Logo
Logo

केपी-माधवको टसल मात्र विभाजनको कारण होइन


कृष्ण पोखरेल, राजनीतिक विश्लेषक


काठमाडौं । नेकपा एमाले विभाजनमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको टसल प्रधान देखिन्छ । तर, यत्ति नै कारणले मात्र एमाले विभाजन भएको हो त ? एमाले विभाजनमा सैद्धान्तिक वैचारिक प्रश्न छ कि छैन ? यो कोणबाट बहस हुन सकेको छैन । यसै सन्दर्भमा राजनीतिक विश्लेषक कृष्ण पोखरेलसँग दृष्टिन्यूजका सन्तोष साहले गरेको कुराकानी प्रस्तुत छः

– एमाले विभाजनलाई कसरी बुझ्नु भएको छ ?

नेतृत्व बिचारबाट च्युत हुँदै गएपछि एमाले विभाजन भएको हो । शक्तिमा आएपछि केपी शर्मा ओली पार्टीको मूल विचारबाट च्युत हुनुभो । त्यसले विभाजनसम्म पुर्याएको हो । पार्टीभित्रको फरक मतलाई सम्मान गर्नुपर्छ भन्ने जनताको बहुदलिय जनवाद (जबज)को मान्यता हो । तर, ओलीजीले त्यो मान्यता छोड्नु भयो ।

ओलीजी पार्टीभित्र आन्तरिक लोकतन्त्र हुनुपर्छ भन्नु हुन्थ्यो । तर, अध्यक्षको रुपमा शक्तिमा आएपछि उहाँले हैकमवादी शैली सुरू गर्नुभयो । पार्टी नेतृत्वमा पुगेपछि ओलीजीलाई लोकतन्त्र चाहिएन । अरू नेताका फरक विचार, फरक सोचलाई पूर्णरूपमा बन्देज गर्ने काम गर्नुभयो । फरक विचार राख्ने नेतासँग शत्रुवत व्यवहार गर्नुभयो । ओलीजीको सोही व्यवहारले दुईतिहाइ बहुमतसहितको कम्युनिष्ट सरकार गुम्यो । उहाँ आफै सडकमा पुग्नुभयो, अरू कम्युनिष्टहरू त अहिले पनि सत्तामा जानसक्छन् ।

सातमध्ये ६ प्रदेशमा कम्युनिष्ट सरकार थियो । त्यसमा एमालेकै चार वटा सरकार थियो । त्यो क्रमशः गुम्दै गएको छ । गलत राजनीतिक संस्कार र गलत सोच हाबी हुनु यसको मुख्य कारण हो । गलत प्रवृत्तिविरूद्ध माधवकुमार नेपालले आवाज उठाउनुभयो । संविधानलाई नै भड्खालोमा हाल्ने योजनासहित दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने काम ओलीजीले गर्नुभयो । दुईपटक नै अदालतले पुनःस्थापना गरेको हो ।

संविधानको भावनाविपरित, संघीयताविरूद्ध उहाँमा पैदा भएको सोच नै गलत थियो । जुन ढंगले उहाँ अगाडि बढ्न खोज्नुभयो त्यसको नतिजा अहिलेको अवस्था हो । यस्तो अवस्थामा माधवजीसँग दुईटा विकल्प थिए । एक, ओलीसमक्ष आत्मसमर्पण गर्ने । अर्को, बिद्रोह गर्ने । माधवजीले बिद्रोह रोज्नुभएको हो ।

-एमाले विभाजनले कम्युनिष्ट आन्दोलनमा कस्तो प्रभाव पर्छ ?

कम्युनिष्ट आन्दोलनमा यसको प्रभाव त पर्छ नै । परिस्थितिले पुनः कम्युनिष्ट आन्दोलनलाई संकटमा पुर्याएको छ । सहज अवस्थामा फर्कन समय त लाग्छ नै । अहिलेकै अवस्थामा हेर्ने हो भने भविष्य अध्यारो देखिन्छ । सहज अवस्थामा फर्कन धेरै समय लाग्छ । हिजोकै स्थिति त अब बन्दैन् । किनभने पार्टी विभाजन भइसकेपछि, आन्दोलन विभाजन भइसकेपछि हिजकै जस्तो अवस्था त बन्दैन् ।

-स्वयम् एमालेलाई कस्तो प्रभाव पर्छ ?

