Logo
Logo

नतिजा रोक्दा आयोगका ३० हजार परीक्षार्थी तनावमा



काठमाडौं । सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न पदमा लोकसेवा आयोगका विभिन्न चरणका परीक्षा पूरा गरेका करिब ३० हजार परीक्षार्थी तनावमा परेका छन् ।

२०७६ चैतयता आयोगले खुलाएका विज्ञापनमा विभिन्न चरणमा परीक्षा दिएका विद्यार्थीको परीक्षाको परिणाम स्थगित गरिएको छ । यसबाट परिणाम पर्खेर बसेका परीक्षार्थी अन्योलमा परेका हुन् ।

गत भदौ १५ गतेसम्म आयोगले खुलाएका सबै चरणका परीक्षा पूरा गरेर अन्तिम नतिजा पर्खेका प्रशासन समूहका शाखा अधिकृत समूहका छ सय ३१ परीक्षार्थीले सोमबारदेखि तीन दिनसम्म काठमाडौंको लोकसेवा आयोगको केन्द्रीय कार्यालयअगाडि र माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । धर्नाबाट पनि परिणाम आएन भने अनशनमा बस्ने सम्भावना रहेको परीक्षार्थी सुदीप सापकोटाले बताए ।

आयोगका प्रवक्ता तोयानारायण सुवेदीले भने सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न चरणका परीक्षाका परिणाम स्थगन गर्नुपरेको बताए । उनका अनुसार शाखा अधिृकत, नायब सुब्बा, उपसचिव, इञ्जिनियर, विद्यालय निरीक्षकलगायतका विभिन्न पदमा एक हजारभन्दा बढी दरबन्दीमा परीक्षाको नतिजा रोकिएको छ ।

‘यसबाट विभिन्न पदमा विभिन्न चरणको परीक्षा पूरा गरेका करिब ३० हजार परीक्षार्थीको परीक्षा स्थगन गरिएको छ,’ सुवेदीले भने, ‘यो हाम्रो कारणले होइन । सर्वोच्चले तत्काल पदपूर्ति प्रक्रिया स्थगन गर भन्ने अन्तिम आदेश दिएको छ । यस्तो आदेश आएपछि हामीले परीक्षा अघि बढाउन सक्दैनौँ ।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्