गोकर्ण विष्ट : नामभन्दा बदनाम बढी « Drishti News – Nepalese News Portal
Logo

गोकर्ण विष्ट : नामभन्दा बदनाम बढी


दृष्टि संवाददाता


काठमाडौं । ‘ध्यु खानुपर्ने, तर कम्बल ओढेर’, यो चरित्र हो एमाले सचिव गोकर्ण विष्टको । माधवकुमार नेपाललाई अन्तिममा धोका दिएर ‘मध्यपन्थी अवसरवाद’ मा लिप्त १० भाइमध्येका गोकर्ण विष्ट एक यस्ता व्यक्ति हुन्, जसले राजनीतिक जीवनको शुरुदेखि अन्त्यसम्म पनि लोभी–लालची व्यवहार त्यागेनन् । तर, सार्वजनिक रुपमा प्रस्तुत हुँदा आफूलाई सादा–सीधा भएको भ्रम पार्न र आफूलाई क्रान्तिकारी देखाउन खप्पिस छन् ।

तत्कालीन संविधानसभा सदस्य राज्यलक्ष्मी गोल्छाले २०७२ साल कात्तिक ७ गते इकान्तिपुरसँग भनेकी थिइन्, ‘…ईश्वर पोखरेललाई सहयोग गरें । गोकर्ण विष्टलाई १० लाख रुपैयाँभन्दा बढी दिएँ । त्यसैगरी, एक जना दिदीलाई २५ लाख रुपैया दिएँ । उहाँलाई मैले आफ्नै नाममा चेक काटेर दिएकी छु ।’

राज्यलक्ष्मी गोल्छाले सार्वजनिक रुपमै यस्तो कुरा गरेपछि गोकर्ण विष्टले फोनमै उनलाई धम्क्याए । आपराधिक पृष्ठभूमिबाट एमाले राजनीतिमा प्रवेश गरेका पर्शुराम बस्नेतलाई परिचालन गरेर ईश्वर पोखरेल र गोकर्ण विष्टले भोलिपल्टै उक्त कुराको खण्डन त गराए । तर, उनीहरुलाई जान्ने–बुझ्नेहरुले त्यो खण्डन पत्याएनन् ।

किनभने, आर्थिक मामिलामा गोकर्ण विष्टको बदनामी २०५१ मा समाजकल्याण परिषद्को कोषाध्यक्ष हुँदैदेखि सुरु भएको हो । २०४८ सालमा सम्पन्न अनेरास्ववियुको एकताको ११औँ राष्ट्रिय सम्मेलन (पोखरा)बाट दोस्रोपटक अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै प्रचार विभाग प्रमुख बनेका उनी २०५० मा सम्पन्न १२औँ राष्ट्रिय सम्मेलन (हेटौंडा)बाट बिदा भए । अखिलबाट बिदा हुनुपरेको पीडा साम्य पार्न सुरेन्द्र पाण्डेलगायतका नेताहरुले उनलाई समाजकल्याणमा लगेका थिए र त्यसपछि युवा संघमा लगे । तर, जता गए पनि आर्थिक र चारित्रिक विषयमा उनी बद्नाम नै रहे ।

अखिलमा काम गर्दा प्रतिमा (हालकी पत्नी)सँगको प्रेम सम्बन्धको विषयलाई लिएर रामनाथ ढकाल, योगेश भट्टराई, भानुभक्त ढकालहरुले उनीसँग राम्रो व्यवहार गरेनन् । १२औँ राष्ट्रिय सम्मेलनबाट महासचिव बन्नका लागि नेताकहाँ निक्कै धाए । तर, योगेश भट्टराई र भानुभक्त ढकाल मिलेर उनलाई अखिलबाट लखेटेरै छाडे । उक्त महाधिवेशनबाट रामनाथ ढकाल अध्यक्ष, योगेश भट्टराई महासचिव, भानुभक्त ढकाल सचिव बने । रामनाथले ०५१ को मध्यावधी निर्वाचनमा गुल्मीबाट जितेपछि उनी अखिलबाट बिदा भए, योगेश भट्टराई अध्यक्ष र भानुभक्त ढकाल महासचिव बने । त्यतिबेलासम्म पनि अखिलमा काम गर्न पाइन्छ कि भनेर उनी भौँतारिरहेका थिए । तर, सकेनन् ।

