Logo
Logo

सम्पत्ति शुद्धिकरणमा डरलाग्दो सेटिङ



काठमाडौं । भ्रष्टाचार र अपराधबाट आर्जित कालोधनको अनुसन्धान गरी राष्ट्रको अर्थतन्त्रलाई स्वस्थ बनाउने दायित्व बोकेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग कर्मचारीको एक समूहको सेटिङले ध्वस्त हुँदै गएको छ । विभागका कर्मचारी नै गलत धन्दाका नाइकेसँग मिल्ने गरेका छन् ।

विभागभित्रको एक समूहको गलत प्रवृत्तिका कारण विभाग स्थापना भएयतादेखिका अधिकांश महानिर्देशक ३ महिना, ६ महिनामै सरुवा हुँदैआएका छन् । पछिल्लो समय त्यही समूहले आफु अनुकुल प्रेम भट्टराईलाई महानिर्देशक बनाउन सफल भएको छ ।

प्रेम भट्टराई, विनोद लामिछाने र सुशील आचार्य

अर्थमन्त्रालयमा सहसचिव हुँदादेखिकै अड्डा जमाएका र जनार्दन शर्मा मन्त्री भएपछि सरुवा भएका सचिव शिशिरकुमार ढुंगानाको संरक्षणप्राप्त उपसचिव विनोद लामिछानेले गतबर्षसम्म विभाग चलाउँदैआएका थिए । गत वर्ष पूर्व अर्थसचिव ढुंगानाले नै उनलाई न्यूरोडको आन्तरिक राजस्व कार्यालयमा सरुवा गरे पनि सम्पत्ति शुद्धिकरण विभागमा पनि उनको प्रभाव रहिरहेको छ । भट्टराई पनि लामिछानेकै सेटिङमा चलेकाले टिकेका हुन् ।

ढुंगाना र लामिछाने काठमाडौं उपत्यकाको काँठका बासिन्दा हुन् । ढुंगानाको संरक्षणप्राप्त लामिछाने सुरुमा ठूला करदाता कार्यालयमा कार्यरत थिए । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग स्थापना हुनासाथ उनलाई ढुंगानाले त्यहाँ सरुवा गरे । ठूला करदाता कार्यालयमा हुँदा सबै ठूला ब्यापारीको सूचना लामिछानेले लिएका थिए । त्यही सूचनाका आधारमा उनले सबै ब्यापारीलाई तर्साउँदै सम्पत्ति शुद्धिकरण गरेको आरोपमा कारबाही हुने त्रास देखाएर करोडौं घुस असुली गरेको स्रोत बताउँछ ।

लामिछाने,उपसचिव सुशील आचार्य, नायबसुब्बा प्रकाशचन्द्र सापकोटा र महानिर्देशक रुपनारायण भट्टराईको टोलीले विभागमा परेका करिब ५ सय वटा उजुरी तामेलीमा राखेको थियो । स्रोतका अनुसार घुस असुल्दै तामेलीमा राखिएका ती उजुरीमध्ये ३ सय त गायब नै पारिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेर खोजी गर्ने हो भने तामेलीमा राखिएका ५ सय उजुरीमध्ये ३ सय त गायब पारिएको खुलासा हुनेछ । लामिछानेकै मिलेमतोमा ती उजुरी गायब पारिएको छ । तामेलीमा राखिएका उजुरी फेरि कुनै दिन खोतलिनसक्ने र आफ्नो पोल खुल्ने भएपछि लामिछानेले ती उजुरीका फाइल नै गायब पारेका छन् ।

लामिछानेलाई उजुरी गायब पार्न सघाउने मुख्य मतियारमा उपसचिव सुशील आचार्य र नासु प्रकाशचन्द्र सापकोटा हुन् । आचार्य शाखा अधिकृत हुँदा र उपसचिव हुँदा पनि विभागमै छन् । उनी पनि ७ बर्षदेखि विभागमा कार्यरत छन् । १ बर्षअघि उनको सरुवा भए पनि अहिलेसम्म पनि खटाएको कार्यालयमा रमाना नलिई बिभागमै विनोद लामिछानेको सेटिङमा उजुरीमा मोलतोल गर्ने गर्दैआएका छन् । रुपनारायण भट्टराई र विनोद लामिछानेको डिजाइनमा उनलाई सरुवा भए पनि त्यहीँ राखिएको छ ।

