Logo
Logo

महामारीको पीडा : अध्ययन भिसा पाएका १० हजार विद्यार्थी अलपत्र



काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण विदेशमा आवतजावत रोकिँदा वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका र बिदामा नेपाल आएका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा फसेको छ । वैदेशिक अध्ययनका लागि अनुमति र सम्बन्धित मुलुकको भिसासमेत पाइसकेका विद्यार्थी पनि आवतजावत नखुल्दा स्वदेशमै अलपत्र परेका छन् ।

जापान, अस्ट्रेलिया, कोरियामा अध्ययन भिसा पाइसकेका १० हजारभन्दा बढी विद्यार्थी ती देशमा कहिले जान पाउने हुन् भन्ने अझै अनिश्चित छ । चीन, बंगलादेश, अस्ट्रेलियामा पढ्दापढ्दै नेपाल आएका विद्यार्थी अझै फर्कन पाएका छैनन् ।

यसैबीच, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले अलपत्र परेका यस्ता विद्यार्थीलाई सम्बन्धित मुलुकमा पठाउने व्यवस्था गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ । विदेश जान नपाएर रोकिएका विद्यार्थीको विषयमा शिक्षा मन्त्रालयसँग समितिका सदस्यहरूले छलफल गरेका थिए ।

छलफलपछि समितिले कूटनीतिक पहल गरी अलपत्र विद्यार्थीलाई सम्बन्धित देशमा पठाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीेले शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विद्यार्थीलाई अध्ययन पूरा गर्न विदेश पठाउनुपर्ने बताइन् । ‘कूटनीतिक पहल गरी रोकिएका विद्यार्थीलाई विदेश पठाउनुपर्छ,’ उनले थपिन्, ‘पठाउन नसक्ने भए यहीँ पढ्ने वातावरण मिलाउनुपर्छ, यसरी अलपत्र छाड्न हुँदैन, निकास दिनुपर्छ ।’

छात्रवृत्तिमा अध्ययनरत र अध्ययन गर्न जाने विद्यार्थी पनि सम्बन्धित मुलुकको शिक्षण संस्थामा पुग्न सकेका छैनन् । त्यहाँका शिक्षण संस्थामा भर्ना भएर महँगो शुल्कमा अनलाइन कक्षा लिइरहेका भए पनि प्रयोगात्मक कक्षामा सहभागी हुन नपाउँदा उनीहरूको शैक्षिक भविष्य नै जोखिममा परेको छ । बंगलादेश, अस्ट्रेलियालगायत मुलुकमा अध्ययनरत विद्यार्थी पनि त्यहाँ जान नपाएर रोकिएका छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्