Logo
Logo

एमालेमा १६ पदाधिकारी प्रस्तावः आलोचना भएपछि पुरानै मोडल



काठमाडौं । नेकपा एमालेले आउँदो दसौं महाधिवेशनका लागि १६ पदाधिकारीसहित ३५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गरेको छ । दुई दिन चलेको स्थायी कमिटी बैठकमा प्रस्तुत विधान मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

सुरुमा १४ पदाधिकारी प्रस्ताव गरिए पनि छलफलका क्रममा दुई थपेर १६ बनाइएको हो । ‘मस्यौदामा तीन उपाध्यक्षको प्रस्ताव गरिएको थियो, पछि पाँच बनाउने सहमति बनेको छ,’ स्रोतले भन्यो । मस्यौदामा अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुनुपर्ने उल्लेख छ ।

नवौं महाधिवेशनमा पनि सोही व्यवस्था थियो। मस्यौदामा बढीमा ३५ सदस्यीय स्थायी कमिटी गठन गर्ने व्यवस्था गरिएको छ भने पोलिटब्युरो हटाइएको छ । त्यस्तै नेकपाकालीन संरचनामा पनि जोड दिइएको छ । अध्यक्षको संयोजकत्वमा सात सदस्यीय सचिवालय र कार्यालय व्यवस्थापनका लागि महासचिवको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने प्रस्ताव पनि गरिएको छ ।

यसअघि अध्यक्षबाहेकका पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनयन गर्ने व्यवस्थासहितको प्रस्ताव ल्याइएपछि बैठकमा त्यसको आलोचना भएको थियो । प्रचार विभाग प्रमुख योगेश भट्टराईले पछिल्लोपटक आएको विधान संशोधन नवौं महाधिवेशनकै निरन्तरता भएको बताए । ‘अहिले आएको विधान मस्यौदा पनि नवौं राष्ट्रिय महाधिवेशनकै निरन्तरता हो ।

संघीयताअनुसारको विधान पनि आएको छ । अहिले सबै पदाधिकारी हलबाट निर्वाचित हुने प्रस्ताव छ,’ प्रचार विभाग प्रमुख भट्टराईले भने । उपाध्यक्ष तीनजनामात्रै रहने व्यवस्था गरिएकोमा अहिले आएको मस्यौदामा थपेर पाँच बनाइएको छ । यसअघि सात उपाध्यक्ष रहने प्रस्ताव गरिएको थियो । तर त्यसलाई घटाएर तीन बनाइयो भने छलफलका क्रममा पाँच बनाइएको हो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्