नेपालमा एमाले मात्रै कम्युनिष्ट पार्टी होइन । कम्युनिष्ट आन्दोलनमा माओवादी, जनमोर्चा लगायत धेरै पार्टी छन् । माधव नेपालको पनि पार्टी बन्यो । यी पार्टीहरू सहकार्य गरेर अगाडि बढ्न सक्छन् । यस्तो अवस्थामा एमालेलाई सहज छैन । एमाले यही अवस्थामा सत्तामा फर्कन सक्दैन् । मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि पार्टीको बहुमत आउँदैन् । अब हुने चुनावमा कुनै पनि पार्टीको बहुमत आउँदैन् ।

संविधानको रक्षा गर्ने कि नगर्ने, संघीयताको रक्षा गर्ने कि नगर्ने, गणतन्त्रको रक्षा गर्ने कि नगर्ने, पार्टीभित्र आन्तरिक लोकतन्त्र जिवित राख्ने कि नराख्ने ? भन्ने सैद्धान्तिक वैचारिक विषयमा एमालेभित्र ठूलो अन्तरविरोध थियो । एमालेको विभाजनका कारण यीनै हुन् ।

हिजोको दिनमा बहुमत आएको थियो । तर, दुई पार्टी मिल्दा मात्र सम्भव भएको हो । अब एमालेसँग मिल्न जाने को ? नेपाली काँग्रेस जाँदैन्, माओवादी जाँदैन, जनता समाजवादी पार्टी जाँदैन वा अहिले छुटै पार्टी बनाउनुभएका माधव नेपाल जानुहुन्न् । यस्तो अवस्थामा स्थिति के हुन्छ त ? एमालेसँग राप्रपाले सहकार्य गर्ला ! त्यो पार्टी एकदमै दक्षिणपन्थी पार्टी हो । त्यसैले अबको निर्वाचनले एमालेको वास्तविकता देखाउँछ । एमालेको अस्थित्व नै नरहने परिस्थिति बन्न सक्छ ।

-एमाले विभाजनमा सैद्धानिक वैचारिक प्रश्नको भूमिका कति छ ?

एउटै कारणले मात्र पार्टी विभाजन हुँदैन । कम्युनिष्टहरु पटक–पटक विभाजन भएको र पटक–पटक जुटेको सत्य हो । कम्युनिष्टहरू फुट्न र जुट्न सधैं तयार हुन्छन् । विभाजनमा केही न केही सैद्धान्तिक वैैचारिक विषयको भूमिका हुन्छ । अहिलेकै अवस्था हेर्ने हो भने संविधानको रक्षा गर्ने कि नगर्ने ? संघीयताको रक्षा गर्ने कि नगर्ने ? गणतन्त्रको रक्षा गर्ने कि नगर्ने ? भन्ने सैद्धान्तिक वैचारिक विषयमा ठूलो अन्तरविरोध थियो ।

पार्टीभित्र आन्तरिक लोकतन्त्र जिवित राख्ने कि नराख्ने ? पार्टीलाई पद्धति र प्रक्रियामा चालाउने कि नचलाउने ? भन्ने विषयमा ठूलो मतभेद थियो । संविधान नै धरापमा पार्ने धारको नेतृत्व ओलीजीले गर्नुभयो । माधवजीको समूहले त्यसको सशक्त प्रतिवाद गरेको हो । तर, पनि ओली नसच्चिएपछि माधवहरू अलग हुनु भएको हो । त्यसैले एमाले विभाजनको कारण व्यक्ति–व्यक्तिको टसल मात्रै होइन । सैद्धान्तिक वैचारिक प्रश्नहरू यसका कारण हुन् ।

-माधवले पार्टीको नाममै ‘समाजवादी’ राखे । नाम समाजवादी राख्दैमा समाजवादी यात्राको नेतृत्व गर्ला ?

