Logo
Logo

खुले काठमाडौं महानगरका विद्यालय



काठमाडौं । आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ । असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो ।

विभागका प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको २७ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाडौंका सबै विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय खोलेका हुन् । विद्यालय आउन पाउँदा र साथीभाइ भेट्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन् । नानीबाबुलाई विद्यालय पठाउन पाउँदा अभिभावकहरू पनि दंग देखिएका छन् ।

कालीमाटीस्थित नीलवाराही माध्यमिक विद्यालयमा बालकक्षादेखि १२ सम्मका हजार विद्यार्थी विद्यालयमा आउन पाउँदा निकै रमाए। यो विद्यालयमा तीन सिफ्टमा विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । बिहान ६ देखि १० बजेसम्म कक्षा ११ र १२, बिहान १० देखि दिउँसो १ बजेसम्म आधारभूत तह, दिउँसो १ देखि ४ बजेसम्म कक्षा ९ र १० सञ्चालन गर्न थालिएको विद्यालयकी प्रधानाध्यापक जानुका नेपालले बताइन् ।

‘मास्क, सेनिटाइजर र भैतिक दूरी अनिवार्य रूपमा कायम गरिएको छ,’ नेपालले नागरिकसँग भनिन्, ‘बालबालिका र तिनका अभिभावकहरूमा कोभिडले निकै सचेतना जगाएको छ ।’ विगतमा केही लापरबाही गरे पनि अहिले अभिभावकहरू नानीबाबुको सिकाइ निरन्तर गराउन र स्वास्थ्य सुरक्षाको ख्याल राख्न सचेत बनेको देखिएको अनुभव उनले सुनाइन् ।

विद्यालयमा भेटिएकी सविता चौधरीले नानीलाई स्कुलमा भौतिक रूपमा पठाउन पाउँदा निकै खुसी लागेको बताइन् । आफू काममा जानुपरेकाले छोराको अनलाइन कक्षा राम्ररी सञ्चालन हुन नसकेको गुनासो उनमा रहँदै आएको थियो। तर, आइतबारदेखि स्कुल खुलेपछि समस्या दूर भएको उनको भनाइ थियो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्