Logo
Logo

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज, भोली नै मन्त्रिपरषद् विस्तार



काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनका लागि सहज बनाउने उद्देश्यसहित सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश ४२ दिनपछि खारेज भएको छ ।

अध्यादेश ल्याउनुको उद्देश्य पूरा भएपछि सरकारले अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै अध्यादेश खारेज भएको हो ।

अध्यादेशकै आधारमा नेकपा एमालेबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वका एमाले विभाजन गर्दै नेकपा एकीकृत समाजवादी पार्टी र जसपा नेता महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भइसकेको छ ।

अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । अध्यादेश कायमै रहँदा मन्त्री नपाएकाहरुले पार्टी विभाजन गर्ने खतरा रहेको भन्दै जसपाले अध्यादेश फिर्ता भएपछि मात्र आफ्नो तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने अडान लिँदै आएको थियो ।

भोली नै मन्त्रिपरिषद विस्तार
अध्यादेश खारेज भएसँगै अध्यादेशकै कारण पुनः दल विभाजनको खतरा टरेको छ । अधयादेश खारेजीसँगै भोली नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।

स्रोतअनुसार नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्याक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई आजै साँझ बुझाइसकेका छन् । तर, सबै दलले भागमा परेका सबै मन्त्रालयका लागि मन्त्रीको नाम भने सिफासिर गरेका छैनन् । पार्टीमा असन्तुष्ट समूहलाई व्यवस्थापन गर्न केही मन्त्रालय बाँकी राखेर प्रधानमन्त्रीलाई नाम बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्