Logo
Logo

अब यस्तो नहोस्



देवकोटाको घर भत्काइयो अर्थात् महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर । जन्मेको हैन पछि बसोबास गरेको ठाउँ । जेहोस् मुलुकको महाकवि, एक मात्र महाकवि (यो उपाधि अरूले जति महाकाव्य लेखे पनि अब पाउँदैनन्) को घर भत्काइयो, सरकारीस्तरबाट ।

भत्काइँदै छ भन्ने पनि संस्कृति मन्त्रालय, प्रज्ञा– प्रतिष्ठान, गुठी संस्थानबाहेकका पदाधिकारीले थाहै पाएनन् । नभए केही न केही सुझाव आउँदो हो । थाहा पाएका भए कतिले तस्वीर र भिडियो खिँचेर राख्थे होलान् । केही वर्षअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेपछि घरलाई सङ्ग्रहालय बनाउने प्रक्रिया चलेको थियो । त्यसअघि प्रदीप नेपाल (शायद मन्त्री हुँदाकै बेला हो कि)ले घर किन्ने प्रक्रिया चलाए पनि मोलतोल नमिलेकाले पुरानो घर थन्केर बसेको थियो ।

महाकविको घर भत्कँदा कसलाई रून मन नलाग्ला र ? धेरै साहित्यकारको मन रोयो । अरुका भावना सामाजिक सञ्जालतिर त्यति पोखिए जस्तो लागेन । भावना सबैको हुन्छ । नेपालीहरू पनि संवेदनशील छन् । देवकोटाको कर्मघर जहाँ बसेर कैयौँ फुटकर कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, उपन्यास, लेखे होलान् ।

अब त्यही रूपमा भेटिन्न त्यो घर, जति टाउको फुटाए पनि । त्यही घर जस्ताको तस्तै राखेर छेउमा अर्काे घर बनाउन सकिन्थ्यो ? पुरानो घरलाई अतिप्रबलीकरण गर्न सकिन्थ्यो । भत्काउनुअघि विदेशको पनि अध्ययन गर्न सकिन्थ्यो कि ? नयाँ पुस्ताले कविकुञ्ज देख्न पाउँदैनन् अब, यही नै चुकचुक रह्यो सबैलाई ।

रानीपोखरी पुनःनिर्माण गर्दा पनि पृष्ठभूमि र इतिहास नपढी भटाभट सिमेन्ट लगाइदिएका थिए, महानगर पिता विद्यासुन्दर शाक्यले । देख्दा, सुन्दा पनि लाज लाग्ने । कमलपोखरीमा पनि त्यही भयो । यत्तिको महत्व र ऐतिहासिक सम्पदाबारे काम गर्दा व्यापक छलफल नै गर्न चाहन्नन्, प्रज्ञाका पदाधिकारीहरू । छलफल गरे पनि लागु गर्न चाहन्नन्, यही नै दुःखको कुरा हो ।

पुरानो देख्नेबित्तिकै भत्काइहाल्ने प्रवृत्ति राम्रो होइन । कविकुञ्ज प्रकरणपछि अब यस्ता वस्तुको संरक्षणबारे सरकारले नीति बनाओस् । व्यापक छलफल होस् । साहित्यकार र साहित्यप्रेमीका मुटुमा चोट पुर्याउने काम कसैले नगरोस् ।

तीर्थमाधव जन्मेकै धोबीधाराको घर त राम्रै अवस्थामा हुँदो हो । कविले खेल्ने गरेको दाडिमको रूख पनि हुँदो हो । त्यसको पनि जोगाड गर्नुपर्दाे हो । कविकुञ्जको पुनःनिर्माण गरिरहँदा जन्मघरलाई पनि समेट्नुपर्ने हो । मामा ससुरालल (मामाघर होइन) झिल्टुङ पनि अट्नुपर्ने हो, जहाँको भावभूमिमा ‘पहाडी जीवन’ निबन्ध र ‘कुञ्जिनी’ खण्डकाव्य नै तयार भयो । कविकुञ्ज फेरि बन्ला, कोठाचोटा बन्ला, गोष्ठी, प्रवचन कक्ष बन्ला, सङ्ग्रहालय बन्ला ।