विभागभित्रको एक समूहको गलत प्रवृत्तिका कारण विभाग स्थापना भएयतादेखिका अधिकांश महानिर्देशक ३ महिना, ६ महिनामै सरुवा हुँदैआएका छन् । पछिल्लो समय त्यही समूहले आफु अनुकुल प्रेम भट्टराईलाई महानिर्देशक बनाउन सफल भएको छ ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैं विभागको सबैभन्दा संवेदनशील सूचना संकलन तथा विश्लेषण शाखाको प्रमुखमा नायबसुब्बा प्रकाशचन्द्र सापकोटालाई राखिएको छ । राजपत्रांकित द्वितीय श्रेणीको उपसचिव प्रमुख हुनुपर्ने उक्त शाखामा नासुलाई राखिएको छ । नासु सापकोटा पनि विभाग स्थापना भएदेखि नै त्यहीँ कार्यरत छन् । र, उपसचिव प्रमुख हुने शाखाको ५ बर्षदेखि प्रमुख छन् । सापकोटालाई सामान्य प्रशासन मन्त्रालयले ४ पटक सरुवा गरिसकेको छ । तर उनी सरुवा पत्र नै लुकाउनेदेखि शक्तिकेन्द्र प्रयोग गरी सरुवा भएको कार्यालयमा नगई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमै रजगज गरी बसेका छन् ।

विभागमा परेका उजुरीहरु उपमहानिर्देशकलाई समेत जानकारी नदिई सूचना संकलनका नासु सापकोटाले प्रशासन शाखाका निर्देशक आचार्य, महानिर्देशककोमा पु¥याउने गर्दछन् । लामिछाने हुँदा उनैकोमा जाने गरेको थियो । स्रोतका अनुसार उजुरी परेकोबारेमा आन्तरिक राजस्व कार्यालय न्यूरोडमा कार्यरत लामिछानेकोमा पनि पुग्ने गर्दछ । विभागमा परेका उजुरी हेरिसकेपछि मोलमोलाई गर्ने, कुरा मिले तामेलीमा राख्ने, गायब पार्ने र नमिले वा माथिल्लो निकायबाट दबाब आएमा प्रहरी शाखातिर पठाइदिने गरेका छन् । अख्तियारका पूर्वप्रमुख दीप बस्नेत र बैंक घोटाला गर्ने योगेन्द्रकुमार श्रेष्ठ, विनोद चौधरी र इच्छाराज तामाङको उजुरी घुस नआउने भएपछि प्रहरीको जिम्मा लगाएर अनुसन्धान भइरहेको जवाफ दिने गरेका छन् ।

विभागलाई लामिछाने हुँदासम्म महानिर्देशक रुपनारायण भट्टराई, उपसचिव आचार्य, नासु सापकोटाको ४ सदस्यले प्रालि जस्तै बनाएका थिए । भट्टराईको ३ महिना कार्यकाल बाँकी हुँदा सरुवा भएपछि उनले टुंगिन बाँकी उजुरीहरु टुंगो लगाउन आफ्नै भाइ प्रेम भट्टराईलाई महानिर्देशकका रुपमा लग्न सफल भएका छन् । प्रेम रुपनारायणका सहोदर माइला भाइ हुन् । उनी विनोद लामिछाने, रुपनारायण र सुशील आचार्यकै सेटिङमा सम्पत्ति शुद्धिकरणको महानिर्देशक भएका हुन् ।

उनी अख्तियारमा उपसचिव हुँदा अदालतमा मुद्दाका बिचौलियाका रुपमा बदनाम थिए । सम्पत्ति शुद्धिकरणको यो समूहले विभागलाई तर्साउने र असुली गर्ने अखाडा बनाएको कुरा बलराम सापकोटा ‘बले’को उजुरी तामेलीमा राखेको घटनाले पुष्टि गर्दछ । बलेको उजुरी तामेलीमा राखिसकेपछि उनी २०७६ को तिहारमा महाराजगंजको जुवा अखाडामा पक्राउ परे । घुस लिएर तामेलीमा राखेको पोल खुल्छ भनेर विनोद लामिछाने र रुपनारायण भट्टराईसहितको समूहले हतार हतार उनका बिरुद्ध थोरै मात्र बिगो कायम गरेर सेटिङमै मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्