Logo
Logo

अध्यागमनमा सेटिङका श्रृङखला



काठमाडौं । नेपालको अध्यागमनमा डरलाग्दो सेटिङ मौलाउँदै गएको छ । अध्यागमनको बेथितीले देशमा अन्तर्राष्ट्रिय अपराधीहरुको चलखेल बढेको छ भने राष्ट्रिय सुरक्षामा नै चुनौती थपिएको छ ।

हालै अध्यागमन विभागले सयौं विदेशीलाई शुल्क नै नलिई भिसा अवधि थपिदिएको पाइएको छ । गत महिना यसरी ठूलो संख्यामा विदेशीलाई निशुल्क भिसा नवीकरण गरिएको हो । जबकि, त्यससम्बन्धि कुनै औपचारिक निर्णय नै भएको थिएन । जुन प्रकरणले राज्यलाई लाखौं राजश्व गुमेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेमा विभागका धेरै कर्मचारीहरुको जागिर जाने निश्चित छ । अनुभव र क्षमता नै नभएका विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको कारण सो काण्ड भएको विभागका एक कर्मचारी बताउँछन् । यद्यपि, सो प्रकरण मिलाउन भट्टराई सफल भएका छन् ।

अध्यागमनमा पछिल्लो समय बिचौलियाहरुको सक्रियता बढेको छ । लकडाउनमा अवैध रुपमा बस्दै आएका विदेशीलाई भिसा नवीकरणका नाममा लाखौंको चलखेल हुने गरेको छ । खासगरी पर्यटकको रुपमा बसेर विभिन्न किमिसका गतिविधिमा संलग्न विदेशी नागरिकहरुले घुस खुवाएर आफ्नो भिसा नवीकरण गर्दै आएका छन् । त्यस्तै विदेशीका कारण देशको सुरक्षा तथा सार्वभौमसत्तामै असर परिरहेको छ ।

गत चैतमा विभागका महानिर्देशक भट्टराईकै मिलेमतोमा दुई बंगलादेशी नागरिकलाई मुद्दा नचलाई देश निष्काशन गरिएको थियो । नक्कली पासपोर्ट प्रयोग गरी नेपाल हुँदै क्यानाडा जान खोज्ने नागरिक मोहम्मद बम्लु मिहा र राहुल करिमलाई सेटिङका कारण कारबाही गरिएन । उनीहरु नेपालबाट नक्कली पासपोर्ट लिएर कतार जान लागेकोमा त्यहाँको अध्यागमनले पत्ता लगाएर नेपाल फर्काइदिएको थियो । उनीहरु धनाढ्य व्यक्ति थिए । उनीहरु नेपालमा जेल पर्नसक्ने भएपछि मोटो रकम खर्च गरेर हतार हतार बंगलादेश गएका थिए । बंगलादेश गएको एक हप्तापछि उनीहरुलाई निष्काशन गर्ने निर्णय भएको थियो । अध्यागमन विभागले थुनामा समेत नराखी उनीहरुलाई निष्काशन गरेको थियो । जसमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ ।

गत वर्ष हजारौं व्यक्तिलाई भिसिट भिसामा दुबई जान सेटिङ भएको गृह मन्त्रालयका उपसचिव रुद्र पण्डित नेतृत्वको छानबिन समितिले नै औंल्याइसकेको छ । त्यसमा पनि कोही कर्मचारीलाई कारबाही भएन । अहिले पनि भिजिट भिसामा हुने मानव तस्करी रोकिएको छैन । हालै जर्मनीमा नेपालीहरु अमेरिका जान खोज्दा पक्राउ परेको घटनाले समेत अध्यागमनमा भइरहेको सेटिङ प्रष्ट हुन्छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सुशील बैद्य समेतको मिलेमतोमा त्यसरी भिजिट भिसामा जान दिइएको स्रोत बताउँछ । अध्यागमनमा यसरी बढेको सेटिङ र भ्रष्टाचारले देशकै सुरक्षामा चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्