Logo
Logo

नक्कली स्टिकरका अभियुक्त जोगाउँदै राजस्व



भैरहवा । करोडौंको राजस्व र अन्तशुल्क छल्ने उद्देश्यका साथ सीमा क्षेत्रमा भित्र्याइएको नक्कली स्टिकर बरामद भएको करिब १ महिनामा बल्ल राजस्व अनुसन्धान कार्यालय बुटवलले अनुसन्धानमा तत्परता देखाएको छ । तिलोत्तमा नगरपालिकास्थित क्रिष्टल बोटलर्सपछि राजस्व अनुसन्धान कार्यालयले तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेको माउण्ट एभरेष्ट डिष्टिलरी प्रालिलाई पनि अनुसन्धानको दायरामा तानेको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलले सो उद्योगमा चेकजाँच गरी उद्योगसँग सम्बन्धित कागजात र कम्प्युटर सिपीयु आफ्नो नियन्त्रणमा लिएको छ । माउण्ट एभरेष्ट डिष्टिलरी प्रालिमा पुगेको राजस्वको टोलीले सञ्चारकर्मीलाई भित्र प्रवेश निषेध गरेको थियो भने, यस विषयमा कुनै पनि प्रतिक्रिया दिन नमिल्ने भन्दै पन्छिएको समेत थियो ।

घटनाबारे सुरुमा क्रिष्टल डिष्टिलरीलाई जोगाउन सशस्त्र प्रहरी बल र राजस्व अनुसन्धान विभागले सुरुमा आलटाल गर्दै आएको भए पनि आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले यसमा अग्रसरता लिएपछि बल्ल बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख राजन बिसी अनुसन्धान गर्न बाध्य भएकोले यस घटनामा राजस्वका बिसीलाई पनि छानबिनमा ल्याउनुपर्छ । किनभने, आन्तरिक राजस्व कार्यालय भैरहवाले विभिन्न ठाउँमा छापा मार्दा क्रिष्टल डिष्टिलरीको मदिरामा नक्कली स्टिकर फेला परेको छ ।

राजस्व अनुसन्धान कार्यालयले केही नबोले पनि माउण्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक प्रविन्द्र गोविन्द श्रेष्ठले भने यसको पुष्टि गरेका छन् । उनले राजस्व अनुसन्धान कार्यालय बुटवलको टोली नक्कली स्टिकरको विषयमा अनुसन्धान गर्न र नियमित चेकजाँचको क्रममा उद्योगमा आएको बताए ।

‘अहिले बजारमा नक्कली स्टिकर घटना चर्चामा छ । यस बिषयमा अनुसन्धान हुनु स्वाभाविक हो ।’ श्रेष्ठले भने, ‘यसै विषयमा राजस्ज अनुसन्धान कार्यालयका कर्मचारीहरु उद्योगमा आएको थियो । हामीले सहयोग गर्दै सबै हिसाब किताब स्पष्ट पारेका छौं ।’ श्रेष्ठले थप अनुसन्धानको सिलसिलामा उद्योगका कागजपत्र र कम्प्युटर सिपियुसँगै लगेको बताए । ‘भोलि कार्यालय समयमा कार्यालयमै बोलाउनु भएको छ सम्भवतः भोली नै सबै स्पष्ट हुन्छ ।’ उनले भने । कागजपत्र र सिपियु फिर्ता नआए सम्म भने उद्योगको उत्पादन बन्द रहने उनले जानकारी दिए ।

रुपन्देहीमा भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहिया–डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो ।लु.२ च. २५० नम्बरको गाडीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए । शसस्त्र प्रहरी बल डण्डा बर्डर आउट पोष्टबाट शसस्त्र प्रहरी निरिक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल (प्रतिरोल ३ हजारका दरले जम्मा २ लाख ४० हजार) बरामद गरेको थियो ।

बरामद गरेर राजस्व कार्यालय बुटवलमा बुझाए पनि अनुसन्धानका लागि कार्यालयले चासो दिएको थिएन । मदिरा उद्योगमा आन्तरिक राजस्व कार्यालयको ईकाइ कार्यालय राखेर एकजना कर्मचारी नै खटाउने व्यवस्था छ । कर्मचारीकै प्रत्यक्ष निर्देशनमा अन्तशुल्कका स्टिकर टाँस्ने र निकासीका लागि राजस्व तिरेर आएपछि सोही कर्मचारीको रोहवरमा उत्पादित मदिरा बजारमा पठाउने कानुनी व्यवस्था छ ।
आन्तरिक राजस्व कार्यालयका कर्मचारीको मिलोमतो विना उद्योगले नक्कली स्टिकर र नक्कली मदिरा बनाउन सम्भव नहुने जानकारहरु बताउँछन् । समाचार स्रोतका अनुसार क्रिष्टल डिष्टिलरीका मालिक फुलसिंह क्षेत्री नक्कली स्टिकर प्रकरणमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्