त्यसभन्दा पनि यस्ता स्रष्टाका जन्मघर, कर्मघर, केही समय बिताएको घरहरुको अबको भविष्य के हुने हो ? चिन्ता र चासो त्यसैको हो । चुँदीरम्घास्थित आदिकविको घरको बिजोग छ । युवक कविको भोँसिको टोलको घर कहाँनेर हो ? कुन हो ? कसैले खोजखबर गरेको छैन । ज्ञानेश्वरको नाट्यसम्राट्को घर पनि सरकारीस्तरमा संरक्षण गरिएको थाहा छैन ।

सिरुटारको युद्धप्रसाद, ॐबहालको सिद्धिचरण, भोटेबहालका गोठाले र विजय तथा लगनको गोपालप्रसाद, थाक टुकुचे र नक्सालका भूपीका घरका अवस्थाबारे पनि कमैलाई थाहा होला । पारिजातलाई बहिनीकोे म्हैपीको घरले मात्र संरक्षण गर्न नसक्ला । राष्ट्रकविकै पुस्तुनको घरबारे त्यहाँका बासिन्दाबाहेक अरुलाई के थाहा ?

योगी नरहरिनाथका लेखोट, सिर्जना मृगस्थलीमा धुस्नु भएको सरकारलाई राम्रोसँग थाहा छ । नेपालका प्रायः सबै जिल्ला भ्रमण गरेर सङ्कलन गरिएका सामग्री नेपाल र नेपालीका अमूल्य निधि हुन् । तिनलाई बेवास्ता गर्नुपर्नाको कारण छैन । अझ उनका कयौँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्रीको संरक्षण एवं पुस्तक–ग्रन्थ पुनःप्रकाशन गरिनु आवश्यक छ ।

स्वामी प्रपन्नाचार्यका पनि थुपैै्र सिर्जना मृगस्थलीमा होलान् । ललितपुरमा रहेको राष्ट्रिय पुस्तकालयका सामग्री पनि बोरामा कोचिएर बसेका थिए, अहिले तिनको अवस्था थाहा छैन । मुलुकका अमूल्य सम्पदा सामग्री रहेको राष्ट्रिय अभिलेखालय सार्ने कुरा पनि कहाँ पुग्यो, पत्तो छैन । लेखनाथको कास्की अर्चले र काठमाडौँ सोह्रखुट्टेमा केही संरक्षणका काम भएका छन् । रमेश विकलमाथि उनकै सुपुत्र र परिवारले धेरै काम गरेका छन् । अरु केही नभए पनि लाटोसाथीले कपिलवस्तुमा स्रष्टाहरूका शालिक स्थापना गर्ने कामसम्म गरेर गए ।

पुर्खाका धरोहर संरक्षण गर्ने, भावी पुस्तालाई प्रदर्शन गराउने, तिनको योगदानको चर्चा गर्ने काम निजीस्तरबाट मात्र सम्भव छैन । राष्ट्रिय व्यक्तित्वहरुले छाडेर गएर सम्पत्ति र सिर्जना संरक्षणको काम परिवार मात्रले गरेर सम्भव नहुने भएकाले सरकार वा राज्य नै लाग्नुपर्ने देखिन्छ ।

पुरानो देख्नेबित्तिकै भत्काइहाल्ने प्रवृत्ति राम्रो होइन । कविकुञ्ज प्रकरणपछि अब यस्ता वस्तुको संरक्षणबारे सरकारले नीति बनाओस् । व्यापक छलफल होस् । साहित्यकार र साहित्यप्रेमीका मुटुमा चोट पुर्याउने काम कसैले नगरोस् । दिवङ्गत स्रष्टाले आत्मशान्ति पाऊन् ।

२०७८ साउन ३२
[email protected]

प्रतिक्रिया दिनुहोस्