जिन्दगीभर शासित हुने श्राप भोग्न तयार होऔं ! « Drishti News – Nepalese News Portal
Logo

जिन्दगीभर शासित हुने श्राप भोग्न तयार होऔं !


श्याम रिमाल


एक राजनीतिकर्मी आगामी निर्वाचनबारे सोच्छ । एक राजनेता आगामी पुस्ताबारे विचार गर्छ : जेम्स फ्रिम्यान क्लार्क, अमेरिकी सङ्घीयमन्त्री, ब्रह्मज्ञानी, लेखक

यहाँ राजनीतिको कुरा नगरी कसैलाई खाएको पच्दैन । बिहान उठेदेखि नसुतुञ्जेल राजनीति । दुई जना भेट भो राजनीतिको गफ शुरु । बिहे, व्रतबन्ध, चाडबाड, जमघटमा राजनीतिकै कुरा । नेपाली जनताको दिन राजनीतिले सकिने भए । अरिष्टोटलले भनेकै थिए– ‘मानिस राजनीतिक प्राणी हो ।’ शिशुले पनि जन्मनासाथ राजनीति गर्छ, च्याँच्याँ गर्दै दूध खान माग्छ ।

राजनीतिकै कुरा गरौँः घर जलाएर खरानी बेच्न हिँडेका छन् कोही । कोही भुइँको टिप्न खोज्दा पोल्टाको पोख्नेहरू छन् । भाइभाइ फुटेर गँवारलाई लुटाउनेहरूको कुरा के गर्नु ? खै चेत, खै पश्चात्ताप ? राष्ट्रको कार्यकारी प्रमुखका अनुहारमा पनि जुन तेज देखिनुपथ्र्याे, त्यसको आभास खोई ? खै त्यो आभा, खै राष्ट्र हाँसेको त्यहाँ ? पार्टी प्रमुखमा जितेर संसदीय चुनावमा बहुमत ल्याई आरामको सरकार प्रमुख हुने सपनामा ब्रेक लागेको अनुहार पो देखिन्छ त्यहाँ । राष्ट्र बनाउने अनुहार को देख्नुभएको छ यहाँले ? समाजवादको प्रतिविम्ब कसमा देखिन्छ ? दूरदर्शिता, दृष्टिकोण, योजना, रणनीति, कार्यान्वयन, अनुगमन खै ?

राजनीतिकै परावर्तनः बाढीपहिरो, भत्काइ, आगलागी, चट्याङ, भूकम्प, दुर्घटना । कोरोना महामारी, रोग, भोक, शोक, अभाव, महँगी । लुट, चोरी, बलात्कार, हत्या, हिंसा, छल, षड्यन्त्र, बेइमानी, अनैतिकता । हुल, हुलदङ्गा, भीड, जुलुस, लाम, धर्ना, हडताल, तालाबन्दी, घेराबन्दी, थुनाइ, लाठीचार्ज, जोरजुलुम, जबर्जस्ती । हानाहान, कुटाकुट, लखेटाइ भागाभाग ।

घुस, भ्रष्टाचार, कमिशन, ढिला, सुस्तता, अस्तव्यस्तता, अलपत्रावस्था । अनुत्तरदायित्व, जिम्मेवारी विहीनता । मपाईंत्व, नातावाद, आफन्तवाद, कुलकुटुम्बवाद, दलपरस्तता, गुटपरस्तता । सबैतिर निराशा, आक्रोश, कुण्ठा, अहङ्कार, दम्भ, आरोपप्रत्यारोप मात्र । न ठूलाप्रति आदर, न आफूसरहप्रति सम्मान, न त सानाप्रति स्नेह । संवेदनशीलताको बिल्कुल अन्त्य ।

संवैधानिक आयोगमा राजनीतिक नियुक्तिमा किनबेच, योग्यताको तिरस्कार, अयोग्यताको खोजीखोजी पुरस्कार । एउटैलाई बारम्बार नियुक्ति, अर्काे हेरेको हेर्यै । नियुक्ति पाउनेमा सासूससुरा, सम्धीसम्धिनी, साढुदाइभाइ, छोराबुहारी, भतिजाभतिजी, भाञ्जाभाञ्जी, दिदीभिनाजु, सालासाली, काकाकाकी, मामामाइज्यू, दाजुभाइ, स्वकीय सचिव र उनका आफन्त । दलको मनोनयनमा पनि सकभर आफ्नै, नभए चाटुकार, हनुमान र गणेश । भागशान्ति जय नेपाल । नपाउनेले कति सहनू, कति अपमानित हुनू ।

मन्त्री घुस खाने, न्यायाधीश बिचौलिया पाल्ने, राजनीतिकर्मी–सांसद–वकिल बिचौलिया बन्ने । दल बदल्ने– मन्त्री खाने, सातसात दिनमा गुट फेर्ने, बोली फेर्ने, धम्क्याउने, जोरी खोज्ने, भाग खोज्ने । आशा चाहिँ केमा छ त ? आक्रोश पोख्न सामाजिक सञ्जाल छँदैछ, रमाइलो गर्न टिकटक । माइतीघर मण्डल, चोक, चौतारो, सडक, गल्ली सबैतिर कराउन, उफ्रिन पाइन्छ । अनलाइन न्युज पोर्टल खोलेर आधारहीन समाचार सम्प्रेषण गर्नु, हिलो छ्याप्नु, चरित्र हत्या गर्नु सामान्य भइसक्यो । आफ्नाको तारिफ, पराइको खेदो । अकबरको राज्यका विदूषकहरु यता बसाइँ सरेको धेरै भयो ।

