नमूनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ३४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , सोमबार थप ३५ जनाको कोरोनाबाट मृत्यु, सोमबार २४ सय ५८ जना कोरोनामुक्त, कोरोनाबाट निको हुनेको संख्या ६ लाख ८५ हजार १ सय ४० पुग्यो, पछिल्लो २४ घन्टामा १ लाख ५८ हजार ३३५ जनाले कोरोनाविरुद्धको खोप लगाए, हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ पुग्यो, कोरोना संक्रमित ७९५ जनाको आइसीयूमा र १९७ जनाको भेन्टिलेटरमा उपचार जारी ।

२. तालिवानद्वारा काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदारलाई तत्काल छाड्न आदेश जारी, सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धार गर्न ‘अलआउट’ रणनीति तयार, अफगानिस्तानमा रोजगारीका लागि म्यानपावर कम्पनीबाट गएका नेपाली श्रमिक पनि फर्किन थाले, अफगानिस्तान श्रमिक पठाउने म्यानपावर कम्पनीले दिएको जानकारी अनुसार ३ सय ३० जना श्रमिक कतारको दोहा आइपुगे, ४३७ जना काबुल विमानस्थलमा उडान कुरिरहेको सम्बन्धित म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागद्वारा जानकारी, गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने ।

३. सरकारद्वारा प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य, सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटाद्वारा राष्ट्रपतिले संसद् अन्त्य गरेको पत्र पढेर सुनाइयो, २९ दिन चलेको संसदमा कुनै पिन बिजनेश दिन सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेद्वारा आलोचना, गृहकार्य गरेर प्रतिस्थापन विधेयक ल्याउने कांग्रेसको प्रतिक्रिया, संसद छलेर अध्यादेशबाट देश चलाउने गठबन्धनले तयारी गरेको भन्दै तीव्र विरोध ।

४. जनता समाजवादी पार्टीभित्रको विवाद समाधान गर्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च पुगेका महन्थ ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले जसपाको प्रथम अध्यक्षको हैसियतमा रिट निवेदन दिएका ठाकुरको मागबमोजिम अन्तरिम आदेश जारी नगरिएको अदालतद्वारा जानकारी, माग गरेजस्तो आयोगको निर्णय कार्यान्वयनमा रोक नलगाए अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख ।

५. सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा , धव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै पाएपछि ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल थाले, एमाले एकताको लागि १० बुँदे सहमतिका आधारमा अघि बढ्ने भने पनि माधव नेपालले समान अधिकारसहितको अध्यक्षबाहेक अन्य कुरामा सहमत नहुने बताएपछि अबको रणनीतिका बारेमा पनि छलफल ।

६. विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै हितेन्द्रदेव शाक्यद्वारा सर्वोच्च अदालतमा रिट दायर, ऊर्जा आयोगको विशेष सदस्य बनाइएकाशाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै घिसिङको नियुक्ति गैरकानूनी भएको दावी, आफ्नो सहमतिबेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर ।

७. प्रदेश १ सभाको बजेट अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य, सभामुखले मंगलबार अपराह्न एक बजेका लागि बैठक बोलाइरहँदा प्रदेश सरकारद्वारा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई गरेको सिफारिसप्रति प्रदेश १ माओवादी दलको विरोध, प्रदेशको नामकरण टुङ्ग्याउन प्रस्ताव राखे पनि प्रक्रिया नै अघि नबढाइ प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गरिएकोमा इन्द्रबहादुर आङ्बोको आपत्ति, दलहरूसँगको कुनै जानकारी र छलफलबिनै अधिवेशन अन्त्य गर्नु भनेकै संसदसँग सरकार डराएको बलियो प्रमाण भएको प्रतिक्रिया ।

८. मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति अर्थमन्त्री जनार्दन शर्माको असन्तुष्टि, वैदेशिक रोजगारीबाट आर्जन गरेको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नेगरी नीति बनाउनुपर्नेमा मन्त्री शर्माको जोड, भदौ ९ गतेदेखि आईपीओ निष्काशन गर्दै तेह्रथुम पावर, सामान्य अंक बढेर बन्द भयो नेप्से, कारोबार रकम १६ अर्ब नजिक, सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई फण्डको इकाई मूल्य समायोजन ।

९. नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने , पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने तय, लिग–२ अन्तर्गत नेपालले सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने, राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिए, प्रशिक्षणमा रहेको टिमबाट भरत खवास, जर्ज प्रिन्स कार्की, रजिन धिमालसहित १० खेलाडी आउट, प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा सोमबार पोखराबाट २८ सदस्यीय टिम घोषणा, साफ च्याम्पियन अघि भारतसँग २ वटा मैत्रीपूर्ण खेलको तय ।

१०.र, अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि देश छाड्ने अफगानीको भीड, काबुल विमानस्थलमा गोली चल्दा पाँच जनाको मृत्यु, अफगानिस्तानमा नेटोका लागि काम गरेका दोभासेहरू चिन्तित, हजारौँ विस्थापित, अफगान राष्ट्रपति घानी हेलिकोप्टरमा पैसा भरेर काबुलबाट भागेको रुसको दाबी , कराँचीमा लकडाउनबारेको समचार संकलन गर्ने पत्रकारमाथि प्रहरीद्वारा कुटपिट, विश्वासको मत गुमाएपछि मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा ।

प्रतिक्रिया दिनुहोस्