Logo
Logo

अनुसन्धान विभागबाट प्रहरीमा आएबाट संगठन बदनाम



काठमाडौं ।
– मोटरसाइकलमा लागुऔषध राखेर पत्रकारलाई फसाउने प्रयास गरेको षड्यन्त्र खुलेपछि रौतहका एसपी सिद्धिबिक्रम शाहमाथि प्रहरी प्रधान कार्यालयको छानबिन ।
– काठ तस्करलाई पक्राउ गरेर कारबाही नगरी छाडेको खुलेपछि एसपी ओमबहादुर रानामाथि छानबिन समितिद्वारा कारबाही सिफारिस ।
– बाँकेका एसपी श्यामकृष्ण अधिकारीद्वारा क्यासिनो खुलाउनेदेखि तस्करी लाइन खुलाएको विषयमा प्रहरी प्रधान कार्यालयद्वारा छानबिन जारी ।

पछिल्लो समय नेपाल प्रहरीलाई बदनाम गराउने केही प्रतिनिधि घटना हुन् यी । तीनै घटनामा प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । यी घटनाको रमाइलो संयोग के छ भने– छानबिनमा तानिएका तीनै एसपी चलखेलबाट सरुवा, बढुवा भएका अधिकृत हुन् । २०५८ सालको पुस २५ गते राष्ट्रिय अनुसन्धान विभागबाट उनीहरुलाई नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो । २० वर्षअघिको त्यो राजनीतिक हस्तक्षेपको असर वर्षाैसम्म नेपाल प्रहरीमा देखिएको छ । त्यसरी भित्र्याइएका धेरैजसो अधिकृत आफू बदनाम मात्र भएका छैनन्, प्रहरी संगठनलाई बदनाम बनाएका छन् ।

एक सुरक्षा निकायबाट अर्काे सुरक्षा निकायमा त्यसरी स्थानान्तरणको कुनै प्रावधान नै नभएको अवस्थामा राजनीतिक लविङबाट मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरु त्यसरी नेपाल प्रहरीमा सारिएका थिए । तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काकोे जोडमा उनीहरुलाई नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो । जसको पीडा अहिलेसम्म नेपाल प्रहरीले भोगिरहेको छ । यी तीन जना पात्र मात्र होइन स्थानान्तरण भएका सबैजसो अधिकृत कारबाहीमा परेका छन् ।

२५ पुस २०५८ को मन्त्रिपरिषद्को निर्णयका आधारमा राअविका ४६ जना कर्मचारीलाई नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो । खासगरी त्यतिबेला राजनीतिक नेतृत्वसँग पहुँच भएका तथा चलखेल गर्नेहरुको सामूहिक चलखेलको परिणाम थियो त्यो स्थानान्तरण । जसको प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा प्रहरी संगठनले ठूलो मूल्य चुकाउनु परेको प्रहरी अधिकारी बताउँछन् । त्यतिबेला ३० इन्सपेक्टर, ४ सई, ८ असई, ३ हवल्दार एक जवानको राअविबाट नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो ।

पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले आफ्नो आत्मकथामा आफ्नै कार्यकालमा उनीहरुलाई स्थानान्तरणका लागि दबाब आएपनि आफूले अस्वीकार गरेको लेखेका छन् । खरेलपछिका महानिरीक्षक प्रदीपशमशेर राणाले त्यसमा सहमति दिएपछि प्रहरी इतिहासमा एउटा ठूलो हस्तक्षेप भित्रिएको थियो । प्रशासन विभागका तत्कालिन प्रमुख एआईजी अनन्तराम भट्टराईले उनीहरुलाई हाजिर हुनै दिएका थिएनन् । पछि प्रधानमन्त्रीकै दबाबपछि हाजिर गराएर जिम्मेवारी दिइएको थियो ।

स्रोतका अनुसार सिङ्गो प्रहरी नेतृत्व त्यतिबेला पनि गृह मन्त्रालयको प्रस्तावको विरोधमै थियो । संयोग कस्तो भने त्यतिबेला पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए । अहिले पनि उनै छन् । त्यतीबेला उनको मन्त्रिपरिषद्ले गरेको निर्णय गलत रहेको अहिले पुष्टि भएको छ ।
स्थानान्तरणविरुद्ध नेपाल प्रहरीको इन्सपेक्टरको ११२ र ११३ औं टोलीले सर्वाेच्चमा मुद्दासमेत हालेका थिए ।