पार्टीहरू फुटेपछिको रामरमिता झन् रोचक । माउले बाच्छा र बाच्छाले माउलाई गाली गर्दाको निःशुल्क मनोरञ्जनले मान्छेका पीडा खत्तमखलास । जुगजुगको कुरा ल्याउँदै, हँसाउँदै । जथाभावी गाली सुनेर स्रोतालाई पनि लाज लाग्ने । …लाई भन्दा देख्नेलाई लाज । जो अगुवा, उही बाटो …। माक्र्स, माओ, मनमोहन, मदन–वीपी, गणेशमान, कृष्णप्रसाद आफ्नो समतुल्यता दावी ।

कहाँको राजाराम, कहाँको गने भण्डारी । जयसिंह धामी तुइनबाट खसेको खस्यै, छिमेकीबाट न सहानुभूति र क्षमा, न क्षतिपूर्ति । चुच्चे नक्शा कागजमै, इपिजी रिपोर्ट ग्रहण गर्न छिमेकीलाई कहिल्यै साइत मिलेन । एमसीसी न अगाडि बढ्यो, न पछाडि धकेलियो, बेलायती गोर्खा सधैँ पीडित, भुटानी शरणार्थीलाई त बिर्सिसके । केरुङ–काठमाडौँ रेल कहाँ पुग्यो ? बीआरआईका प्रोेजेक्ट कता अलप भए ?

राम्रोसँग लागु हुन पाएको छैन, सङ्घीयता खारेज गर् पो भन्छन् एकथरि । धर्मनिरपेक्षताबारे जनमतसङ्ग्रह चाहियो रे अर्काथरिलाई । गणतन्त्र फापेन भन्नेहरूमा चुनाव जितेर राजतन्त्रलाई पुनःस्थापना गर्ने ताकत छैन । जाबो फोहर र धुलो हटाउने हुती छैन, राजनीति गर्छन् । न आउने भो मेट्रो रेल न गुड्ने भो मोनो रेल । ठूलाठालुले नेपालीलाई सपना कति देखाउन जानेका ? तिनलाई पनि जात्रामा रम्न, नाच्न र खान फुर्सद छैन ।
पाँच वर्ष पूरा नभई चुनाव हुने भो भनेर हल्ला गरिएका नेपालीलाई सधैँ चुनावको डर देखाइएको छ ।

पाँच वर्ष ढुक्कले चलोस् न संसद् र सरकार । अनि मजाले तिनको पाइन हेरेर भोट दिने काम गर्न पाइन्थ्यो । जीवनमा कति भोट हालियो, कति ? कहिले मध्यावधि भनिएको छ, कहिले अर्ली इलेक्शन । राजनीति गर्नेलाई पो चुनावको उत्सव, जनतालाई त घण्टौँ घाम वा पानीमा उभिनु त छ नि ।

खै नो भोटको जनताको माग ? संसद् नै बने पनि अध्यादेशले देश चल्ने ठाउँ पो हो यो । कानुन त प्रधानमन्त्रीका हातमा पो छ । संवैधानिक अङ्गमा जागीर खानु खुवाउनु छ, तैपनि सुनुवाइविना । देखिहाल्नुभो कस्ताकस्ता, नातैनाताका पदाधिकारी नियुक्त भए राजदूतदेखि आयोग, प्रतिष्ठानसम्म । भागबण्डाको चरम नमूना छर्लङ्ग देखियो ।

कसैलाई लुई १४औँ बिर्साउने गरी (म नै राज्य हुँ) अकण्टक सरकार चाहिएको छ, कसैलाई नेबर कम्फर्टेबल गभर्मेण्ट । रेगनले सरकार नै समस्या हो भनी त्यसै भनेका होइन रेछन् । देश गोविन्द केसी, कुलमान घिसिङ, सन्दुक रुइत, धुर्मुसे, ज्ञानेन्द्र शाही, सावित्री सुवेदीले चलाएको धेरै भइसक्यो ।

नेपालीलाई दरबार, तरबार, सरकार केही चाहिएको छैन, राम्रो घरबार चाहिएको छ, दाल, भात (ढिँडो, रोटी), तरकारी चाहिएको छ, ठिमठिम हिँड्ने बाटो चाहिएको छ, अनुहारमा हाँसो चाहिएको छ, बस् । नेपाली जनता, तिमी आफैँ राजनीतिमा आउन चाहन्नौ भने तुच्छहरुबाट जिन्दगीभर शासित हुने श्राप भोग्न तयार होऔं !

२०७८ भदौ १४

[email protected]

प्रतिक्रिया दिनुहोस्