Logo
Logo

स्मिता दाहालको हिन्दी गीत ‘इबादत’ टि-सिरिजमार्फत सार्वजनिक



काठमाडौं । नेपाली संगीत क्षेत्रमा छोटो समयमै आफूलाई कुशल गायिकाको रुपमा स्थापित गरेकी स्मिता दाहालले पहिलो पटक हिन्दी गीत गाएकी छन् ।

भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट शुक्रबार उनले गाएको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन् भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट शुक्रबार उनले गाएको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।

रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । गीतको भिडियोमा गायिका स्मिता आफैँ फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ । गीतले उनीहरुको एकअर्काप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्छ ।

भिडियोलाई राजीव एस. रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् । उनले ‘इबादत’ गीतको भिडियोलाई निकै आकर्षक बनाएका छन् । करीब ४ मिनेटको भिडियोमा मेकिङ उच्च देखिन्छ । गीतको भिडियोलाई पुनम यादवले निर्माण गरेकी हुन् । उनी नेपाली हुन् ।

गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन छिन् ।

निर्मात्री यादवले गीतमा निकै मोटो रकम खर्च भएको बताइन् । गीतको अडियो र भिडियो पक्ष अत्यन्त बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । उनी अब नेपाली गीत पनि निर्माण गर्ने सोचमा छन् ।

नेपाली राजनीतिमा समेत सक्रिय रहेकी निर्मात्री यादव भन्छिन्, ‘नेपालका प्रतिभावान कलाकारलाई विश्वमाझ चिनाउनका लागि म मनोरञ्जन क्षेत्रमा आएको हुँ । मैले पहिलो गीत नै हिन्दी बनाउनुको उद्देश्य पनि यही हो । अब म निरन्तर गीत निर्माण गर्नेछु र नेपाली कलाकारलाई अवसर दिनेछु ।’ उनी चाँडै नेपाली चलचित्र निर्माण गर्ने तयारीमा समेत रहेकी छन् ।

नेपाली संगीत क्षेत्र र चलचित्र क्षेत्रमा मधेशी समुदायको उपस्थिति उत्साहजनक छैन । झन् महिलाको सहभागिता त शुन्यझैँ छ । निर्मात्री पुनम यादवले मधेशी समुदायका महिलाहरुलाई उर्जा र हौसला दिन पनि आफू मनोरञ्जन क्षेत्रमा आएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्