अहिले त्यस्तै लखेट्याईमा गोकर्ण विष्ट परेका छन्, प्रदीप ज्ञवालीबाट । गत शनिबार बुद्धनगर पार्टी प्यालेसमा सम्पन्न गुल्मी–काठमाडौं सम्पर्क मञ्चको भेलामा प्रदीप ज्ञवालीहरुबाट उनी यसरी लखेटिएकी कार्यक्रमस्थलबाट मुर्मरिँदै बाहिरिनु पर्यो । भेलाका लागि गोकर्ण विष्टले फ्लेक्स बनाएर त्यहाँ टाँस्न लगाए, अगाडि आफ्नो र पछाडि प्रदीप ज्ञवालीको फोटो राखे । कार्यक्रम सुरु हुनासाथ प्रदीप ज्ञवालीका समर्थकहरुले ‘यस्ता ढोंगी नेताको फोटो अगाडि ?’ भन्दै फ्लेक्स निकाल्न थाले । उनीहरु भन्दै थिए, ‘माधव नेपालसँग भाग नपाएर यहाँ आयो, यहाँ आएपछि दिएको खानुपर्छ, अर्काको भाग थुतेर खान पाइँदैन ।’

गोकर्ण विष्टको चरित्र उनी २०६७ सालमा पहिलोपटक मन्त्री बन्ने पक्का हुँदा त्यसरी नै उदांगियो । मन्त्रीको शपथ हुनु अघिल्लो दिन उनीमाथि खुकुरी प्रहार भयो । तर, आर्थिक कारोबारको मामिला छरपष्ट होला भनेर खुकुरी प्रहार गर्नेहरुलाई सार्वजनिक गर्नै दिएनन् । खासमा उनी त्यसबेला जग्गा दलालीमा लागेका थिए । त्यसैको हिसाब नमिलेपछि, अर्थात् साझेदारहरुसँग आर्थिक विवाद परेपछि उनीमाथि खुकुरी प्रहार भएको थियो । मनमोहन अस्पतालमा एक हप्ता उपचारका लागि भर्ना हुँदा सोह्रखुट्टे प्रहरीले अपराधीहरु पक्राउ गर्यो । तर, अस्पतालको बेडबाटै उठेर उनी ती अपराधी भेट्न पुगे र प्रहरीलाई भने, ‘यिनीहरुलाई नथुनिदिनुस्, नत्र मेरो बेइज्जत गर्छन् ।’

त्यसबेला उनी उर्जा मन्त्री हुँदैमा ‘कम्बल ओढेर ध्यु खान’ पछि परेनन् । पुरानो बक्यौता नतिर्ने सरकारी ग्राहकको लाइन काट्न आफैँँ दौडिएर सेलिब्रेटी त बने । तर, बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतलाई विद्युत् प्राधिकरणको बोर्डमा ल्याएर करोडौं रकम आर्जन गरे । त्यसबेला उनले विद्युत खरिद सम्झौता (पावर पर्चेज एग्रीमेन्ट दर– पीपीए) बढाएर नीतिगत भ्रष्टाचार गरेका थिए । त्यसको तथ्यांक अहिले पनि प्राधिकरणमा सुरक्षित छ ।

