Logo
Logo

सैद्धान्तिक वैचारिक विचलन एमाले विभाजनको कारण


श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक


काठमाडौं । नेपालमा कम्युनिष्ट विभाजन नौलो होइन । तर, त्यसो भन्दैमा सामान्य मान्ने कुरा हुँदैन । कम्युनिष्ट विभाजन निहितलाई खुसीकै कुरा होला । तर, समग्र कम्युनिष्ट आन्दोलनले थप संकट झेल्नुपर्ने हुन्छ । देशले नै संकट भोग्नु पर्छ । पछिल्लो पटक एमाले विभाजनले त्यस्तै अवस्था सृजना भएको छ । एमाले विभाजनको खास सैद्धान्तिक वैचारिक कारण देखिन्न । तर, पनि विभाजन भयो । कम्युनिष्ट विभाजनले नै निरन्तरता पायो । कम्युनिष्ट विभाजनको कारण के होला ? भन्ने सन्दर्भमा राजनीतिक विश्लेषक श्याम श्रेष्ठसँग दृष्टिन्यूजका सन्तोष साहले गरेको कुराकानी प्रस्तुत छ–

– एमाले विभाजनलाई कसरी लिनु भएको छ ?
नेपाली समाजलाई रूपान्तरण गर्ने उद्देश्यसहित एमाले गठन भएको थियो । तर, एमालेले आफ्नो उद्देश्यअनुसार काम गर्न सकेन । समाज रूपान्तरण गर्ने एजेण्डा एमालेले भुल्यो । नेताहरू व्यक्तिगत समृद्धिमा लागे । मनमोहन अधिकारी नेतृत्वको सरकारले केही प्रयत्न गरेको थियो । आफ्नो गाउँ आफै बनाऔं, वृद्धभत्ता लगायत समाज रूपान्तरणका एजेण्डा मनमोहनको पालामा लागु भयो । तर, त्यसपछि एमाले नेतृत्वमा बनेका सरकारहरूले केही गरेनन् । एमाले छ कि छैन ? भन्ने अवस्था बन्यो । एमाले वैैचारिक, सैद्धान्तिक एजेण्डा विहीन बन्यो । एमाले विभाजनका कारण यो नै हो । विचार र सिद्धान्त विहीन कम्युनिष्ट पार्टी कुनै न कुनै ठाउँमा दुर्घटनाग्रस्त हुन्छ नै ।

– एमाले विभाजनले कम्युनिष्ट आन्दोलनमा कस्तो प्रभाव पर्छ ?
कम्युनिष्ट पार्टी विभाजन हुँदा आन्दोलनमै संकट पैदा हुन्छ । लगभग दुईतिहाई मतको कम्युनिष्ट पार्टी विभाजन भयो । त्यो विभाजनकै निरन्तरता स्वरूप अहिले माधव नेपालले नयाँ पार्टी गठन गर्दा त्यो नेकपा तीन टुक्रा भएको छ । पार्टी विभाजनले स्वभाविक कम्युनिष्ट आन्दोलनलाई नै नोक्सान हुन्छ, भएको छ । तर, ‘घर थोत्रो थियो । भूकम्पले एक धक्का दिँदा भत्कियो, सबै कुरा सिद्धिहाल्यो’ भने जस्तो होइन । नयाँ जग हाल्ने हो । लामो समयसम्म टिक्ने संरचना बनाउने हो । नयाँ संरचना भनेको विचार र सिद्धान्तमा प्रतिवद्ध पार्टी हो । विचार र सिद्धान्तमा प्रतिवद्ध नेता हुन् । एमाले फुटेर सर्वस्व सकियो भन्ने पक्षमा म छैन । कम्युनिष्ट आन्दोलनलाई नयाँ गति प्रदान गर्नेगरी लाग्नुपर्ने हुन्छ । कम्युनिष्ट प्रति जनताको सबै विश्वास गुमिसकेको छैन ।