सो निर्णयले आफूहरुको ‘करिअर’मा ठूलो असर पर्ने भन्दै मुद्दा हालेपनि ‘राअवि’ टोलीकै पक्षमा सर्वाेच्चले फैसला गरिदियो । उनीहरुका कारण प्रहरीका ११२ र ११३ टोलीको करिअरमै असर परेको छ । राजनीतिक पहुँच र पैसा भएकाले उनीहरुले नै बढुवा र सरुवामा हालिमुहाली जमाउने गरेका छन् ।

सबै जसो कारबाहीमा
सोही टोलीका दुई एसपी गत वर्ष निलम्बनमा परेका थिए । प्रदेश प्रहरी कार्यालय सुर्खेतमा रहँदा संगठित रुपमा भ्रष्टाचार गरेको खुलेपछि एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवलाई निलम्बन गरी पछि पाँच वर्ष बढुवा रोक्का गरिएको थियो ।

स्थानान्तरण भएका धेरैजसो अधिकृतहरु कार्यक्षमतामा कमजोर मात्र होइन पटक–पटक कारबाही भोगेका छन् । हाल एसपी रहेका योगबहादुर पाल त्यसरी स्थानान्तरण हुनेमध्ये एक हुन् । जसले सुरुमा नेपाल प्रहरीको इन्सपेक्टरमा फारम भरेका थिए । परीक्षामा असफल भएपछि राजनीतिक पावरका आधारमा राअबिमा भर्ना भएर पछि चलखेलका आधारमा नेपाल प्रहरीमा स्थानान्तरण हुन सफल भएका थिए ।

बौद्ध वृत्तमा हुँदा कारबाहीमा परेका उनी पछि सोलुखुम्बुमा हुँदा आचरणसम्बन्धि गम्भीर घटना बाहिरिएपछि सरुवा भएका थिए । सोही टोलीका वामदेव गौतम दरबारमार्ग प्रभागमा प्रमुख हुँदा घुस लिएको प्रकरणमा कारबाहीमा परे । तर, सामान्य कारबाही गरेर गौतमलाई जोगाइएको थियो । उनी नेकपा नेता वामदेव गौतमका भतिज पर्छन् ।

संजीव शर्मा दास रामेछापमा हुँदा बालिका सुन्तली तामाङको बलात्कारपछि हत्या घटनाका अभियुक्तलाई जोगाएको प्रहरीकै छानबिनमा खुलेको थियो । तर, उनीमाथि पनि कारबाही हुन सकेन । बरु, नेताहरुको दबाबकै भरमा उनी एसपीमा बढुवा भए । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले उनलाई निलम्बन गरे पनि पहुँचको भरमा उनको बढुवा रोकिएन ।

राअबिबाटै आएका विश्वराज खड्का (हाल डीएसपी) जहाँ पनि विवादमा पर्ने गर्दछन् । आर्थिक चलखेलमा संलग्न देखिएपछि गत वर्ष उनलाई इलाका प्रहरी कार्यालय गजुरीबाट सरुवा गरिएको थियो । ललितपुर परिसरमा हुँदा पनि उनी घुसकाण्डमा मुछिएका थिए । सो टोलीका केदार खनाल महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा हुँदा निलम्बनमा परेका थिए । डिउटीको समयमा मदिरामा मस्त अवस्थामा फेला पारेपछि काठमाडौंका तत्कालिन एसएसपी रमेश खरेलले उनलाई थुनामै राखेका थिए ।

सो टोलीका अर्का शक्तिशाली अधिकृत हुन्, ओमबहादुर राना । रसुवामा कार्यरत रहँदा रक्तचन्दन तस्करीमा सहयोग गरेको घटनामा दोषी देखिएका थिए । सो घटनामा सेनाका कर्णेल बर्खास्त भएका थिए । उनलाई भने राजनीतिक दबाबकै भरमा सामान्य कारबाही गरेर उन्मुक्ति दिइयो । त्यसअघि बौद्ध वृत्तमा हुँदा पाकेटमारसँग उनले पैसा असुलेको पुष्टि हुँदा पनि कारबाहीबाट जोगाइएको थियो । त्यसपछि बाँके गएकोमा त्यहाँ अनेक काण्डमा मुछिए । काठ तस्करलाई पक्राउ गरेर भगाएको घटनामा दोषी देखिएपछि उनलाई कारबाही गर्न सिफारिस भएको छ ।

