Logo
Logo

रत्न मञ्जिलमा पानीको खर्च मात्रै मासिक ८३ हजार



काठमाडौं । सुन्दा अनौठो लाग्ला, पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निजी निवास रत्न मञ्जिलमा खानेपानीको समेत व्यवस्था छैन । सरकारी धारा काटिएका छन् ।

नागार्जुनबाट ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यता छ । करिब १२ जना नानीबजै (सुसारे) राखेर बस्नुभएका पूर्व मुमा बडामहारानी रत्नको मञ्जिलमा अहिले दैनिक दुई ट्याङ्कर पानी खर्च हुने गरेको छ ।

मासिक करिब ८३ हजार रुपियाँ मात्रै पानी किन्नमै खर्च हुने बताउँदै पूर्व मुमा बडामहारानी रत्नका निजी सचिव शम्भु अधिकारीले भन्नुभयो– ‘यो त राज्यले अचाक्ली नै गर्‍यो । पूर्वराजपरिवारको हैसियतमा सबै सुविधा कटौती गरेर उहाँलाई अन्याय गरेको छ ।’

‘न त सुरक्षा गार्डको व्यवस्था छ । न कुनै सुविधा नै । खानेपानीको समेत व्यवस्था छैन । बल्लतल्ल मिडियाको दबाबले दुई वर्ष अघिदेखि सरकारले बिजुलीको बिल तिर्ने गरेको छ । अहिले त उहाँलाई राज्यले हेप्नुसम्म हेपेको छ ।’ –यो गुनासो पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निजी निवास रत्न मञ्जिलका एक कर्मचारीको हो ।

भदौ ४ गतेबाट ९४ वर्षमा पाइला टेकेकी रत्नको घर महेन्द्र मञ्जिलमा राज्यले सुविधा दिएको सशस्त्र प्रहरीको सुरक्षा टोली पनि हटाइसकेको छ ।

तत्कालीन ओली सरकारले विशिष्टको घरमा बस्दै आएका सुरक्षाकर्मी कटौती गर्ने क्रममा पूर्व मुमा बडामहारानी रत्नको सबै सुरक्षाकर्मी कटौतीमा परेको थियो । त्यसै गरी, सवारी चालकको सुविधा पनि हटाइएको छ ।

रत्न मञ्जिलका एक कर्मचारी भन्छन्– ‘अहिले एक जना पनि सुरक्षाकर्मी छैन । गेटमा सुरक्षा गर्ने कसले ? पहिला आधा दर्जन सुरक्षाकर्मीको टोली खटिने महेन्द्र मञ्जिलको सुरक्षा टोली बस्ने घर अहिले खाली भएको छ । सरकारले पूर्वराजाको हैसियतमा ज्ञानेन्द्र सरकारबाहेक अन्यको सुरक्षा कटौती गरेको छ ।’

दरबार हत्याकाण्डपछि महेन्द्र मञ्जिलमै बस्ने गरेकी रत्न अहिलेसम्म सार्वजनिक कार्यक्रममा प्रायः देखिनुहुन्न । कोभिड–१९ का कारण दुई वर्षदेखि घर बाहिर निस्कनै सक्नुभएको छैन ।

मुमा बडामहारानी रत्नको नियमित स्वास्थ्य परीक्षण गर्न हरेक मंगलबार निजी चिकित्सक डा। खगेन्द्र श्रेष्ठ र मुटुसम्बन्धी समस्या भए डा. मृगेन्द्रराज पाण्डे महेन्द्र मञ्जिलमै पुग्ने गर्नुभएको छ ।

निजी सचिव अधिकारीका अनुसार उहाँलाई हालसम्म कुनै रोग भने लागेको छैन । उमेरका कारण केही समस्या भए पनि स्वास्थ्यका कारण केही समस्या देखिएको छैन ।

उहाँ राति अबेर सुतेर बिहान ९ बजे उठ्ने गर्नुहुन्छ । बिहानको खाजा ११ बजे १ गिलास दूध, दिउँसो ३ बजे सामान्य शाकाहारी खाना, राति साढे ९ बजे एक गिलास दूध खाने र राति अबेरसम्म गीत–संगीत सुनेर सुत्ने उहाँको दिनचर्या बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्र हप्ताको एक दिन अनिवार्यरूपमा महेन्द्र मञ्जिल पुग्ने गर्नुभएको छ । मुमा रत्नलाई भेट्न हरेक दिन परिवारका एक सदस्य महेन्द्र मञ्जिल पुग्ने गरेका छन् ।

यो समाचार आजको नेपालसमाचार पत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्