– नेपालका कम्युनिष्ट सैद्धान्तिक वैचारिक रुपमा विचलित भएका हुन् ?
कम्युनिष्ट नेताहरूमा सिद्धान्त र विचार भन्ने कुरा केही छैन । व्यक्ति केन्द्रित भएका छन् । यहाँ नाम कम्युनिष्ट पार्टी भयो । तर, व्यवहार पुँजीवादी देखियो । चरित्रमा त उनीहरू कम्युनिष्ट नै रहेनन् । पुँजीवादी र कम्युनिष्टबीच भिन्नता देखिएन । पुँजीवादी चरित्रका कारण पनि कम्युनिष्ट पार्टीहरू फुट्ने गरेका छन् । गैर कम्युनिष्टलाई समेत मात गर्ने गरी कम्युनिष्ट नेताहरू पुँजीवादी भए । टाउको देखि पैतालासम्म दलाल पुँजीवाद बोकेका छन् । तर, साइनबोर्ड चाहिँ कम्युनिष्टको राखेका छन् । त्यस्तो पार्टी हुनु र नहुनुमा केही फरक हुँदैन । भन्न खोजेको के हो भने, कम्युनिष्टहरूमा सैद्धान्तिक वैचारिक विचलनले हद नाघ्यो । त्यसकारण नेपाली कम्युनिष्ट आन्दोलन संकटमा परेको छ । पुनर्गठनको अवस्थामा पुगेको छ ।

– एमाले विभाजनको दोषी को ?
एमाले विभाजनको मुख्य कारण, केपी ओलीको हठ, दम्भ र अहंकार नै हो । एमाले फुट्नुपर्ने पार्टी होईन, विभाजन हुनुपर्ने कारण नै थिएन । केवल केपी ओलीको हठ, दम्भ र अहंकारका कारण एमाले विभाजन भयो । ओलीजी सरकारमा भएको बेला आफ्नो घोषणा पत्रमा भएका काम भटाभट गरेको भए, भिन्न मत राख्नेलाई सम्मान गरेको भए एमाले विभाजन हुँदैनथ्यो । ओलीले ‘बरफ जति मेरो, सिन्का जति भिन्न मतको’ जस्तो व्यवहार गरे । सोही कारण एमाले विभाजन भयो ।

– कम्युनिष्ट पार्टीबीच तत्कालै एकता सम्भव छ ?
नेपाली समाजको रूपान्तरण गर्ने एजेण्डा बोकेको पार्टी आवश्यक छ । अहिले भएका कम्युनिष्ट पार्टीहरूका बीचमा एकीकरण हुनुपर्छ । पहिलेको एमाले (मनमोहन कार्यकाल) जस्तै समाज रूपान्तरण गर्ने किसिमको पार्टी बन्नु जरुरी छ । राजनीतिक, वैचारिक, सैद्धान्तिक विषयमा राम्रोसँग छलफल गरेर अहिले भएका कम्युनिष्ट पार्टीबीच एकीकरण भए त्यसको जगमा समाजमा राम्रो प्रभाव पार्न सकिन्छ । त्यसले नेपाली समाजलाई राम्रो दिशानिर्देश गर्न सक्ने सम्भावना छ ।

किनभने एमाले मात्रै फुट्या होईन नि, माओवादी पनि फुटेको छ । त्यसैले सबै कम्युनिष्ट पार्टी पुनर्गठनको संघारमा छन् । यस्तो अवस्थामा पहल लिन सके कम्युनिष्ट एक्ता सम्भव छ । नेपाली समाजको रूपान्तरण जसले चाहन्छ तिनिहरूका बीचमा एकीकरण, पुनर्गठन जरुरी छ । माओवादी शान्ति प्रकृया हुँदै मुलधारको राजनीतिमा आइसक्यो, विप्लव आइसके । अन्य साना–साना कम्युनिष्ट पार्टीहरू पनि छन् । कम्युनिष्टबीच मात्र होइन । अहिलेका कम्युनिष्ट पार्टीसँग सारभूत रुपमा सिद्धान्त मिल्ने जनता समाजवादी पार्टी लगायत राजनीतिक शक्ति अस्तित्वमा छन् । यी शक्तिहरूबीच एकीकरण आवश्य छ । र, सम्भव पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्