Logo
Logo

आइजिपीलाई संगठनबाटै चुनौती



काठमाडौं । यो वर्षको विभूषण वितरणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपी कति कमजोर भएका छन् भन्ने देखाएको छ । दुवै संगठनमा आइजिपीको जानकारी बिना नै ठूलो संख्यामा अधिकृतहरुले विभूषण हात पारेका छन् । चेन अफ कमाण्डमा चल्ने सुरक्षा संगठनमा यस्तो चलखेल गम्भीर मानिन्छ । तर, दुवै संगठनका आइजिपी निरिह बनेका छन् ।

सशस्त्र प्रहरीमा विभूषणको विषयलाई लिएर ठूलो असन्तुष्टि छ । स्टाफ कलेजमा नाम निकाल्न नसकेपछि चलखेलकै आधारमा सेनामा स्टाफ कलेज गर्ने मौका पाएका एसपी दिपेन्द्र कुंवरले विभूषणमा पनि अरुलाई पछि पारेका छन् । उनी प्रधानमन्त्री शेर बहादुर देउबाका स्वकीय सचिव भानु देउवाका ज्वाई हुन् । त्यही पावर प्रयोग गरी उनले विभूषण हात पारेका हुन् ।

कमजोर कमाण्ड क्षमता भएका विवादीत एसपी शंकर खनालले पनि चाकडीकै आधारमा पाएका छन् । मोबाइल तस्करीकाण्डमा एक वर्ष जेल नै बसेका हर्कदेव पन्तलाई समेत सरकारले तक्मा दिएको छ । डिएसपी हुँदा उनले सिन्धुपाल्चोकबाट आफ्नै गाडीमा मोबाइल हालेर तस्करी गरेका थिए । धुलिखेलमा प्रहरीले उनलाई पक्राउ गरी राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । एकवर्ष जेल बसेपछि सेटिङमा मुद्दा मिलाएर उनले जागिर जोगाएका थिए । उनी जस्ता पात्रले विभूषण पाएपछि संगठनभित्र अन्य अधिकृतको शिर निहुरिएको छ ।

मनाङ गुल्ममा हुंदा राशनमा बदमासी गर्ने डिएसपी पनि बिभूषण पाउन सफल भएका छन् । तक्मा पाउने अर्का विवादित अधिकृत शेर बहादुर अधिकारी हुन् । एआइजी रामशरण पौडेलले आफ्नै पिए इन्सपेक्टर राजकुमार लामिछानेलाई दिलाएका छन् ।

चलखेलमा खप्पिस र कार्यक्षमतामा कमजोर रहेका इन्सपेक्टरहरु योगेश चन्द्र बराल, सुरेन्द्र शाही, ओमराज बाँनिया, टेकराज पोखरेल, सुरज पाण्डे , रबिन्द्र प्रसाद भट्टले पनि विभूषण हात पारेका छन् । आइजिपी शैलेन्द्र खनालका बडिगार्ड भएकाले इन्सपेक्टर नारायण गुरुङले त पाउने नै भए आइजिपी पत्नीले समेत विभूषण पाएकोमा चर्चाको विषय बनेको छ । उता डिआइजी राजु अर्यालले आफ्नो अन्य ब्याचीभन्दा एक तह माथिल्लो तक्मा हात पार्न सफल भएका छन् ।

नेपाल प्रहरीमा पनि त्यस्तै अवस्था देखियो । आइजिपीको सिफारिसबिना नै एसएसपीहरु पूजा सिंह, केदार ढकाल, जनक भट्टराई, सुदीप गिरी, मोहन आचार्य, नरबहादुर केसी लगायतले तक्मा हात पारेका छन् । डिएसपीहरु भेषराज रिजाल, सुधीर शाही लगायतले पनि सोर्सफोर्सकै आधारमा लिएका हुन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि विभूषणमा निरिह बनेका छन् । प्रहरीमा विभूषण पाउँदा बढुवामा दूई नम्बर पाइने र बढुवा हुन सजिलो हुने भएकाले यसमा आर्थिक चलखेल समेत हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्