Logo
Logo

गृहमन्त्रीको जिल्लामा देउवा कमजोर

बुटवल उपमहानगरमा पौडेल पक्ष बलियो


दामोदर खनाल


बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको गाउँ नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बीच प्रतिस्पर्धा भएको छ । नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा तेस्रो कार्यकालका लागि पुनः खेलराज पाण्डे निर्वाचित भएका छन् । शनिबार भएको नगरअधिवेशनमा प्रतिद्धन्द्धी रीता केसीलाई भारी मतले पराजित गर्दै पाण्डे पुनः सभापतिमा विजयी भएका हुन् । पाण्डेले ४ सय १२ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी केसीले १ सय २४ मत प्राप्त गरिन् । पाण्डे रामचन्द्र पौडेल समूहबाट उम्मेद्धार भएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणको समेत राम्रै साथ र सर्मथन पाए पनि केसीले मत निकै कम प्राप्त भएपछि विभिन्न अडकलबाजी गरिएको छ । कांग्रेसको राजनीतिमा कार्यकर्तासँग भिजेका पाण्डेले धेरै मत ल्याएपछि पश्चिम नेपालको महत्वपूर्ण केन्द्रको रूपमा रहेको बुटवलमा पौडेल पक्षले बलियो पकड जमाएको विश्लेषण गरिएको छ । यो नतिजाले क्षेत्र र जिल्ला राजनीति पनि पौडेल पक्षमा जाने देखिन्छ । तर कांग्रेस नेता भरत शाह पक्षले जसलाई सघाउँछ जिल्ला सभापति उसैले हात पार्ने देखिएको छ ।

बुटवल नगरमा पौडेल पक्षबाटै उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन् । सचिवमा गंगा पन्थी र छायाँ पोखरेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेस बुटवल नगरमा नवनिर्वाचित सभापति खेलराज पाण्डेयले आगामी निर्वाचनमा कांग्रेसलाई बुटवलमा पहिलो पार्टी बनाउने दाबी गरेका छन् । उनले अहिले पार्टीभित्रै मैत्रीपूर्ण चुनाव जितेको बताउँदै बुटवलमा कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् ।

गत आइतबार बुटवलमा पदस्थापन समारोहमा बोल्दै उनले भने, ‘हामीबीच मैत्रीपूर्ण चुनाव भएको हो, हामी सबैले जितेका छौँ । मेरो जीतमा सबैको साथ र सहयोग छ ।’ उनले उपविजेता टिमलाई साथमै लिएर पार्टी हाँक्ने पनि बताए । यस्तै नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृहनगर तिलोत्तमामा पौडेल पक्षका उम्मेदवारलाई पराजति गर्दै देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । पौडेल पक्षका नारायण न्यौपानेलाई २ मतको झिनो अन्तरले पछि पार्दै हरिलाल पाण्डे विजयी भएका हुन । पाण्डे हालका नगर सभापति समेत हुन । न्यौपाने तिलोत्तमा वडा नं ९ का वडा अध्यक्षसमेत छन् । यस परिणामबाट पनि तिलोत्तमामा देउवा पक्ष त्यति बलियो नभएको कार्यकर्ताको विश्लेषण छ । पाण्डेले १७४ मत ल्याए भने न्यौपानेले १७२ मत ल्याए । त्यस्तै अर्का सभापतिका उम्मेदवार हरि तिवारीले ३० मत ल्याएका छन् । गृहमन्त्री बनेपछि खाँण जिल्लामा आएका छैनन् । जसका कारण पनि यो निर्वाचनमा पौडेल पक्ष अगाडि देखिएको छ ।

त्यस्तै रुपन्देहीको सैनामैनामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सैनामैना नगर सभापतिमा रण बहादुर खनाल विजयी भएका छन् । खनाल नेता भरत साहका निकट मानिन्छन् । यस्तै देवदहमा पौडेल पक्षका गुणाखर भुर्तेल सभापतिमा निर्वाचित भएका छन् ।

यसैगरी सिद्धार्थनगर नगरपालिकामा कोशिसबहादुर खड्का, लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोह्मदसहित खाँ नगर सभापति बनेका छन् । खाँ नेता भरत साह निकट मानिन्छन् । ६ वटा नगरपालिका र १० गाउपालिका रहेको रूपन्देहीको कन्चन गाउँपालिकामा देवीराम रेग्मी, गैडहवा गाउँपालिकामामा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकामा अवधराम यादव, मर्चवारी गाउँपालिकामा जनार्दन यादव, ओमसतीया गाउँपालिकामा भगवानप्रसाद चौधरी, मायादेवी गाउँपालिकामा पदम भण्डारी, रोहिणी गाउँपालिकामा पारसनाथ योगी, सियारी गाउँपालिकामा गोपाल पाण्डे, सुद्धोधन गाउँपालिकामा दामोदर पौड्याल र सम्मरीमाई गाउँपालिकामा रमेश यादव सभापतिमा चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्