०७४ को निर्वाचनपछि माधवकुमार नेपालले दिएका दुई मन्त्रीमध्ये एक गोकर्ण विष्ट पनि थिए । अघिल्लो पटक मन्त्री हुँदा निक्कै लोकप्रियता कमाएका गोकर्ण विष्ट र लालबाबु पण्डित ओलीकालमा सर्वाधिक बदनाम मन्त्री बन्न पुगे । विष्टले ०७४ चैत २ मा मलेसियाको भीएलएन र बायोमेट्रिक स्वास्थ्य प्रणालीमा हात हाल्नाले उनी बद्नाम भएका थिए । भिएलएन प्रकरणमा राम श्रेष्ठलाई अनावश्यक दुःख दिएर उनले भिएलएन अर्कै कम्पनीलाई दिन खोजेका थिए । त्यसैले उनले राम श्रेष्ठलाई थुनाए । जसले गर्दा मलेसिया जाने युवा रोकिए । मलेसियाले दिएको कोटा रद्द भयो । त्यस ठाउँमा बंगलादेशीले कोटा पाए । जसले गर्दा नेपालको सात खर्ब रेमिट्यान्स डुब्यो ।

उनले बायोमेट्रिक स्वास्थ्य प्रणाली महंगो भएको नाममा रोकिदिए । फलस्वरुप नेपालबाट सबभन्दा कामदार जाने मुलुक मलेसियाको कारोबार बन्द रह्यो । ०७५ जेठ २ मा उनले मलेसिया सरकारले बायोमेट्रिकको शुःल्क र प्रविधि दुबै कुरामा नेपाल सरकारले चालेको कदम स्वीकार गरेन । त्यसपछि बायोमेट्रिक स्वास्थ्य परीक्षणको अनुमतिप्राप्त एक सय २० कम्पनी हुँदाहुँदै ‘फेक सेटिङ’का नाममा ८० संस्था थप्ने योजना बनाए ।

प्रत्येक कम्पनीले उपकरण र कार्यालय तयार पार्न करोड रुपैयाँका दरले लगानी गरे । तर, बायोमेट्रिक स्वास्थ्य प्रणालीको काम कसैले पनि पाएनन् । फलतः ती सबै व्यवसायी सडकछाप बन्न पुगे । उनले रघु पुरीसहितका म्यानपावर व्यवसायीमार्फत महिनाको १० करोड आम्दानी हुने वैकल्पिक स्वास्थ्य प्रणाली लागु गर्न खोजे । तर, असफल भए । यसरी व्यवसायीमात्रै सडकछाप भएनन्, केपी ओलीले गोकर्ण विष्टलाई पनि बाँकी राखेनन् । ०७६ मंसिरको पहिलो साता उनी मन्त्रीबाट हटाइए ।

उनले त्यसबेला ठूलो तामझामका साथ सामाजिक सुरक्षा कोषको कार्यक्रम अगाडि सारे । पोलपोलमा ओलीको फोटो राखेर प्रचार गरे । तर, ०७५ को साउन १ गतेबाट लागु भएको उक्त कार्यक्रममा असोज मसान्तसम्म १ लाख ९ सय ६८ योगदानकर्ता तथा ८ हजार ८ सय १८ रोजगारदातामात्रै सूचिकृत भए । अहिले त्यो कोष कहाँ छ ? के गर्दैछ ? कुनै अत्तोपत्तो छैन ।

श्रममन्त्री हुँदा उनले कतार भिसा सेन्टर स्थापना गर्ने स्वीकृति दिएर आफ्ना भाइ, बुहारी र पिएहरुका नाममा ‘सलामी शेयर’, अर्थात् बिनालगानीको साझेदार राख्न लगाएका छन् । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा २५–३० कम्पनीको सिण्डिकेट खडा भयो भनी बायोमेट्रिक हटाउन खोजेका उनले कतारका लागि एउटै कम्पनीबाट सबै काम गराउन सिपी मनी एक्सप्रेसका हेम गुरुङहरुलाई उक्त भिसा सेन्टरको काम दिलाएका हुन् । त्यस्तो काम दिलाएबापत अहिले पनि कमिशन प्राप्त गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्