लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ : अर्थमन्त्री « Drishti News – Nepalese News Portal
Logo

लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ : अर्थमन्त्री


दृष्टि संवाददाता


काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित जाँचबुझ समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले सेयर कारोबारमा ठुलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन्।

उनले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रिया अगाडी बढाउने पनि बताए। जाँचबुझको प्रक्रियाले सेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि सरकारले २०७८ भदौ १६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो।

सो समितिले मंगलवार अर्थमन्त्रीलाई प्रतिवेदन पेश गरेको हो। अर्थमन्त्री शर्माले प्रतिवेदन बुझ्दै आफुले प्रतिवेदन प्रधानमन्त्री समक्ष पुर्‍याउने र प्रतिवेदनको अध्ययनपश्चात आवश्यक प्रक्रिया अगाडी बढाइने बताए।

प्रतिक्रिया दिनुहोस्