Logo
Logo

संखुवासभा हत्याकाण्ड : एउटा परिवारको हत्यामा अर्को परिवारै संलग्न



विराटनगर । संखुवासभाको मादीमा भदौ २१ मा भएको सामूहिक हत्याकाण्ड अन्ततः सामूहिक प्रयासमै भएको पाइएको छ, जहाँ एउटा परिवार सिध्याउन अर्को परिवारै संलग्न रहेको पाइएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा थप चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेपछि यो तथ्य बाहिर आएको हो । एकै परिवारका ६ जनाको हत्या लोकबहादुर कार्कीले मात्रै गराएको निष्कर्षसहित प्रहरीले भदौ २७ गते उनलाई सार्वजनिक गरेको थियो । धेरैले त्यतिबेलै प्रहरीको दाबीमाथि आशंका गरेका थिए, ‘एक्लैले ६ जनाको हत्या सम्भव छ ?’ तर प्रहरीले भन्यो, ‘मानसिक रुपमा अस्वस्थ व्यक्तिले एक्लै यस्तो घटना गराउन सक्छ ।’

लोकबहादुर अस्वस्थ हुन् । उनीबाहेक अन्यको संलग्नता नभएको दाबी प्रहरीले गर्यो । त्यसैले प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीको टोली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली र संघीय प्रहरी इकाई धरानको टोलीले लोकबहादुर एक्लैले चिर्पटले हानेर ६ जनाकै हत्या गरेको निष्कर्ष निकाल्यो । र, अनुसन्धान सकिएको भन्दै फर्कियो ।

राम्रो अनुसन्धान गरेको भन्दै डीआईजी बिसीलगायत ५ जनालाई प्रहरी महानिरीक्षक शैलेश थापाले नगदसहित पुरस्कृत पनि गरे । तर, आईजीपीले स्याबासी दिएका प्रहरीहरुको अनुसन्धान कच्चा रहेको तब खुल्यो, जब लोकबहादुरका भाइ नरेशले मृतक रन्जनाको मोबाइलमा आफ्नो सिम हालेर चलाउन थाले ।

संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी भन्छन्, ‘एकपछि अर्को क्लु फेला पर्न थाले । जसले लोकबहादुर एक्लैले हत्या गरेको होइन भन्नेतर्फ हामीलाई डोहो¥यायो ।’ डीएसपी सुवेदीका अनुसार पोस्टमार्टम रिपोर्टका दुई तथ्य र मोबाइल नभेटिएका कारणले प्रहरीले मादी घटनामा पुनः अनुसन्धान गरेको थियो ।

इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको नेतृत्वमा १० जनाको टोलीले घटनास्थल छाडेको थिएन । ‘घटनापछि गाउँले त्रसित थिए । प्रोटेक्सन गर्नका लागि प्रहरी टोली गाउँमै थियो । मोबाइल नभेटिँदा थोरै भए पनि शंका त बाँकी थियो,’ डीएसपी सुवेदी भन्छन्, ‘पोस्टमार्टम रिपोर्टले थप शंका गर्नुपर्ने ठाउँ दियो ।’

८ वर्षीय दीपेन र ५ वर्षीया गोमाको हत्याको कारणमध्ये नाकमुख बन्द गरेर भएको पोस्टमार्टम रिपोर्ट आयो । लोकबहादुरले एक्लै चिर्पटले सबैको हत्या गरेको बताएका थिए । प्रहरीले पनि २७ गते पत्रकार सम्मेलनमा त्यही सुनाएको थियो । तर, पोस्टमार्टम रिपोर्टमा धारिलो हतियार पनि प्रयोग गरेको उल्लेख भयो । यी रिपोर्ट र मोबाइलका कारण प्रहरी फेरि मादी घटनाको अनुसन्धानमा केन्द्रित भएको डीएसपी सुवेदी बताउँछन् ।

