Logo
Logo
साहित्य

कवितामा महामारी




१.लकडाउन

म आएको छु
सन्त्रासको घोडा चढेर
म आएको छु
बिर्सिएको इतिहास सम्झाउन

म देखाउँछु
जनयुद्ध लडेकालाई युद्ध
र युद्ध लडेकालाई विश्वयुद्ध

म अदृश्य रहेर
दृष्टिवान्को आँखा खोस्छु
र दृष्टिविहीनको निद्रा

म कीटाणु होइन, जीवाणु होइन
म आणविक शस्त्रास्त्रले डग्ने हैन
क्षेप्यास्त्रले तर्सने हैन

म आएको छु
तिम्रो तागत हेर्न
म आएको छु तिम्रो बुद्धि नाप्न

म कीरा होइन, ढुसी होइन
आफू प्रोटिनको खोल ओढेर
तिम्रो भिटामिन जाँच्न आएको छु
तिम्रो प्रतिरोधक शक्ति ठीक पारेर राख
म तिम्रो कोशिकामा पसेर वृद्धि हुन आएको छु

तिम्रो शक्ति तिमी नै परख गर
म तिम्रो मानवता जाँच्न आएको छु

म आएको छु सङ्कट बोकेर
तिम्रो विवेक जाँच्न
तिम्रो मुटु जोख्न
मार्च २१(विश्व कविता दिवस)
विसं २०७६ चैत ८– २२

२. सूचना महामारी

जब विपत्ति आउँछ
अनि आउँछ सँगै सूचना र समाचारको प्रकोप पनि

जेठाबाठा एकभन्दा अर्काे विशेषज्ञ भइदिन्छन्
कर्मचारी बनिदिन्छ विज्ञ
राजनीतिज्ञ होइदिन्छ विशेषज्ञ
र पत्रकार बन्छ सर्वज्ञ

समाजसेवीहरुको भाउ बढ्छ एकाएक
र व्यापारीहरुको भाग्य हुन्छ बढाबढ

जे लेख्दा पनि पत्याइदिने
जे भन्दा पनि मानिदिने
एउटा सूचना महामारी बढ्छ
र समाचारको महाव्याधि फैलिन्छ

विपत्तिमा एउटा विपत्ति बन्छ समाचार
र हल्लाहरुको आलेख बन्छ
दिन बिताउन यति सजिलो हुन्छ
कि पट्यार कसैलाई लाग्दैन
निद्रा कसैलाई लाग्दैन
सूचना र समाचारको महामारी
घरभरि फैलिसकेको हुन्छ
र प्रकोप र सङ्क्रमण बिर्सेर मान्छे
महान् दार्शनिक बनिसकेको हुन्छ ।
विसं २०७७ वैशाख ३

३. भोकको महामारी

जब लकडाउन लम्बिन्छ
अनि हुन्छ भोकसँगको युद्ध
भोक लागेपछि मानिस घरमै बसिरहन सक्दैन
भोक लागेपछि सरकारको कुरा सुनिरहन सक्दैन
भोकको अगाडि रोगले छुन सक्दैन
भोक मारेपछि मात्र मान्छेले ज्ञानका कुरा सुन्छ

भाइरससँग लड्न सक्ने औषधि–
पहिले भोजन अनि मात्र लकडाउन
सरकार, मान्छेलाई टन्न भात खुवाइदेऊ
अनि मात्र भाटा लगाइदेऊ

भोकको ज्वालाले कुनै कानून पढ्दैन
कुनै आदेश मान्दैन ।
(विसं २०७७ वैशाख ५)

४.मास्कको मान्छे

मुख छोपेको मान्छे
चिनिन्छ पनि चिनिँदैन पनि
मान्छे चिन्न मुख नै चाहिने त होइन रहेछ
मुख छोपेको मान्छे पनि चिन्न सकिँदो रहेछ
मुख छोप्दैमा मुखको अनुहार छोपिने होइन रहेछ

मकुण्डो होस् वा मुखौटो
मास्क होस् वा रुमाल
खाने मुख किन छोप्छ मान्छे
अनुहार त चिनिँदो रहेछ
हेर्न जाने खाने मुख पनि मज्जाले देखिँदो रहेछ
र मुखको मुख पनि छर्लङ्ग हुँदो रहेछ

मास्कको मान्छे मुख छोप्न सक्दैन
माटो आफ्नै खाएको अनुहार लुकाउनै सक्दैन
मान्छेको हाउभाउबाटै मान्छे चिनिँदो रहेछ
नचिनिने त मृत अनुहार मात्र हो
छनकमनकबाटै मान्छेको भाउ बुझिँदो रहेछ

