नेपाली राजनीतिमा ‘बा’ चिन्तन « Drishti News – Nepalese News Portal
Logo

नेपाली राजनीतिमा ‘बा’ चिन्तन


श्याम रिमाल


‘मैले धेरै पढेँ
आमाका वेदनाका कथाहरु
तर कहिल्यै पढिन
बाका अनुहारमा सलबलाएका
दुःखका वक्ररेखाहरु
धेरै पटक कविहरुले
आमाकै तारिफमा कविता कोरे
आमाकै गीतसङ्गीत भरे
आमालाई धर्ती भन्नेहरुले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सधैँ ओझेल परे’ (बा, नीरा शर्मा)

सन्तान जन्माएर मात्र बुबा बनिन्न, बुबाको कर्तव्य पूरा हुँदैन । तिनलाई हुर्काउन र असल शिक्षा नदिएसम्म वास्तविक बुबा बन्न सकिँदैन । त्यसैले त बुबा सधैँ तनावमा हुन्छन् । पसिना चुहाएर ओभानो बस्नै पाउँदैनन् ।

सन्तानका लागि बुबा कहिल्यै दुष्ट हुँदैन । पेटभर खान र लाउन दिने त बुबा नै हुन् । कमाएर ल्याएपछि न आमाले दिने हुन् (पहिलेका कुरा, अहिलेका आमा त आफैँ कमाउन लागेका छन्, यो बेग्लै कुरा हो) । बुबाको स्वार्थ होला, यो छोरा पढ्ला, कमाइ गर्ला, पेटभरि खान देला मलाई । तथापि, बुबा कमाउन हिँडेको छोराका लागि नै हो । सत्तरी वर्षका शिव भट्ट पनि गर्भमा बसेको छोरा नजन्मिँदै कमाउन परदेश गए, कति दूरदर्शी बुबा ।

बिनाबुबाका छोराहरु कमै असल होलान् । असल बुबाले असलै शिक्षा र प्रेरणा दिएर सन्तानलाई उँभो लगाउँछन् । बुबा कहिल्यै दुष्ट हुँदैन भन्छन् तर दुष्ट बुबा परे भने कुलाङ्गार सन्तान बन्ने सम्भावना धेरै हुन्छ । खानलाउन दिन नसकिने भएर भागेका बुबा कति छन् कति ? छोरी जन्मेको भनेर फालेर हिँड्ने बुबाआमा नै पनि बग्रेल्ती छन् यही समाजमा ।

कसैका बुबा बितेछन् । एउटा बुझक्कडीले मृतकका रुञ्चे छोरालाई सम्झायो, ‘हेर् संसारमा सबैको अन्त्य हुन्छ । भक्कानो छाडेर किन रुन्छस् । अज्ञानी हुनुहुँदैन । अब बुबाले छाडेर गएको काम पूरा गर् ।’ अर्काे पटक त्यही सम्झाउन गएको केटाको बुबा बिते । पहिले बुबा बितेको केटो पनि सम्झाउन आयो आफूलाई सम्झाउन आउने साथीलाई ।

पहिलेको केटाले भनेछ, ‘तेरो बुबा जस्तो हो र मेरो ।’ यति भनेर ऊ झन् गाउँ थर्काउने गरी रुन थालेछ । संसारमा सबैका बुबा प्रिय नै हुन्छन् । बुबा सन्तानका लागि घोडा बनिदिन्छन् । गधा र गोरु बनेर थिचिइन्छन् । अहिलेका सन्तान आफ्ना बुबाले नकमाएको, जग्गाजमीन नजोडेको, शक्तिवाला नभइदिएकामा सत्तोसराप गर्छन्, अंश माग्छन् र वृद्धाश्रममा लगेर थन्काइदिन्छन् ।

कृष्णप्रसाद कोइराला पिताजी, गणेशमान टबा भए भने, केपी ओलीसम्म पुग्दा ‘बा’ शब्द चर्चित भयो । कम्युनिष्ट पार्टीमा ‘बा’ प्रवृत्तिको माधवबुबाले खोइरो खने र टिक्न नसकेर आखिर आफू नै बाका घरबाट निक्लिएर हिँडे ।

गाउँमा रहेका बुबाआमालाई फर्केर हेर्दैनन्, बुबा खुवाउने औंसीमा एक दिन फोन गर्छन् । श्राद्ध सकिएपछि भट्टीमा रक्सी र मासु भोजन गर्ने छोराहरु पनि यहाँ छन् । अर्बाैँमा श्रवणकुमार भेटिन सिलो नै खोज्नुपर्ला । बुबाआमालाई पुंसिक नर्कबाट तार्ने छोराछोरी तथा सन्तानलाई पालन र रक्षा गर्ने बुबाआमा भेटिनु संयोग मात्र हुने छ ।