हराएको मोबाइल प्रहरीको निगरानीमा थियो । लोकबहादुरका भाइ नरेशले आफ्नो सिम लगाएर प्रयोग गर्न थालेपछि पत्ता लाग्यो । त्यसपछि नरेशमाथि प्रहरीले निगरानी बढायो र नियन्त्रणमा लिएर सोधपुछ गर्न थाल्यो । गाउँका अरुमाथि पनि पुनः सोधपुछ सुरु भयो । त्यसपछि घटनाका थप तथ्य खुल्दै गए ।

लोकबहादुरको परिवारमा पहिल्यै सल्लाह भएको रहेछ, ‘प्रहरीले कसैलाई पक्रियो भने अरुको संलग्नता नखुलाउने ।’ पक्राउ परेपछि लोकबहादुरले एक्लै हत्या गरेको बताए । बाबु, भाइ, काका र काकाको छोराको संलग्नताबारे बोलेनन् । तर, मुख्य योजनाकार नै उनका काका रहेछन् । घटनाको अघिल्लो रात योजना बनेको रहेछ ।

लोकबहादुरका काका ४७ वर्षीय खड्गबहादुर कार्की मुख्य योजनाकार रहेको र खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुरका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीको पनि संलग्नता रहेको भन्दै उनीहरुलाई सोमबार सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार घटनाको अघिल्लो साँझ ८ बजे लोकबहादुरकै घरमा योजना बनेको थियो । भोलिपल्ट तेजबहादुरको घरमा उनीहरु खेताला जाने सल्लाह भयो । घटना भएको दिन बिहान पनि तेजबहादुरलाई लोकबहादुरको घरमा खड्गबहादुरले नै पठाएको खुलेको छ ।

सोही योजनाअनुसार तेजबहादुर लोकबहादुरलाई खेताला निश्चित गर्न गएको र योजनाअनुसार नै उनीहरुले हत्या गरेको पाइएको संखुवासभा प्रहरी बताउँछ । ‘ज–जसले देख्छन् उनीहरुको हत्या गर्ने र मिलेसम्म तेजबहादुरको घरको धनमाल समेत चोरी गर्ने उनीहरुको योजना रहेछ,’ डीएसपी सुवेदी भन्छन्, ‘लोकबहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु भनेर पठाएछन्, अनि हत्या गरेछन् ।’

खड्गबहादुर र हस्तबहादुर घरपछाडि चिर्पट बोकी तयारी हालतमा बसे । लोकबहादुरलाई उठाएर खेताला निश्चित गरेर तेजबहादुर फर्किंदै गर्दा सुरुमा लोकबहादुरले प्रहार गरेको र पछि उनीहरुले पनि चिर्पट प्रहार गरेको प्रहरी बताउँछ । हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाएर बाटोमा झारे । तेजबहादुरले ‘लोकेले मार्यो मलाई’ भन्दै हार गुहार गरेपछि उनकी पत्नी कमला र बुहारी रन्जना पनि गए ।

लोकबहादुरले कमलालाई चिर्पटले हानेको र हस्तबहादुरले घाँटीमा चक्कु प्रहार गरेको प्रहरी बताउँछ । रन्जनालाई नरेशले धकेलेर खोल्सामा झारेको र हत्यापछि रणबहादुर र नरेशले कमलाको लास भएको स्थानसम्म पुर्याएकाे पाइएको छ । खड्गबहादुरले रक्सी खाएर परिवारमाथि कुटपिट गर्दा तेजबहादुरले गाली गरेका कारण हत्या गरेको उनीहरुले बताएका छन् ।

त्यतिबेला उनले तेजबहादुरलाई मार्छु भन्ने गरेका थिए । नरेशलाई तँ डुँडे काम नलाग्ने भइस् भन्ने, रणबहादुरलाई समेत तँ लठेब्रो केही गर्न सक्दैनस् भन्ने गरेको र जहिले पनि हेपेको भन्दै आफूहरुले हत्या गर्ने योजना बताएको उनीहरुले प्रहरीलाई बताएका छन् । धनी भएर फूर्ति दिएको भन्दै इखले हत्या गरेको उनीहरुले बताएको प्रहरीको भनाइ छ ।

यो समाचार विराटनगरबाट प्रकाशित हाम्रो मतबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्