Logo
Logo

दुई डिआइजी छानबिनमा



काठमाडौं । नेपाल प्रहरीमा सर्वत्र अनियमितता बढेको छ । स्वच्छ छविका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समेत यस्तो अनियमितता रोक्न सकेका छैनन् ।

प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशमा अनियमिता बढेको अत्याधिक उजुरी आएपछि त्यहाँ प्रहरी प्रधान कार्यालयले छानबिन टोली पठाएको छ । गोप्य टोली भनिएपनि त्यसबारे पहिले नै सूचना चुहिएकाले त्यस्तो टोलीले घुम्ने बाहेक केही पत्ता लगाउन सकेन । प्रदेश नम्बर २ मा एसएसएसपी भीम ढकाल तथा लुम्बिनीका टेकप्रसाद राईको नेतृत्वमा टोली पठाइएको थियो । दुवै प्रदेशमा संस्थागत रुपमा भ्रष्टाचार मौलाउंदा पनि दुवै टोलीले केही पत्ता लगाउन सकेन ।

चाडपर्व नजिकिदै गर्दा दुवै प्रदेशमा तस्करी मौलाउँदै गएको छ । प्रदेश नम्बर २ मा डिआइजी उमेश रञ्जितकारले सुरुमा केही घुुमुवालाई कारबाही गरेको नाटक गरेपनि अहिले आफैं घुुमुवा प्रयोग गर्न थालेका छन् । प्रदेश २ का सप्तरीदेखि पर्सासम्म तस्करी बढेको छ । मुद्दामा हुने चलखेल रोखिएको छैन । कुन हदको बेथिती छ भन्ने कुरा रौतहटमा प्रष्ट भइसकेको छ । जहाँ प्रहरीकै मिलेमतोमा निर्दाेष पत्रकारलाई फसाउने प्रयास भयो । तर, दोषी एसपी सिद्धिबिक्रम शाहलाई अझै कारबाही हुन सकेको छैन । धनुषाका एसपी प्रकाश रानाभाटले लागु औषध मुद्दामा नै चलखेल गरेको प्रष्ट भइसकेको छ । तर, उनलाई गृह मन्त्रालयले उच्च तहको विभूषण दियो ।

उता लुम्बिनी प्रदेशमा अवस्था उस्तै छ । सबै जसो जिल्लामा बेथिती रहेको स्रोत बताउँछ । कपिलवस्तु र बर्दियामा प्रहरी मिलेमतोमै केराउ तस्करी भएको हालै प्रष्ट भइसकेको छ । कपिलवस्तुमा सशस्त्र प्रहरीले तथा बर्दियामा सर्वसाधरणले तस्करीको केराउ बरामद गरेर बुझाएका थिए । यसले कपिलवस्तुका एसपी दानबहादुर कार्की र बर्दियाका ईश्वर कार्कीको नियत प्रष्ट हुन्छ ।

ठूला नेताहरु आबद्ध तस्करी रोकेकै आधारमा यसअघि रुपन्देहीबाट एसपी प्रबीण पोखरेललाई हटाइएको थियो । त्यसपछि गएका एसपी मनोज केसीले सानातिना तस्करी रोकेर ठूला तस्करीमा साथ दिएका छन् । बाँकेका एसपी श्यामकृष्ण अधिकारी अनेक काण्डमा मुछिएका छन् । पश्चिम नवलपरासीका एसपी मनोज यादव पहिलेदेखि नै खराब पृष्ठभूमिका प्रहरी हुन् । पछिल्लो समय उनी विवादास्पद सांसद देवेन्द्र कँडेलसँग मिलेर तस्करीमा लागेको स्रोत बताउँछ । यी सबै धन्दामा प्रदेश प्रहरी प्रमुख मुकुन्द आचार्यको समेत संरक्षण छ । किनकि, उनी आफैंले हरेक जसो सीमा चौकीमा आफु निकट प्रहरी पठाएर तस्करीको लाइन खुलाएका छन् । तर, दुवै डिआइजीलाई हेडक्वार्टरको छड्के टोलीले उन्मुक्ति दिएपछि झन् अनियमितता मौलाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्