नेपाली कूटनीतिमा भारतको ठूल्दाइ प्रवृत्ति कायम छँदैछ । पुष्पलाल माइलादाइ, वीपी सान्दाइ र सुशीलदा’ भए । सूर्यबुबा, कीर्तिबुबा, गिरिजाबाबु, पशुपतिराजा, मनमोहन कामरेड, तुलसीलाल, मदन भण्डारी, प्रचण्ड भए । कृष्णप्रसाद भट्टराई किसुनजी भए (गणेशमानका भाषामा गङ्गादास, जमुनादास पनि) । कृष्णप्रसाद कोइराला पिताजी, गणेशमान टबा भए भने, केपी ओलीसम्म पुग्दा ‘बा’ शब्द चर्चित भयो । कम्युनिष्ट पार्टीमा ‘बा’ प्रवृत्तिको माधवबुबाले खोइरो खने र टिक्न नसकेर आखिर आफू नै बाका घरबाट निक्लिएर हिँडे ।

राजा जनक आखिर सबैका जनक भए आफ्नो ज्ञान र ज्ञानको भोकले । एकै बुबाका तीन छोरा प्रधानमन्त्री नेपालमा भए, कस्ता भाग्यमानी बुबा ? फाँसीमा चढेका शुक्रराजका बुबा माधवराजले छोरालाई तीन चोटि परिक्रमा गरे र भने, छोरा हुनु त यस्तो पो । दिव्या कोइरालाले कारागारमा २९ दिन अनशन बसेका छोरा वीपीको सराहना नै गरिन् । श्रीमतीको वचन हार्न नसकेर राजा हुन लागेका छोरा रामलाई १४ वर्ष वनबास पठाउने दशरथ पनि बा, आफू जीवितै हुँदा छोरालाई राजगद्दी त्याग्ने जापानका सम्राट हिरोहितो पनि बा ।

बुबा पनि आखिर बलात्कारी हुँदा रेछन्, यो कलियुगाँ । त्रेतायुगमा रावणले आफ्नै छोरी सीतालाई अपहरण गरेर रानी बनाउन खोजेको कुरालाई चाहिँ के भन्ने ? अरुका अघि आफूलाई सधैँ गाली गर्ने पितालाई काट्न लागेका भारवीले आमासँग आफ्नो प्रशंसा गरेको सुनेर पश्चात्ताप गरे । बुबाले छोरालाई पुल्पुल्याउनुभन्दा त गाली गरेकै बेस नि । भानुभक्तले आफ्ना छोरा रमानाथलाई कान्तिपुरबाट चिठ्ठी लेखेर नपढेमा ठाउँको ठाउँ ठहरै पार्ने चेतावनी दिए ।

कुनै ‘बा’ धर्मपुत्र पालेर सक्कली छोराहरुलाई गुण्डागर्दीमार्फत तह लाउँछन् भने कुनै ‘बा’ कान्छी पत्नी ल्याएर जेठीका छोराहरुलाई बुबाको बिहे देखाइदिन्छन् । राजालाई आफ्ना बुबासरह मान्ने नेपाली युवा २८ साल र ५८ सालमा राजाको निधनपछि मुडुला टाउकामा देखा परे । चिनियाँ राजा कुब्ला खाँले हाम्रा बलबाहुलाई एकपल्ट ‘तिमीलाई मसँग बस्दा डर लाग्दैन ?’ भनी सोधे । अरनिकोले भनिदिए, ‘हामी त आफ्ना राजालाई बुबा जस्तै मान्छौँ, बुबासँग बस्न केको डर ?’ तिनै कलाकारले चीनमा विशाल हजारौँ मूर्तिहरु बनाएर नेपालको नाम विश्वमै दर्ज गराइदिए । ‘बा’ पनि हेर्नाका हुन्छन् । काखा र पाखा गर्ने ।

नेपालीबाबा, कालिबाबा देखाएर हिन्दू राज्य झार्न सकिन्थ्यो कि भन्ने चिन्तन एकाथरिमा छ भने ‘बुवा हजुर’लाई बेलाबेला मिडियामा ल्याएर राजतन्त्र फेरि गाड्न पाइने लालसा अर्काथरिमा छ । लौ है, बाहरुलाई बचाऔँ, बाहरुबाट बचौँ । हाम्रा बा, बुबा, बाउहरु महान् छन् । आमाहरुको मात्र गुनगान कति गाउनू ?
‘…तर आज मेरा बाका
सहयोद्धाहरु फर्किएका छन्
कुनै बेला रातो झोलामा
कम्युनिष्ट घोषणापत्र बोकेर आउने
मेरा बाका सहयोद्धाहरु
आज रातो नम्बर प्लेटको बहानामा
धुलो उडाउँदै आएका छन्
सडक छेवैमा उभिएको म
बाका सहयोद्धाले उडाएको धुलोलाई
टप्प टिप्छु
नियालेर हेर्छु नजीकबाट
धुलोमा मिसिएका राता कणहरु
मेरो बाका रगतका थोपाहरु त हैनन् ?’ (‘बा’, अटल आचार्य, जाजरकोट

२०७८ असोज ११
[email protected]

प्रतिक्रिया दिनुहोस्