Logo
Logo

फोहोर टिप्ने बहानामा चोरी गर्ने झोक्की पक्राउ



काठमाडौं । फोहोर टिप्ने बहानामा चोरी गर्ने एक युवा पक्राउ परेका छन् । महोत्तरी बर्दिबास नगरपालिका वडा नम्बर–८ का कुमार तोलाङ्गे (झोक्की)लाई महानगरीय अपराध महाशाखाकाे टाेलीले ललितपुरको बालकुमारीबाट पक्राउ गरेको हो ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा घर, कारखाना तथा बाटोमा फ्यालिएका कार्टुनका टुक्राहरुलगायतका फोहोर उठाउने बहानामा उनले चोरी गर्दै आएका थिए ।

झोक्कीले ताला लगाइराखेका तथा सुनसान घरहरुबाट नगद, ल्यापटप, मोबाईल तथा विभिन्न सुन–चाँदीका गर–गहनाहरु चोरी गर्ने गरेको प्रहरीको भनाइ छ ।

उनले गत जेठ एक गते भक्तपुरका लोकन्थली, बुढाथोकीगाँउस्थित नरेन्द्रराज सिजापतीको घरमा चोरी गरेका थिए । उनले सिजापतीको घरबाट नोटबुक नोकिया मोबाइल, २७ हजार नगदसहित एक लाख ८५ हजार बराबरको धनमाल चोरी गरेका थिए ।

उनलाई थप अनुसन्धानका महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्