Logo
Logo

आज कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा वडा अधिवेशन



काठमाडौं । नेपाली कांग्रेसको आज काठमाडौंसहित सात जिल्लामा वडा अधिवेशन हुँदै छ । आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।

भदौ १८ देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो ।

बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भने पनि तीमध्ये १३ जिल्लामा अधिवेशन हुन सकेको छैन ।

क्रियाशील सदस्यताको सूची नै सार्वजनिक नहुँदा प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अन्यौलमा परेको छ ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा आउन बाँकी नै छ । क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्यौलमा परेको हो ।

आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ । मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ ।

सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै रिट दिएको हो । अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गर्दै थापा पक्षधरले उच्च अदालत मोरङमा सोमबार रिट दिएका छन् ।

समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ मा गर्ने भनेको गाउँरनगर अधिवेशन प्रभावित हुने भएको छ। वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ, नगर अधिवेशनका मतदाता हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्