Logo
Logo

राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीबाट संविधानमाथि हमला भयो : पूर्वराष्ट्रपति डा. यादव



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारी र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानमाथि सबैभन्दा बढी हमला भएको बताएका छन् ।

संविधानको रक्षा एवं संरक्षणका लागि मिडिया, नागरिक समाज, चेतनशील नेपाली नागरिक, बुद्धिजीवी लगायतका सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले संविधानमाथि सबैभन्दा बढी राष्ट्रपति भण्डारी र एमाले अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री ओलीबाट नै हमला भएको जनाएका छन् ।

इकान्तिपुर डट कमसँगको अन्तर्वार्तामा पूर्वराष्ट्रपति यादवले सबैभन्दा बढी कार्यपालिका प्रमुखबाट नै संविधानमाथि आक्रमण भएको बताएका हुन् ।
‘कार्यपालिका प्रमुखबाट भयो । त्यसमा सम्माननीय राष्ट्रपतिजीको पनि मिलेमतो देखियो  । उहाँले कार्यकारीलाई सहज ढंगले भन्न सक्नुहुन्थ्यो कि तपाईंलाई सरकार चलाउन सहज छ, दुईतिहाइ नजिक मत छ, पार्टीको झगडा मिलाउनुस् तर त्यसलाई कारण बनाएर संसद् विघटन नगर्नुस्  । हामीले संविधानले व्यवस्था गरेबमोजिम पाँच वर्षसम्म अभ्यास त गर्नुपर्यो नि  । सारा संवैधानिक अंगलाई निष्कृया बनाउने, आफ्ना खल्तीका मान्छे राख्ने गर्न थालियो  । संविधानको परिकल्पना यस्तो छैन्’ उनले भने ।

सबै निकायमा सक्षम, निष्पक्ष, तटस्थ र नयाँ सोंच भएका व्यक्तिहरूको चयन हुनुपर्ने बताउँदै उनले कार्यपालिकाले जुन काम गर्छ त्यसमा त्रुटि छ भने संसदप्रति जिम्मेवार हुनुपर्ने बताए ।

‘प्रतिनिधिसभाले बनाएका कानुनमा कमीकमजोरी भए त्यसलाई अदालतले हेर्ने व्यवस्था रहेको छ । सबै अंगका आ–आफ्ना खेलका नियम छन्, त्यही परिधिभित्र बसेर खेल्नुपर्छ  । तत्कालीन प्रधानमन्त्री ओलीजीले आफ्नो परिधि नाघ्नुभएकाले अप्ठ्यारो अवस्था सिर्जना हुन पुग्यो  । विगतमा राजाले संविधानको सीमा नाघेर मन्त्रिपरिषद्को अध्यक्ष भएर आफैं शासन प्रशासन चलाउन थाल्दा समस्या आएको थियो’ उनले भने ।
संविधानमाथि सबैभन्दा बढी हमलाचाहिँ तत्कालीन प्रधानमन्त्री ओलीबाटै भएको बताउँदै उनले भने, ‘ओलीजीले सारा निकायलाई कब्जा गर्दै अन्त्यमा जनताको सर्वोच्च संस्था नै भंग गरिदिनुभयो, त्यो पनि विवादरहित हुनुपर्ने जनताको सर्वोच्च संस्था राष्ट्रपति संस्थासित मिलेर  । त्यसो भएपछि अदालत र चेतनशील नेपाली जनताको आवाज मात्र बाँकी रह्यो । यसले गर्दा नै संविधान फेरि आफ्नो अवस्थामा आएको छ ।’

संविधान जस्तोसुकै बनाए पनि त्यसलाई कार्यान्वयन गर्नेहरू सुपात्र हुनुपर्ने बताउँदै उनले संविधान कार्यान्वयन गर्ने ठाउँमा पुगेकाहरू असल नहुँदा समस्या आएको बताए ।

अहिले हाम्रो संविधानमाथि कोबाट बढी ‘थ्रेट’ देख्नुहुन्छ ? भन्ने कान्तिपुरको प्रश्नमा पूर्व राष्ट्रपति यादवले भने–

‘जब कुपात्रहरू अगाडि आउँछन् अनि ‘थ्रेट’ हुन्छ  । हामीले लोकतान्त्रिक संसदीय पद्धतिअनुसारको संविधान बनाएका छौं  । शक्तिको स्रोत संविधानमा छ  । यसमा राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलनको व्यवस्था गरेका छौं  । राष्ट्रपतिको संस्था खडा गरेका छौं  । संविधान, कानुनअनुसार संवैधानिक निकायहरूको व्यवस्था गरेका छौं  । कर्मचारीतन्त्रको व्यवस्था छ  । तर यी संस्थाहरूबीच जुन तरिकाले लोकतान्त्रिक खेल हुनुपर्थ्यो त्यसअनुरूप हुन सकेन् ।’

पूर्वराष्ट्रपति डा. यादवले भने, ‘लोकतान्त्रिक पद्धति विरोधी खेलहरू भए  । प्रतिनिधिसभा भंग गरिदिने अनि अध्यादेश ल्याएर शासन गर्ने काम भए  । यो पद्धतिले जति समस्या आए पनि त्यसको समाधानका लागि जननिर्वाचित संस्था संसदमा छलफल गरेर समाधान निकाल भन्ने निर्देश गरेको छ । त्यसैले सरकार र प्रतिपक्षी दलहरूबीच सहज वातावरण बनाउँदै छलफलबाट मुलुक सामुन्ने आएका समस्यालाई समाधान गर्न सकिन्छ ।’

सर्वोच्च अदालतको फैसलापछि जनतामा कोर्स करेक्सन भयो अब ठीक हुन्छ भन्ने सोच बनेको थियो तर मुलुक त्यसप्रकारले अगाडि नबढेको निष्कर्ष उनको छ । न सरकारले काम गरिरहेको छ, न सत्ता साझेदार शक्तिहरू यसमा जिम्मेवार देखिए भन्दै उने भने– ‘अब यो प्रणालीलाई जोगाउने पहिलो दायित्व सत्ता साझेदार दलहरूकै हो ।’

नेपाली जनतालाई साथ लिएर लोकतन्त्रलाई प्रतिगमनबाट बचाउन सफल राजनीतिक दलद्धारा बनेको गठबन्धनको सरकार कछुवाको तालमा हिडेको भन्दै पुर्व राष्ट्रपति यादवले असन्तुष्टी जनाए ।

प्रतिनिधिसभामा भइरहेको पछिल्लो घटनाप्रति टिप्पणी गर्दै उनले भने, ‘संघीय संसदमा यस्तो भयो भने, प्रादेशिक संसमा पनि यसको असर पर्छ  । गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधिले यस्तै सिक्छन् । सारातिर अराजकता सिर्जना हुन सक्छ  । पहिले पनि संसद्बाट बजेट ल्याउने बेला अर्थमन्त्रीको ब्रिफकेस खोस्ने काम गरियो  । अहिले बजेट नै ल्याउन दिइएन  । यस्तो विकृतिले जनतामा वितृष्णा बढ्छ  । व्यवस्थाविरोधी परम्परावादी शक्तिहरूले टाउको उठाउँन सक्छन्  । अहिले जनता निराश छन्  । म पनि कहीं न कहीं निराश छु  । मैले त यो संविधान सदियौंसम्म चल्छ भन्ने सोचिरहेको छु । तर यसका पक्षधर पात्रहरूले होसियार हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्