Logo
Logo

तालिबानद्वारा पूर्व उपराष्ट्रपति सालेहको भाइको हत्या



काबुल । तालिबानले अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या गरेका छन् । सालेहको परिवारले समाचार संस्था रोयटर्सलाई सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको सूचना दिएको हो ।

सालेहका भतिजाले एउटा सन्देश पठाएर अजिजीको हत्या भएको जानकारी दिएका हुन् । रोयटर्सलाई पठाएको सन्देशमा उनले भनेका छन्, ‘तालिबानले हिजो उनको हत्या गरेका छन् । उनीहरुले हामीलाई अन्तिम संस्कार गर्न पनि दिएका छैन्न । उनीहरुले शव त्यसै सडोस् भनेका छन् ।’

तालिबान सूचना सेवाको उर्दू भाषाको एकाउन्टमा पंजशीर उपत्यकामा भएको संर्घषका बीच मारिएको बताइएको छ । कुनै समय पश्चिमा देशहरूको समर्थन प्राप्त गरेका उपराष्ट्रपति सालेहको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । तालिबानले भने पंजशीर उपत्यका पूर्ण रूपमा कब्जामा लिएपछि सालेह भागेको दाबी गर्दै आएको छ ।

अफगानिस्तानको नेसनल रेसिस्टेन्स फ्रन्टले तालिबानविरुद्ध केही दिन संघर्ष जारी राखे पनि हार बेहोर्‍यो । हारका बाबजुद फ्रन्टका नेता अहमद मसूदले राजधानी बजारकमा तालिबानविरुद्ध संघर्ष जारी राख्ने संकल्प गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्