हाम्रो संविधानमै समाजवादउन्मुख उल्लेख गरिएको छ । संविधानमा उल्लेख भएको समाजवाद आउँछ कि आउँदैन ? जनताले महसुस गर्ने गरी समाजवाद आउँछ कि आउँदैन ? भन्ने कुरा राजनीतिक दल, दलका नेता, दलको चुनावी घोषणापत्र र सरकारका नीति तथा कार्यक्रममा भर पर्ने कुरा हो । कुनै एक दलको मात्र चाहनाले सम्भव हुने कुरा होइन ।

समाजवादउन्मुख राष्ट्र उल्लेख भएको संविधान स्वीकार गर्ने सबैले समाजवादी यात्राका लागि भूमिका खेल्नुपर्छ । माधवजीहरूले पार्टीको नाममै समाजवादी राख्नु भएको छ । यसको मतलव अबको यात्रा समाजवादी यात्रा नै हो । त्यसका लागि उहाँहरूले आगामी दिनमा अवलम्बन गर्ने नीति र गर्ने काममा निर्भर हुन्छ ।

-अहिलेका नेतृत्वबाट समाजवादी यात्राका लागि आशा गर्ने ठाउँ छ ?

अहिलेसम्मको अवस्था त्यो छैन् । नेपाली जनताले पटक–पटक संघर्ष र बलिदान गरे । वर्तमान व्यवस्था ठूलो उपलब्धि हो । तर, जनताले पाउँनुपर्ने जुन लाभ हो, पाउँन सकेका छैनन् । न गणतन्त्रको लाभ, न संघीयताको लाभ, न समावेशी लोकतन्त्रको लाभ ! यस सवालमा राजनीतिक दल चुकेका छन् । सबैभन्दा धेरै चुकेको दल एमाले हो । किनकी संविधान बनेपछि दुईतिहाइ बहुमतको सरकार एमालेले नै नेतृत्व गरेको थियो ।

माओवादीसँग गठबन्धन गरेर चुनाव जितेका एमाले अध्यक्ष ओलीले दुईतिहाइ बहुमतको सरकार नेतृत्व गर्ने अवसर पाउनु भयो । त्यस्तो अवसर २०१५ सालमा वीपी कोइरालाले मात्र पाउनु भएको थियो । वीपीको सरकार त राजाको षड्यन्त्रले गयो । तर, ओलीको सरकार कसरी गयो ? सबैले बुझेका कुरा हुन् ।

दुईतिहाइ बहुमत भएको सरकारको नेतृत्वमा समाजवादी यात्रा सहज थियो । तर, ‘काम गर्न दिएन् । त्यसैले, काम गर्न सकिन’ भन्दै ओली पन्छिए । आफै पार्टी अध्यक्ष र प्रधानमन्त्री भएका व्यक्तिले त्यसो भन्न मिल्ने कुरा हो ? कसका कारण अवसर गुम्यो भन्ने भन्ने कुरा ओलीजीले समीक्षा नगरे पनि हामीले गरेका छौं, गर्नुपर्छ । तर, प्राप्त अवसर गुम्दैमा सबै सकियो भन्ने हुँदैन । पछिल्लोपटक कम्युनिष्टले अवसर गुमाएका हुन् । केही समय यसको असर पर्छ । त्यसपछि पुनः कम्युनिष्ट शक्तिशाली बन्न सक्छन् । तर, सच्चिनुपर्छ ।

-पुनः कम्युनिष्ट एकता सम्भव छ ?

जबसम्म ओलीजी एमालेको नेतृत्वमा रहनुहुन्छ एकताको सम्भावना न्यून हुन्छ । एकताका लागि सबैभन्दा ठूलो बाधक ओलीजी नै हुन् । माधव नेपाल, प्रचण्ड, झलनाथ खनाललगायत नेता त एकै ठाउँमा हुनुहुन्थ्यो । सहकार्यको हिसाबले अहिले पनि एकै ठाउँमा हुनुहुन्छ । ओलीजी बाहेक अरू नेता त मिल्नुपर्छ भन्नेमै देखिनुहुन्छ । तर, ओलीजीले शक्तिशाली नेकपा हुँदा पनि विभाजन नै रोज्नु भएको हो ।

अदालतसँगको सेटिङमा नेकपा खारेज गर्ने काम उहाँकै चाहनामा भएको हो । त्यसैले ओलीजी एमालेको नेतृत्वमा रहँदासम्म समग्र कम्युनिष्टबीच एकताको सम्भावना कम हुन्छ । ओली बाहेकका कम्युनिष्ट शक्तिबीच एकता अहिले पनि सम्भव देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्