Logo
Logo

फस्टाउँदै लभ होटल



काठमाडौं । प्रेमिल जोडीलाई लक्ष्य गरेर चलाख होटल निर्माता कम्पनीहरूले परम्परागत तथा रुढीवादी समाज भएको भारतमा आफ्नो क्षमता विस्तार गरेका छन् ।

मुम्बईको सुन्दर उपवन ताल क्षेत्र बिहान दौडने, साइक्लिङ गर्ने तथा गाँजाको सर्को तान्ने इच्छुक विद्यार्थीका लागि लोकप्रिय मानिन्छ । तर, त्योभन्दा पनि बढी तालवरपर बनेका सडक छेउछाउमा सानो छाताभित्र बसेका दर्जनौं जोडी देखिन्छन् ।

त्यसो त अधिकांश भारतीय सहरमा यस्ता स्थान छन्, जहाँ चञ्चल जोडीले सार्वजनिक स्थानमा गोपनीयताको स्वाद पाइरहेका हुन्छन् । सामाजिक रूपमा रूढीवादी संस्कृति, साना फ्ल्याट, संयुक्त परिवार, महँगा होटल तथा रिसाहा होटल मालिकका कारण यस्ता जोडी जाने ठाउँ त्यति हुँदैनन् । तर, यो स्थितिमा परिवर्तन देखिँदैछ ।

अविवाहित जोडीलाई लक्षित गरेर थोरै समय बस्न बनाइका ‘लभ होटल’ले एसियाका अन्य देशमा लोकप्रिय बनेका छन् । तर, भारतमा यस प्रकारको होटल कोठा बिक्री गर्न त्यति सजिलो नभएको ब्रेभिस्टे नामक एपका सहसंस्थापक प्रतीकसिंह बताउँछन् । यो एपले केही घन्टाका लागि होटलको कोठा बुक गर्न सहयोग गर्छ। यो एपमा भारतका १५ सय होटल आबद्ध छन् । ‘यो व्यापारिक मोडलको चुनौती भनेका होटल मालिकलाई विश्वास दिलाउनु होइन, उनीहरूको सोच परिवर्तन गर्नु हो,’ उनी भन्छन् ।

समानखाले सेवा दिने अर्को एप स्टेअंकलका अमित शर्मा भन्छन्, ‘जोडीले चाहने भनेको कोठा हो, निर्णय (जजमेन्ट) होइन ।’ समलिंगीलाई समेत होटल रुम बुकिङ गर्ने उनको एपसँग १८ सय होटल समेटिएका छन्। तर, नैतिक पुलिस (मोरल पुलिसिङ) को व्यापकता रहेको देश भारतमा अधिकांशको धारणा यस्तो छैन । मुम्बईमा भ्यालेन्टाइन डे मनाउन चाहने जोडीलाई वर्षौंदेखि प्रहरीले सताउने तथा पक्राउ गर्ने गरेको छ ।

उत्तराखण्डका मुख्यमन्त्रीले गत मार्चमा च्यातिएका जिन्स पाइन्ट लगाएर आफ्नो घुँडा देखाएकी एक महिलाप्रति आक्रोश व्यक्त गरेका थिए। गत महिना सरकारी स्वामित्वमा रहेको हैदराबादको एक पार्कले एक सूचना नै जारी गरेर अविवाहित जोडीलाई प्रवेश निषेध गरिएको बतायो । सार्वजनिक रूपमा यो सूचनाको व्यापक विरोध भएपछि पार्क अगाडि टाँसिएको उक्त सूचना निकालिएको थियो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्