Logo
Logo

गोदावरी मेला र ओलीको देवत्वकरण



जोशेफ गोयबल्स हिटलरकालिन संचारमन्त्री थिए । उनले ‘कुनै पनि कुरालाई सैयौं पटक दोहोयाएर भनियो भने झुठ पनि सत्य ठहरिन्छ’ भन्ने मान्यता राख्दथे ।

नोभेम्बर १९४० मा हिटलर एउटा सभालाई सम्बोधन गर्दागर्दै बिचमै रोकेर बाहिरिए । लगत्तै त्यहाँ बम बिष्फोट भयो । सभामा सहभागी धेरै कार्यकर्ता मारिए । उक्त बिष्फोट हिटलरकै योजनामा भएको थियो । त्यसपछि हिटरले भने– ‘नियतिले मलाई बचायो ।’

गोयबल्सले हिटरलको त्यो भनाइलाई संचारमाध्यमबाट सैयौं पटक प्रशारण गरे । हिटलरलाई सामान्य मानिस नभएर भगवानकै रुपमा स्थापित गराए । अर्थात्, गोयबल्स शैलीको प्रचारले सिंह्रक तानाशाह हिटलर एकाएक भगवान कहलिए ! त्यो हिटलरको देवत्वकरण चाहनामा रचिएको एउटा खेल थियो ।

आज एमालेजन गोयबल्स शैलीमा अभ्यस्त हुँदैछन् । एमले अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गर्न सयौं कार्यकर्ता गोयबल्स बनेका छन् । र, बारम्बार भन्दैछन्– ‘ओली बा महान हुन् ।’ सामाजिक सञ्जालदेखि पोलपोलमा ओलीका तस्बिरहरु टाँसीएका छन् । ‘ओली बा आइ लभ यु’ भन्दै नारा लगाउँनेहरुको लर्को छ ।
एमालेको विधान महाधिवेशन भर्खरै सम्पन्न भयो । महाधिवेशनले राजनीतिक प्रस्ताव, संगठनात्मक प्रस्ताव र विधान मस्यौदा प्रस्ताव पारित गर्यो । तर, एमालेको विधान महाविधेशन नीति निर्माणको विषयले भन्दा ‘ओली देवत्वकरण’ले चर्चाको विषय बन्यो ।

सडकको पोलदेखि खाने पानीको बोतलसम्म ओलीको फोटोमय बन्यो । काठमाडौंको माइतीघर मण्डलादेखि ललितपूरको गोदावरीसम्म सजाइएको ओलीको अर्ध र पूर्णकदका तस्बिर तथा डमीहरुले कार्यक्रम हलमा राखिएका पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीका तस्बिर फिका देखिए ।

ओली मनोभावको थोरै चर्चा गर्न उपयुक्त हुन्छ । ओली आफूलाई महान विकासवादी शासक ठान्छन् । आफूले गरेका सबै कुरा ठिक भन्ने मान्यता राख्छन् । आलोचक देख्न पनि चाहँदैनन् । सबैले जयजयकार गरुन भन्ने चाहन्छन् । ओलीलाई ‘त’ वा ‘तिमी’ भनेको मन पर्दैन । ज्यूहजुरीमा उच्च सम्मान ठान्छन् । ओली चोक–चोक, गल्ली–गल्ली र घरका भित्ताहरुमा आफ्नो फोटा टाँसियोस् भन्ने चाहन्छन् ।

यसअघिका विभिन्न कार्यक्रमहरुमा पनि सडकमा ओलीको बोली र फोटो टाँसिएकै थियो । ओलीका महानवाणी भन्दै समाजिक सञ्जालदेखि पत्रपत्रिका र अनलाइनहरुमा प्रकाशन गरिएकै थियो । गोहीको आँशु प्रकृतिका ओलीकृत कविताहरु छापिएकै थिए ।

कार्यकर्ताले ओलीको चाहना बुझेका छन् । त्यसैले ओलीको चाहनाअनुरुप देवत्वकरणमा सामेल भएका छन् । त्यस वापत केहीले बक्सिस पाउँदै आएका छन् । देवत्वकरणको गोदावरी संस्करणमार्फत बक्सिस पाउनेहरुको अनुहार फेसबुकमा देखिसकिएको छ ।

आस्तिकहरु आफ्ना इष्ट देवतालाई खुशी पार्नुपर्छ नत्र अनिष्ट हुन्छ भन्ने मान्यता राख्छन् । आज एमाले नेता कार्यकर्ताको नियति उस्तै छ । ओली इष्ट देवता भइसकेका छन् । ओली रिसाए राजनीतिक भविष्य समाप्त हुने चिन्ता सबैलाई छ ।

