Logo
Logo

रोहिङ्ग्यालाई अमेरिका लैजाने प्रलोभन देखाएर नेपाल ल्याइयो



काठमाडौं । बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलोभन देखाएर नेपाल ल्याइएको पाइएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानका क्रममा बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलाेभन देखाएर नेपाल ल्याइएको पाइएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार २ जना म्यान्मारी नागरिक र १ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेका म्यान्मार घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय नूरुल अमिन तथा २७ वर्षीय शफिक आलम र बंगलादेश घर भइ काठमाडौंको डल्लु बस्ने ३० वर्षीय अजमत उल्लालाई अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो पठाइएको थियो।

अनुसन्धानका क्रममा बंगलादेशमा शरण लिएका ६ जना रोहिङ्ग्या नेपाल पुगेपछि पुरुषलाई ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० नेपाली रुपैयाँ बराबरको मासिक भत्ता समेत उपलब्ध गराउने प्रलोभन दिइएको पाइएको छ।

त्यसैगरी सन् २०२२ मा युनाइटेड नेसन हाइ कमिसनर फर रिफ्युजी (युएनएचसिआर) ले अमेरिका जाने परिचयपत्र समेत दिने प्रलोभन देखाई नूरुल अमिनले २ लाख ५० हजार बंगलादेशी मुद्रा लिएको खुलेको छ।

उनीहरुले बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुगेपछि अमेरिका जान पाइने र नेपालमा बस्दा मासिक भत्ता समेत पाइने भनेर प्रलोभनमा पार्ने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्