मुख छोपेको मान्छेसँग डराउनु पर्दैन
मुर्कट्टासँग त झनै डराउनु पर्दैन
मुख छोप्दैमा मान्छे मन, मुटु र मुण्ड छोप्न सक्दैन
मास्क, मुखौटो र मकुण्डोको मान्छे
मूर्खभन्दा माथि उठ्न सक्दैन

महामारीको मान्छे कति डराएको छिः
मास्कले मुख छोपेर पनि मनपरी गर्न छाड्दैन
मन, मुुटु, मुख, मस्तिष्क सबै मारेर सती पो जाँदै छ ।
(२०७७ कात्तिक २२)

५.महामारीको मति

विडम्बना के भने
महामारीसँगै मान्छेको मति बिग्रँदो रहेछ
भाइरसका भ्रष्टाचार फैलँदो रहेछ
र सङ्क्रमणसँगै शक्तिको शान पनि सिद्धिँदो रहेछ

महाव्याधिको आतङ्कबीच
मुखभरि फीँज बोकेको मान्छे बर्बराउँदो रहेछ
दिमागको तार खुस्किँदो रहेछ
मनुष्य एउटै कुरा दोहो¥याएर गोयबल्सलाई बिर्साउन खोज्दो रहेछ

भूकम्पमा भाँडभैलो मच्चिए जस्तो
भाषाविद्हरुकै भाषा भद्रगोल भए जस्तो
हिमपहिरामा सबै सपना खसे जस्तो
आगलागीमा घरसम्पत्ति खरानी भए जस्तो
बाढीपहिरामा जग्गाजमीन खोसिए जस्तो
महामारीमा मृत्युको व्यापार हुँदो रहेछ

पाण्डेमिक भनेको हाम्रा लागि पोलिटिक्स पनि हुँदो रहेछ
पर्दा पछाडिबाट परर्र पर्रा छाड्दो रहेछ
महामारीलाई भाँडमा छाडेर
गुम्सिएको राजनीति छ्याल्लब्याल्ल हुँदो रहेछ
र तथानाम गाली बकेर जग हँसाउँदो रहेछ
यति नै बेला च्यातिएको लगौँटी पनि खुस्केर
इज्जत माटामा मिलाउदो रहेछ
मान्छेको मनमनको मौनता खोल्दो रहेछ
मान्छेको मकुण्डो झिकेर सक्कली अनुहार चिनाउँदो रहेछ
र राष्ट्र र राष्ट्रियता रछ्यानमा फाल्दो रहेछ

रमाइलो के भने
महामारीमा मनोरञ्जन दिन अनेक मनुष्य जन्मँदा रहेछन्
अनि तमासा र नौटङ्की हेरेर मजाले दिन काट्न सकिँदो रहेछ ।
(२०७७ माघ ८)

६.खोपको राजनीति

महामारी आयो
महाव्याधिसँगै भोकमरी
र अनिकालसँगै अर्थनीति

अर्थनीतिले राजनीति तान्यो
राजनीतिले कूटनीति
र कूटनीतिले विश्वनीति

खोप बेचेर धनी राष्ट्रहरु पैसा कमाउँछन्
र गरीबहरु खोप खेपेर
तिनको जयजयकार मनाउँछन्

महामारीले ल्याएको खोप
राजनीतिक औषधि पनि हो
र खोपको राजनीति
खोप बिक्रेतालाई राम्रोसँग थाहा छ

खोप खेपेर ज्वरो आएको राष्ट्र
सिटामोल खान मात्र जान्दछ
राजनीति, अर्थनीति, कूटनीति केही जान्दैन

देशहरु नाघेर आएको भ्याक्सिन डिप्लोमेसी
हाम्रो सरकार पनि बुझ्दैन
बरु मास्क, स्यानिटाइजर र पिपिईमा कमिशन खान्छ
र जनतालाई जतिखेर पनि हात धो, हात धो मात्र भन्छ

अनि खोप राजनीति गरेर
अर्काे चुनावी नारा बनाउन थाल्छ
वर्षभरि
महामारी, भैँचालो, बाढीपैरो र आगलागी निमन्त्रणा गरेर शासक
फेरि अर्काे शासन चलाउने सपना देख्छ ।
(२०७७ फागुन २९)

प्रतिक्रिया दिनुहोस्