Logo
Logo

उडिसामा आँधीको त्रास : ७ लाख ८० हजार मानिस सारिए, नेपालमा समेत प्रभाव पर्न सक्ने


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, १९ बैशाख (एजेन्सी) । भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशंकामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ ।
सामुद्रिक आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले एएफपी समाचार समितिलाई उडिसा राज्यको कम्तीमा १३ ओटा जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्न सक्ने इलाकाबाट सारिएको बताएका छन् । ‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ ।
हाल बंगालको खाडीबाट यस समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ । फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्ने बताइएको छ ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ ।
करिब एक हजार विद्यालय र सरकारी भवनहरुका १० लाख भन्दा बढी व्यक्तिलाई शरण दिइएको बताइएको छ । छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तामिल नाडुलाई पनि यस आँधीले प्रभावित पार्न सक्ने अनुमा गरिएको छ । त्यसैले ती क्षेत्रहरुमा उच्च सर्तकतामा राखिएको छ । भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले सताउने गरेको हुन्छ ।
सन् २०१७ मा तामिल नाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २ सय ५० व्यक्तिले ज्यान गुमाएका थिए । त्यस्तै ६ सय व्यक्ति वेपत्ता भएका थिए । गत अक्टोबरमा पनि सामुद्रिक आँधी टिल्लीको कारण ओडिसा राज्यबाट करिब ३ लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्