Logo
Logo

राष्ट्रपतिले आज संघीय संसदमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २० वैशाख ।

आर्थिक वर्ष २०७६ र ७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा पेस हुँदैछ।

संघीय संसद सचिवालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम शुक्रबार अपराह्न ४ बजेपछि संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन् ।

यसअघि बजेटपूर्वको छलफलपछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिएको थियो । तर, यसपटक बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्न लागेको छ ।

बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ। छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया सुरु हुनेछ। नीति तथा कार्यक्रम पेसका लागि सङ्घीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ। सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले वाचन गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु उपस्थित हुनेछन् ।

नीति तथा कार्यक्रमलाई सरकारको आधार मानिन्छ । यसकै आधारमा सरकारले जेठ १५ गते प्रस्तुत गर्ने बजेट निर्माण गर्नेछ । यो पटक नीति तथा कार्यक्रम पेस भएपछि मात्र बजेट पूर्वको छलफल प्रारम्भ हुनेछ। सङ्घीय संसद् सचिवालयको तयारी अनुसार ढिलामा पनि वैशाख ३१ सम्म बजेट पूर्वको छलफल सकिनेछ। बजेट प्रस्तुत र बजेट पूर्वको छलफलको अवधि कम्तीमा १५ दिन हुनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्