Logo
Logo

भारत र चीन विच व्यापार युद्ध होला ?


- दृष्टि न्युज/संवाददाता



भारत र चीन विच व्यापार युद्ध होला कि भन्ने आशंका शुरु भएको छ । भारतमा भैरहेको लोकसभा(संसद) चुनावको समयमा प्रधानमन्त्री मोदीले दिएको एक अन्तरवार्ताले यो आशंका पैदा गरेको छ ।

भारतमा ७ करोड सदश्य रहेको कन्फेडेरेशन अफ अल इण्डिया ट्रेडर्सले केही समय देखि चिनियाँ सामानहरुको वहिश्कारको आह्वान गर्दै विभिन्न आन्दोलनहरु गर्दै आएकोछ । यसपालीको होली पर्वका दिनमा त्यस संस्थाले भारतका करीव १५०० स्थानमा चिनियाँ खेलौना, कपडा र इलेक्ट्रोनिक्सका सामानहरुको स सानो थुप्रो लगाएर जलाई चिनियाँ सामानहरुको वहिस्कार गर्न जनतामा अपील गरेको थियो ।

यस वारे नेटवर्क१८ टेलिभिजनलाई दिएको अन्तरवार्तामा मोदीले भनेका थिए —“जहाँ सम्म चिनियाँ सामानहरु वारे जनताको धारणाको कुरा छ, हामीले उनीहरुको सुझ बुझमा यो कुरा छोड्नु पर्दछ । हामी, मिडिया सहितले जनतालाई पथप्रदर्शन गर्नु पर्दछ ।”

मोदीको यो धारणा जता लगेपनि हुने खालको देखिन्छ । तर प्रधानमन्त्री भएको व्यक्तिले यस्तो सन्ध्याकालिन भाषा वोल्नुले अर्थात चिनियाँ सामान वहिश्कार गलत नभन्नुले भारत चीन विच व्यापार युद्ध हुन सक्ने सम्भावना रहेको एकथरि विश्लेषकहरुको मत रहेकोछ ।

सन् २०१८ मा भारतले चीनवाट ७६ अर्ब डलर वरावरको सामान आयात गरेको थियो । तर भारतले चीनमा केवल १८ अर्ब डलरको मात्रै सामान निर्यात गर्न सक्यो । अर्थात भारतको चीन संगको व्यापार घाटा ५८ अर्ब डलर रह्यो । यो भनेको ६४३८ अर्ब नेपाली रुपैयाँ हो । अर्थात नेपालको वार्षिक वजेट १३१५ अर्ब भन्दा करिव ५ गुणा वढी रकम हो ।

यस्तो व्यापार घाटा भएपनि चीन र भारत विच तत्काल व्यापार युद्ध नहोला भन्ने विश्लेषण गर्ने आधार पनि रहेकोछ । चीनको कूल निकासी व्यापार मध्ये केवल २ प्रतिशत मात्रै भारत संग हुने गरेकोछ । यदि भारतले व्यापार युद्ध शुरु गरेमा चीनकालागि धेरै असर पर्ने छैन । तर भारतकोलागि भने नकारात्मक असर पर्नेछ ।

चिनियाँ सामानहरु भारतीय सामान भन्दा कम्तिमापनि ३० प्रतिशत सस्तो हुने गरेको भारतीय व्यापार विश्लेषकहरु नै वताउने गर्छन् । भारतमा प्रयोग हुने हरेक ५ वटा मोवाइल फोनमा ४ वटा चिनियाँ फोन हुने गर्दछ । भारतका स्टार्टअप व्यवसायहरुमा चिनियाँ लगानी अमेरिका र जापानको भन्दा वढी भएर पहिलो नम्वरमा आएकोछ ।

यी कारणहरुले गर्दा भारतले अहिले नै व्यापार युद्ध गर्ने हिम्मत गर्दैनन् भन्ने देखिन्छ । तर भारतले चीनलाई व्यापार र उत्पादनमा पछि पार्न धेरै कठिन हुने स्पष्ट भएको छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्