Logo
Logo

अख्तियार छानबिन गर्ने, देउवा पुरस्कार दिने



काठमाडौं । रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालय भवन निर्माणमा व्यापक भ्रष्टाचार भएको छ । उक्त भवन निर्माण भएको एक वर्ष पनि नबित्दै पानी चुहिन थालेको छ । वर्षाको पानीलाई भवनले थेग्न नसक्दा कार्यालय कोठा जलमग्न भएको छ । एकातर्फ पानी चुहिने अर्काेतर्फ भवनको अन्डरग्राउन्ड पार्किङ पोखरीमा परिणत हुने अवस्था आएको छ ।

त्यो कुरा सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थलगत अनुगमन गरेर छानबिन थाल्यो । करिब ९० करोडको लागतमा बनेको सो भवन निर्माणमा कमसल सामाग्री र गलत डिजाइनका कारण यस्तो अवस्था आएको अख्तियारको प्रारम्भिक निष्कर्ष छ ।

अचम्म के भने त्यसरी आयोगले छानबिन थालेको केही दिनमैै सो भवन बनाउने ठेकदारलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् । समानान्तर निर्माण सेवाका सञ्चालक ठेकदार अच्युत खरेललाई देउवाले गत साता पुरस्कृत गरेका छन् । ललितपुरको एक स्कुल भवन समयमै निर्माण गरेको भन्दै प्रधानमन्त्री देउवा आफैंले त्यसरी पुरस्कृत गरेका हुन् । अख्तियारको छानबिनमा रहेका व्यक्तिलाई प्रधानमन्त्रीले नै पुरस्कृत गरेपछि महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले पनि अचम्म मानेका छन् ।

सरकारका ठूला ठेक्कामा समानान्तर निर्माण सेवाले सेटिङमा कब्जा जमाउँदै आएको छ । सर्वाेच्च अदालतकै भवन बनाउने करिब ६ अर्बको ठेक्का उसले पाएको छ । भक्तपुरको जिल्ला अदालत बनाउने एक अर्ब ३० करोडको ठेक्का पनि उनले नै मिलेमतोमा पाएका थिए । आफ्नो मात्र कम्पनीको स्पेशिफिेकसन मिल्ने गरी ठेक्का आह्वान गरेर उनले सेटिङमा ठेक्का हात पारेका थिए । लागत अनुमान बराबर नै उनले बोलपत्र गरेका थिए । जसमा राज्यलाई करोडौं घाटा भएको थियो ।

ललितपुर गोदावरीको सम्मेलन केन्द्र पनि उनले नै बनाएकोमा पानी चुहिएको थियो । हालै काठमाडौं महानगरपालिकाको भवन बनाउने ठेक्का पनि मिलेमतोमा नै उनले नै हात पारिसकेका छन् । काठमाडौं प्रहरीको भवन पनि उनले नै बनाइरहेका छन् । खुला प्रतिस्पर्धा नै नहुने भएकाले उनका सबै ठेक्कामा चर्काे विवाद हुने गरेको छ ।

छिटो काम गर्ने भएपनि गुणस्तरका विषयमा उनकै सबै ठेक्का पप्पु कन्स्ट्रशनजस्तै विवादमा परेका छन् । छानबिन सुरु गरेलगत्तै उनलाई प्रधानमन्त्री देउवाले नै त्यसरी सम्मानित गरेपछि अख्तियारका अधिकारी पनि चकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्