एसपी डम्बर विक पनि कमजोर कमाण्ड क्षमताका कारण धादिङबाट तानिएका थिए । हाल बाँकेका एसपी रहेका श्यामकृष्ण अधिकारी यसअघि विभिन्न कार्यालयमा हुँदा अनियमिततामा मुछिए पनि कारबाहीबाट जोगिएका अधिकृत हुन् । शारदा, जयराज सापकोटा, बिनोद घिमिरे पनि कमजोर कार्यक्षमता भएका प्रहरी मानिन्छन् ।

राजनीतिक नेतृत्वसँग पहुँच हुने भएकाले प्रहरीमै भर्ना भएका अधिकारीहरु भन्दा उनीहरुको छिटो बढुवा हुने र सरुवामा उनीहरुले प्राथमिकता पाउने गरेका छन् । अप्रत्यक्ष रुपमा यो निर्णयले धेरै प्रहरीको करिअरमा असर परेको प्रहरी अधिकारीहरु बताउँछन् । ‘उनीहरु आफैं बदनाम त भए नै’ एक डिआईजी भन्छन्, ‘सिंगो संगठनलाई नै पटक–पटक बदनाम बनाएका छन्, ट्राफिकको पछिल्लो घुसकाण्ड एउटा उदारण मात्र हो ।’ राजनीतिक दलसँग बढी निकट हुने भएकाले उनीहरुको पुलिसिङ पनि तुलनात्मक रुपमा पक्षपाती हुने गरेको छ ।

सोही ब्याचका सुशीलसिंह राठौर, टिकाबहादुर केसी, सुरेन्द्र गुरुङ, सिद्धिबिक्रम शाह पनि राजनीतिक पावरकै आधारमा बढुवा हुने अधिकृतहरु हुन् । प्रहरीको प्रबन्ध शाखामा समेत बसेका शाहले करोडौैंको सम्पत्ति जोडिसकेको प्रहरी स्रोत बताउँछ । देउवा सरकारकै पालामा प्रहरीमा आएका उनीहरु अहिले देउवा नै प्रधानमन्त्री हुँदा उनीहरु उत्साहित भएका छन् । सबै जसो काँग्रेस नेताहरुसँग राम्रो सम्बन्ध भएकाले कारबाहीबाट जोगिन उनीहरुले काँग्रेस नेतामार्फत दबाब दिइरहेका छन् ।

को–को स्थानान्तरण भए ?
इन्सपेक्टरमा स्थानान्तरण भएकाहरु :
योगबहादुर पाल, श्यामकृष्ण अधिकारी, हिमालय श्रेष्ठ, माधवप्रसाद श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी, डम्बरबहादुर विक, बसन्त लम्साल रहेको छन् । त्यस्तै, सुरेन्द गुरुङ, सिद्धिबिक्रम शाह, दिलिपसिंह देउवा, मनोजकुमार यादव, संजीव शर्मा दास, प्रकाशराज शर्मा, राजेन्द्रसिंह खड्का छन् ।

त्यसैगरी, विश्वराज खड्का, माधवप्रसाद बुढाथोकी, जयराम सापकोटा, विनोद घिमिरे, दीपककुमार बस्नेत, बहादुरजंग मल्ल, रामप्रकाश साह, टीकाबहादुर केसी, विमल बस्नेत, रामेश्वरप्रसाद यादव, ओमबहादुर राना, सुशीलसिंह राठौर, केदार खनाल, वामदेव गौतम, दीपेन्द्र जिसी र शारदाप्रसाद चौधरी रहेका छन् ।

सइमा स्थानान्तरण भएकाहरुः दामोदार केसी, विश्वजित गौतम, सुशीलकुमार खरेल र आवेस गौतम ।

असईमा स्थानान्तरण भएकाहरुः उमेश यादब, मनोज पौडेल, नरेशजंग कार्की, हरिबहादुर बस्नेत पुनम कुमार चौधरी, रविन्द्रराज पाण्डे र हरिबहादुर ओली ।

हवल्दारमा स्थानान्तरण भएकाहरुः हिरा अवस्थी, बालकुमार बस्नेत, हिरालाल बस्नेत ।

स्थानान्तरण भएका जवानः प्रदीपप्रसाद चौधरी

प्रतिक्रिया दिनुहोस्