Logo
Logo

नाटकीय चोरीमा प्रहरीको रहस्यमय भूमिका



काठमाडौं । काठमाडौको एक धनाढ्य परिवारमा रहस्यमय रुपमा झन्डै आधा करोड बराबरका धनमाल चोरी भएको छ । तर, प्रहरीले निष्पक्ष अनुसन्धान नगर्दा घटना झन् रहस्यमय बन्दै गएको छ । पीडित पक्षले घटनाको सम्पूर्ण विवरणसहित उजुरी दिँदा पनि अनुसन्धानकै क्रममा प्रहरी रुमल्लिनुले थप आशंका जन्माएको छ । पानीमुनिबाट अपराधी पक्राउ गर्न सक्ने क्षमता भएको नेपाल प्रहरीले सामान्य चोरीको घटना पत्ता लगाउन सक्दैन भन्नु लाचारी मात्र हो ।

काठमाडौंको भंगाल बस्ने गणेशलाल श्रेष्ठको घरमा चोरी भएको हो । ६५ तोला सुन, एक सय १५ तोला चाँदी, ७० हजार नगद र केही विदेशी मुद्रा गत भदौ २२ गते चोरी भएको थियो । तर, अहिलेसम्म प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन सकेको छैन । यसमा प्रहरीको भूमिका समेत शंकास्पद देखिएको छ ।

घटना किनपनि रहस्यमय बनेको छ भने यसमा पेशेवर चोर भन्दा आफन्तमाथि शंका गर्ने आधार देखिएको छ । जुन दिन चोरी भयो त्यो दिन घरमा बुहारी रितिमा श्रेष्ठ मात्र थिइन् । उनका सासु–ससुरा काभ्रे गएका थिए । दराजबाट गहना र नगद चोरी भएको भनेर २२ गते खबर गरेपछि सासु–ससुरा फर्किएका थिए । चोरी भएको दराजको छेउमा एउटा पञ्जा भेटियो । त्यो पञ्जा रितिमाले आफ्नो भएको बताइन् ।

उनीहरुले सुरुमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिए । महाराजगञ्ज प्रहरीले केही दिन अनुसन्धान गरेजस्तो गरे । पछि, यो घटनाको अनुसन्धान गर्दा तपाईहरुको पारिवारीक सम्बन्ध नै बिग्रन सक्छ, अनुसन्धान गर्न एक वर्ष पनि लाग्न सक्छ भनेर प्रहरीले नै शंकास्पद कुरा गरे । त्यसपछि पीडित परिवार झन् अचम्ममा प¥यो ।

त्यसो त बुहारीका कतिपय कुराले उनीहरुलाई पहिले नै शंका लागेको थियो । काभ्रे कहिले जाने भनेर उनले पटक पटक सोध्दै आएकी थिइन् । दराज छेउमा उनकै पञ्जा भेटिएको छ । पेशेवर चोर आएको अन्य संकेत भेटिएको छैन ।

यही विषयले श्रेष्ठ परिवार यतिबेला संकटमा फसेको छ । परिवारभित्रै एकअर्काप्रति आशंका भएपछि बुहारी घर बस्न छाडेकी छिन् । छोरा दुबईमा बस्दछन् । बुहारीको माइती पक्षसँग उनीहरुको कुराकानी हुन छाडेको छ । बुहारीले आफ्ना सामान ओसार्न थालेकी छिन् । तर, घटनाको पर्दा उघारिएको छैन ।

महाराजगञ्ज वृत्तको अनुसन्धानमा आशंका उत्पन्न भएपछि हाल महानगरीय अपराध महाशाखाले घटनाको छानबिन थालेको छ । ‘वृत्तका प्रहरीले चोरी भएको सुन राखेर अभियुक्त जोगाउने प्रयास गरेको सूचनाका आधारमा हामीले छानबिन थालेका हौं’ महाशाखाका एक अधिकारीले भने । तर, प्रहरीले अन्य प्राविधिक परीक्षण समेत गराएको छैन । कल डिटेलबारे समेत ंशंकास्पद कुरा गरेको छ । जबकि चोरी भएको दिन अगाडि, पछाडिको ‘कलडिटेल’ प्रहरीसँग छ, तर प्रहरीले अपराधी पक्रन किन चाहेको छैन भन्ने प्रश्न उठेको छ । प्रहरीको रहस्यमय भूमिकाले चोर त पत्ता लागेन नै परिवार समेत टुट्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्