ओलीलाई इष्ट देवताको रुपमा नपुज्दा दुःख पाएका र भजन मण्डली गर्नेहरुले सुख पाएका घटनाहरु ताजै छन् । यस्तो अवस्थामा ओली देवत्वकरणमा होडबाजी हुनु स्वभाविक हो ।

सार्वजनिक रुपमा विधान महाधिवेशन भनिएको थियो । तर यस्तो लाग्दथ्यो, गोदावरीमा दश वर्षे कुम्भ मेला लाग्दैछन्, धर्मकर्म गर्न गोदावरी पुग्ने लाम लामै छ । जहाँ भक्तजनहरु फूल, अक्षत, नरिवल, लड्डु चढाउन आतुर छन् । साक्षत दर्शन गर्न पाएकाले सँगै फोटो खिचे, नपाउनेले प्राङ्गणमा सजाइएको डमिसँग फोटो खिचेर सञ्जाल रंगाए ।

गोदावरीमा एमालेका केही नेताले राजनीतिक भविष्य बलि चढाए । अबको केही महिनामै ओली ७० वर्ष पुग्दैछन् । एमालेको विधानअनुसार ७० पुगेपछि ओलीले सक्रिय राजनीतिबाट विदा लिनुपर्ने हुन्छ । तर, अब ओलीलाई त्यो बाध्यता छैन ।

७० पुग्नै लागेका ओलीलाई पुनः अध्यक्ष बनाउन भक्तजन तयार छन् । ओली पुनः अध्यक्ष भए कम्तीमा पाँच इमानदार भक्तको राजनीतिक भविष्य बलि चढ्ने छ । अर्थात ओलीले पाँच वर्ष पार्टीको नेतृत्व गर्दा तीन नेता ७० कट्ने छन् । र, एकपटक अध्यक्ष पनि नभइ राजनीतिबाट विश्राम लिनेछन् ।

विधान महाधिवेशन भएकाले आजसम्म भएका सबै घटनाक्रमको समीक्षा हुनुपर्ने थियो । आगामी दिशानिर्देश गर्ने राजनीतिक तथा संगठनात्मक प्रस्ताव आउनु पर्ने थियो । सामाजिक, आर्थिक र राजनीतिक रुपमा बिग्रदो अवस्थाबारे गाम्भीर्यताका साथ छलफल हुनुपर्ने थियो ।

विरोधी नेता एवं सर्वोच्च अदालतको चर्को आलोचनामा केन्द्रित ओलीको राजनीतिक प्रतिवेदनमा नवांै महाधिवेशनले अवलम्बन गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ योजनाले स्थान पाएन । आफ्ना विरोधीविरुद्व ४४ पृष्ट खर्चेका ओलीले आफू नेतृत्वमा हुँदा आफ्ना भक्तहरुले गरेको संस्थागत भ्रष्टाचारबारे बोल्ने आँट गर्ने कुरा भएन ।

यति प्रकरण, ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको ७० करोड डिल प्रकरण, वाइडवडी लगायत प्रकरणबारे ओलीलाई प्रश्न गर्ने साहस कसैलाई भएन । राजा र रैती शैलीमा हुकुम शिरोधार गरियो । ओलीको प्रतिवेदनले यी कुनै पनि विषयमा बोलेन ।

ठूलो बलिदान र संघर्षको बलमा बनेको संविधान किन मास्न खोजियो भनेर प्रश्न गर्न सक्ने कोही देखिएनन्, सबै निरीह । ऐतिहासिक एकतामा बनेको कम्युनिष्ट पार्टी खारेज किन भयो भनेर सोध्ने आँट कसैले गरेनन् ।

दुईतिहाइ बहुमतको सरकार किन गैरकम्युनिष्टलाई हस्तान्तरण गरियो भन्ने प्रश्न पनि कसैले सोधेनन् । अरु कुरा छोडौ, हुँदाखादाको पार्टी किन विभाजन भयो भनेर सोध्ने हिम्मतसमेत कोहीसँग थिएन ।

ओलीमा जबरजस्त पलाएको देवत्वकरणको भोकमा धेरै नेता परिसकेका छन् । जयजयकार नगर्ने नेता कार्यकर्ताले लामो समयदेखि बहिस्करण खेप्दै आएका छन् । त्यसैले ओलीको अगाडि कोही बोल्न सक्ने अवस्था छैन ।

यस्तो अवस्थाले एमालेको भविष्य अन्धकार देखिन्छ । कम्युनिष्ट पार्टीमा मात्र नभइ कुनै पनि राजनीतिक शक्तिमा व्यक्तिवाद हावी हुँदा सुखद परिणाम भएको इतिहास छैन । आज ओलीलाई देवत्वकरण गरेर स्वार्थ पूरा गर्नेहरु नै एमालेको मलामी बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्