Logo
Logo

एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने उनको भनाइ छ । संघको दशौँ अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा हुन गइरहेको छ । पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ ।

‘नेपालको संविधान जारी भएको छ वर्षसम्म पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएका र मैले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको छु’ उनले भने, ‘म निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने छु ।’

सल्लाहकार आचार्यले युवा तथा महिलालाई संस्थामा अगाडि बढाउनाका साथै सङ्घको सुदृढीकरण तथा शुद्धीकरण आफ्नो प्राथमिकता हुने पनि जनाए । ‘विदेशमा बस्ने नेपालीले पठाएको रकम (विप्रेषण) ले नेपाल को अर्थतन्त्र धानेको छ तर मध्यपूर्व, मलेसियालगायतका मुलुकमा नेपालीका लागि सुरक्षित र मर्यादित रोजगारको वातावरण सिर्जना गर्न धेरै काम गर्न बाँकी छ । संघले यस क्षेत्रमा पहल गरिरहेको छ । सबै साझेदारसँग मिलेर ठोस नतिजा देखिने गरी मैले काम गर्ने छु ।’

प्रतिक्रिया दिनुहोस्